नेपालमा कोभिड–१९ बाट पहिलाे पल्ट महिलाकाे मृत्यु, पशुपतिमा दाहसंस्कार गरिदै

बिएल संवाददाता

काठमाडाै‌ं

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककोकी २९ वर्षीया महिलाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भएको पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अबेर साँझ यसको पुष्टि गरेको हो। मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै  सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरेका छन्।

गत जेठ १ जेठ गते राति मृत्यु भएकी ती महिलामा धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको सबै परीक्षणमा कोभिड–१९ पुष्टि भएको थियो।त्यसपछि उनको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण या अन्य रोगले भएको हो भन्ने पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले आज तीन जना चिकित्सकको टोलीसमेत धुलिखेल अस्पताल पठाएको थियो। 

मन्त्रालयबाट खटिएको डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी र डा. प्रमोद सिंखडाको टोलीले ती महिलाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको निष्कर्ष निकालेको हो। 

गएको २४ वैशाखमा काठमाडौंको महाराजगञ्जस्थित् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी त्यसको भोलिपल्ट डिस्चार्ज भएकी थिइन्। 
त्यसपछि सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९, राम्चे ९ घर गएकी उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १ जेठमा बाह्रविसे स्वास्थ्य केन्द्र लगिएको थियो।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ कि २९ बर्षीया महिलाको कोरोना संक्रमणबाट निधनको खबरले दुःखीत तुल्याएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली। परिवारजनमा समवेदना। सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ आवश्यक सुरक्षा र परीक्षणको व्यबस्था मिलाइँदै छ । सतर्कता अपनाऔं, संयमित बनौं ।

— Agni Prasad Sapkota (@speaker_nepal) May 16, 2020

त्यहाँबाट रेफर गरिएकी उनको १ जेठमै राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।  यो नेपालमा कोभिड–१९ कारण भएको मृत्युको पहिलो घटना हो। ती महिलाको शव दाहासंस्कारका लागि पशुपति आर्यघाट पुर्‍याइएको छ। 

माघ ९ पहिलोपटक नेपालमा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसको करिब ४ महिना भित्रमा नेपालमा संक्रमितको संख्या २८१  पुगेको छ भने यसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको हो।

कसरी गरिन्छ कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार?

कोरोनाबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने कार्यविधि फरक छ । कोरोनाबाट दाहसंस्कार गर्नेबारेमा सरकारले छुट्टै कार्यविधि बनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गते जारी गरेको कार्यविधि अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि अन्य कारणले मृत्यु भएका मानिसको भन्दा भिन्नै तरिका अपनाउनु पर्छ। कोरोना संक्रामक रोग भएकाले यसको अन्त्येष्टिका लागि फरक विधि तय गरिएको हो। 

कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शवबाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ। 

यस्तै, मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

शवलाई सकेसम्म चाँडो घाटमा पर्‍याउनुपर्ने, ६० वर्ष कटेका र दीर्घ रोगीलाई कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा त्यस्ता मृतकको पोस्टमार्टम सामान्यतया गर्न नपर्ने र गर्नुपर्ने भए पनि सावधानी अपनाएर मात्रै गर्नु पर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधि अनुसार मृतकका परिवार र आफन्तले एक मिटर टाढाबाट मात्र शव हेर्न पाउने छन्।

घर र माइती गाउँ सिल

मृत्यु भएकी सुत्केरी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ। कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजिटिभ आएपछि सिल गरिएकाे हाे।

उनको गाउँ बाह्रबिसे नगरपालिका–९ ठाेटनेरीस्थित चालिसे गाउँ र माइती गाउँ तल्लाे भट्टेलाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड–१९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ। 

प्रकाशित मिति: : 2020-05-16 21:23:33

प्रतिकृया दिनुहोस्