धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ र माइती सिल, प्रहरी र सेना परिचालन हुने

दीप सुवेदी

सिन्धुपाल्चाेक

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी सुत्केरी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ। कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजिटिभ आएपछि सिल गरिएकाे हाे।

उनको गाउँ बाह्रबिसे नगरपालिका–९ ठाेटनेरीस्थित चालिसे गाउँ र माइती गाउँ तल्लाे भट्टेलाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड–१९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ। २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। त्यसपछि वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको थियो।

उनी २५ गते डिस्चार्ज भएकी थिइन्। उनी डिस्चार्ज भएर २ दिन काठमाडौंस्थित आफन्तमा बसेकी थिइन्। त्यसपछि घर फर्केकी उनलाई बिहीबार स्वासप्रस्वासमा समस्या देखिएको थियो। रोग केही कम भएपछि घर फर्केकी उनलाई पुनः ज्वरो र रुघाखोकी लागेपछि बाह्रबिसेको स्वास्थ्य चौकीमा उपचार गराइएको थियो। तर निको हुनुको साटो उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटो मै मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणहरु भइरहेको भन्दै विवरणहरु सार्वजनिक गरिने बताएका छन्। कोरोना संक्रमणको पुष्टि भएकाे भन्दै धुलिखेल अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन। अहिले डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली थप बुझन धुलिखेल अस्पताल पुगेको छ।

उनका परिवारका सदस्यहरुको स्वाब संकलन गरिएको छ, यस्तै परिवारका सबैलाई क्वारेन्टाइमा राखिएको छ। यता उनको उपचारमा संलग्नहरुलाई क्वारेन्टाइनमा लाने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2020-05-16 18:51:16

प्रतिकृया दिनुहोस्