जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ।

बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकता भएको र बिहिबार बिहान ११ बजेपछि निर्वाद्धन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ को निवेदन दर्ता भएको हो । दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालय पुगेका थिए।

दल दर्ताका लागि निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले पार्टी एकिकरण भएको जानकारी आयोगलाई दिइएको बताए। उनले पार्टीप्रति असन्तुष्टी जनाएको भनिएका मो.ईस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेको र पार्टीको कामप्रति कुनै असन्तुष्टि नरहेको विज्ञप्ति निकालिसकेको बताए । उनले नयाँ पार्टीको पदाधिकारी गठन गर्ने कार्य समेत छिटै टुंगिने जानकारी दिए।

यस्तै नेता राजेन्द्र महतोले दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पुरा गर्ने बताए। उनले विगत एक वर्ष देखिको प्रकृयालाई टुङ्गोमा पुर्‍याएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्चिको रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यसबाट जोगाउन आफूहरू सफल भएको दाबी गरे।

उनले भने, ‘समाजवादी पार्टी र राजपा भनेको एकीकृत भइरहेको अवस्थामा एकताबद्ध भएर शक्ति निर्माण गर्नुपर्ने अवस्थामा कहाँ फुटाउने कुरा गरेको प्रधानमन्त्रीले, यो सरकारले अनि हामी चाहिं त्यो एकता प्रकृयालाई टुङ्ग्याइदिनुपर्छ भनेर हिजो राति बसेर दुई वटै पार्टीका उपलब्ध नेताहरु बसेर एकता प्रकृयालाई टुङ्ग्याएका छौं। राजपा र समाजवादी पार्टी, जनता समावजादी पार्टी नेपालको नाउँमा हामी एकिकृत भएका छौं। र त्यो जानकारी हामी निर्वाचन आयोगलाई दिन आएका छौं,’ उनले सरकारले नै लोकतन्त्रमाथि आक्रमण गरेको बताए।

लोकतन्त्र विरोधि, तानासाही र एकदलीय तानासाहलाई निरंकुश लादने गरी विधेयक ल्याइएको र त्यसलाई तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी समेत दिए। उनले देशमा समृद्धि, सुशासन, अधिकार र पहिचान चाहने हिमाल पहाड तराई र मधेसका जनता मिलेर राष्ट्रिय शक्तिको निर्माण गर्ने अभियानमा लागेको र त्यसको अभियान सुरु भइसकेको बताए।

पार्टी एकीकरण पछि बनेको नयाँ पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गर्दे आएको हुने छ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति पनि दुई पार्टी बिच भएको छ। यस्तै नेताहरुको कार्यविभाजन पनि छिटै सहमतिमा टुंगो लगाउने नेताहरुले बताएका छन्। नयाँ दल दर्ताका लागि निवेदन दिइए पनि कानूनी मान्यता पाउन बढीमा ४५ दिन लाग्नेछ। 

सरकारले दल विभाजनका लागि खुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन्। दुवै दलसँग संघीय संसदमा १७–१७ जना सांसद रहेका छन्।

समाजवादीका कम्तिमा सातजना सांसदले एक–दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकता गरेका हुन्।


 

प्रकाशित मिति: : 2020-04-23 12:43:18

प्रतिकृया दिनुहोस्