लिपुलेकमा भारतीय सडक : यान्छीमार्फत् 'चिनियाँ-कार्ड' खेल्दाको परिणाम

प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जोगाउन चिनियाँ पक्षले गरेको सहयोगको नेपालले ठूलो मूल्य चुकाउनु परेको छ। नेपालमा चिनियाँ उठबस बढी भएको देखेर त्यसलाई साइजमा ल्याउन भारतले लिपुलेकबाट मानसरोवर जाने सडकको उद्घाटन गरेको छ। 

शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत नेपाली भूमिमा भारतीय बाटोको उद्घाटन गरे। भारतीय सेना प्रमुखसहितको उपस्थितिमा सडकको उद्घाटन गरेका उनले भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिए।

केही समयअघि लिपुलेकसहितका काली पारिका भूभाग हडपेर आफ्नो नक्सा प्रकाशित गरेको थियो। त्यसको यता विराेध हुँदै गर्दा उसले लिपुलेकमा धमाधम बाटो बनाउन थालिसकेकाे रहेछ। यसकाे हेक्का या त नेपाललाई भएन, या त भएर पनि चुपचाप लाग्यो। अहिले बाटो बनाइसकेर उद्घाटन गर्दा पो सबैले थाहा पाएका छन्।  

हुन त नेपाली भूभाग भारतीय नक्सामा राखेर प्रकाशित गरेपछि खासगरी परदेशमा रहेका नेपालीले लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए। सरकारले कूटनीतिक पहल गरेको दाबी गरे पनि त्यसले केही परिणाम ल्याउन सकेन। यसको खास कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिरिक्त खुशी पार्नुपर्ने बाध्यतामा रहेको सरकारलाई भारतले टेर्ने कुरै थिएन। कूटनीतिक पहल पनि सफल भएन, आन्दोलन पनि त्यतिकै सिथिल भयो । 

यो विषय थाति रहदै मुलुकमा एकपछि अर्काे खराब घटनाक्रम सुरू भयाे। प्रधानमन्त्रीको रोग त आफ्नो ठाउँमा छँदैथियो । यही बीचमा प्रधानमन्त्री ओलीले बेमौसमको बाजा बजाँउँदै दुई अध्यादेश ल्याए। नेपालको तराई मधेशका पार्टीलाई फुटाउने लक्ष्यका साथ विधेयक ल्याएको भनेर प्रधानमन्त्री ओलीले नै खुलासा गरे पनि त्यसबाट भारत खुशी हुने कुरै थिएन।

चौतर्फि प्रतिकुलता आएपछि विधेयक फिर्ता लिँदा पनि सत्तारूढ दल भित्रको विवाद साम्य भएन। विवाद चर्कदै यति चरम स्थितिमा पुग्यो कि त्यसअघि शक्तिशाली देखिएका प्रधानमन्त्री ओली ढोडको तक्मा जस्ता हुन पुगे। र, उनका दुबै कुर्सी नराम्ररी लर्खराए। स्थिति यस्तोसम्म आयो कि प्रधानमन्त्रीका लागि वामदेवलाई प्रस्ताव नै गर्नुपर्ने अवस्थामा पुगे ओली।

नेपालका लागि चिनिया राजदूत यान्छीलाई दोभाषे बनाएर चाइना कार्ड खेलेपछि तत्कालका लागि प्रधानमन्त्री ओलीको कुर्सी त जोगियो । तर, त्यसको बदलामा भारतले नेपाली भूमि लिपुलेकमा रातारात सडक बनाएर चीनसँग जोडिदियो । यो सडक नेपालको इतिहासमा अर्को कोशी ब्यारेजका रूपमा दर्ता भएर ओलीको निधारमा कलंकको टीका भएर गडिरहने छ। 

यसरी वामदेवलाई प्रधानमन्त्रीको घाँस हालेर पनि नपुगेपछि ओली चिनियाँ कार्ड खेल्न पुगे। यसका लागि उनले आफ्नो 'गुड-बुक'की राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रयोग गरे। यही क्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीको सक्रियता यति बढ्यो कि उनी राष्ट्रपति कार्यालयमा पुगेर नेपाल र चीनका राष्ट्रपतिबीच सम्वाद गराउँदा दोभाषेसम्म हुन पुगिन्। कुरा कोरोनाको भने पनि ओलीले सत्ता जोगाउन चिनियाँ कार्ड खेलेको जगजाहेरै छ।

महामहिम यान्छीको यो अतिरिक्त कसरत र चिनियाँ चलखेल भारतलाई नपच्नु स्वभाविक थियो। त्यसैको बदला लिन भारतले यो निन्दनीय कार्यको मञ्चन गरिदियो।

भारतको यो दादागिरी निन्दनीय छ, यसमा दुई मत छैन । तर, सत्तारूढ दलको पछिल्लो कलहमा जसरी चीनलाई खेल्नका लागि मैदान उपलव्ध गराइयो र जे जस्ता गतिविधि भए ती पनि कम निन्दनीय छैनन्। यसैले आजको परिस्थिति सिर्जना गर्नमा सत्तारूढ नेकपा त्यसमा पनि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र उनको गुट जिम्मेवार छ। 

सबैलाई थाहा भएकै हो, भारत नेपालमा चिनियाँ चलखेल सुरूदेखि नै सहदैन। उसले यो वा त्यो नाममा हुने चिनियाँ चलखेललाई साइजमा ल्याउन अनेक उपाय गरिहाल्छ। अहिलेको बाटो निर्माण र उद्घाटन पनि त्यसैको एक कडी हो। यो बाटो अब अर्को कोशी ब्यारेजका रूपमा इतिहासमा दर्ज भइसकेको छ। यान्छीको शक्तिको फेर समातेर सत्ताको वैतरणी तर्न खोज्दा ओलीको निधारमा लागेको कलंकको टीका हो यो। यसअघि महाकाली सन्धिमा पनि ओलीको निधारले यस्तै अभिसप्त कालो टीका थापिसकेको छ। 

(यो लेखकको निजी विचार हो । यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित नहुन पनि सक्छ : सम्पादक )

प्रकाशित मिति: : 2020-05-09 05:55:33

प्रतिकृया दिनुहोस्