एक महिनादेखि आफ्नै गाउँ फर्किन पाएनन् कालापानीका जनता, सरकार माैन

एक महिनादेखि आफ्नै गाउँ फर्किन पाएनन् कालापानीका जनता, सरकार माैन

दार्चुलामा ‘लकडाउन’ काे कारण हिमाली क्षेत्रका याक, झुपू र गाईबस्तु सदरमुकाममै अड्किएका छन्। याक गर्मीमा बस्न सक्दैन। यति बेलामाथि गाउँमा खेतीपाती गरिसक्नु पर्ने हो। खेतीपाती नसके बिजोग हुन्छ। जाडोमा बस्ने जनावर याक र झुपूको लागि मात्र भए पनि दुई दिनको लागि नेपाल–भारत जोड्ने पुल खोलिदिए जनावरलाई त बचाउन सकिन्थ्यो भन्दै गुनासो गरिरहेका छन्, ब्यासका साैकाजातिहरु। छाङरुका युवा ४२ वर्षीय योगेश बोहरा भन्छन्–‘नेपालको बाटो हुँदै गाउँ पुग्ने गोरेटो बाटो छैन, हरेक वर्ष परमिट बनाएर भारतीय बाटो भएर जान बाध्य छाैं।’

शौका समुदाय जिल्लाको उत्तरी भेग टिंकर र छाङरु पुग्न नपाएकोमा खिन्न छन्। उनीहरु नेपाल सरकारले भारतीय प्रशासनसँग समयमै समन्वय गरिदिए राम्रो हुने विचार राख्छन्। ब्यास गाउँपालिका वडा न १ का अध्यक्ष अशोक बोहराको पनि गुनासो उस्तै छ। ‘यसपालि स्थानीयको ब्यापार–व्यवसाय चाैपट भयो। गाउँमा एक महिना अगाडी नै खेती गरिसक्नु पर्ने थियाे। सदरमुकाममा बसेकाे एक महिना बढी समय भइसक्यो,’ उनी भन्छन्।

६ महिना दार्चुला सदरमुकाम खलङ्गा र ६ महिना ब्यासमा बस्ने ब्यासी सौका समुदाय ‘लकडाउन’  का कारण गाउँ फर्किन पाएका छैनन्। त्यसमाथि यसै समय लिपुलेक–कालापानी बिबादले झन् अप्ठ्यारो परेको उनीहरुकाे भनाई छ।

‘लिपुलेक–कालापानी क्षेत्रका स्थानीयलाई समस्यामाथि समस्या थपिएको छ,’ बाेहरा भन्छन्। भारतले नेपालकाे भूभागलाई जाेडेर लिपुलेक जाने सडक खोलेपछि अहिले नेपाल–भारतबीचकाे सम्बन्ध बिग्रिएकाे छ। र यसकाे सबैभन्दा ठूलाे समस्या ब्यासी साैकाजातिले भाेग्नु परिरहेकाे छ। स्थानीय टिंकर र छाङरुका १ सय ६० परिवार बिगतमा नेपालतर्फ बाटो नहुँदा भारतीय बाटो हुँदै गाउँमा आउँजाउँ गर्दथे।

कार्तिक महिनामा हिउँ परेपछि निकै जाडो हुने हुनाले घरपरिवार गाईबस्तु र केटाकेटीसहित खच्चर र याकमा भारी बाेकाएर तल झरेका थिए। गर्मी लागेपछि माथि उक्लिने ब्यासी सौका समुदाय नेपालतर्फ गोरेटो बाटोको सुबिधा नभएकाे कारण भारतकाे धार्चुलाको बाटो हुँदै गाउँ पुग्न सकिरहेका छैनन्। उनीहरुलाई भारतकाे बाटाे हुँदै गाउँ पुग्न नै ७–८ दिन लाग्थ्याे।

‘पोहर साल जाडोमा स–परिवार तल झरेका सौका समुदाय बैशाख पहिलो सातामाथि उक्लिसक्नु पर्ने थियाे। उनीहरु यसपालि भने अहिलेसम्म खलंङगा मै छन्,’ बाेहरा भन्छन्,’६ महिना ब्यासमा बस्दा चीनको स्वशासित क्षेत्र ताक्लाकोट गएर त्यहाँबाट भेडा, च्यांग्रा र चिनियाँ सामान खाचार र याकमा ल्याएर सदरमुकाम दार्चुलाका साथै भारतीय बजारमा बिक्रि गर्ने र कमाएको पैसाले गुड, सुर्ती, साबुन, मिस्री लगायत ताक्लाकोट लगेर बेच्ने यहाँकाे परम्परागत ब्यापार सयौ वर्षदेखि चलिआएको छ। तर त्याे पनि ठप्प भयाे।’

६ महिना बेसीमा बस्ने र ६ महिना हिमालमा बस्ने सौकाजातिको बसाइँसराइँलाई स्थानीय भाषामा कुंचा भनिन्छ। दार्चुलाबाट एक साता भन्दा लामो यात्रा गर्दा बालबच्चा र घरका सम्पूर्ण सदस्य बाटो बाटोमा त्रिपाल टाँगेर बस्ने गर्छन्। पानी परोस् कि हावाहुरी चलाेस् यिनको यात्रा एक सातासम्म दु:खसुखका साथ अविरल अगाडी बढिरहन्छ। झरी परेको बेला र हिउँ परेको समय कतिपय ठाउँमा बस्दा समस्या हुन्छ। त्यही पनि पूर्खाको परम्परा धान्न मात्र नभएर जीविका चलाउन पनि कुंचा जाने चलन छ।

तिंकरका २४ वर्षीय युवा रिंकु तिंकरी प्रश्न गर्छन्–‘अझै भारतीय बाटो भएर कहिले सम्म जानुपर्ने हो? नेपालले चाँडो बाटो बनाइदिए यसरी ‘लकडाउन’को समय पर्खिनु पर्दैनथ्यो। रहर त थियो नि, स्वदेशकै बाटो भएर आफ्नो गाउँ फर्किने। तर कसैले हाम्रो आवाज सुनिदिँए पाे।’ 

हिडेर लामो समय गाईबस्तु डाँकेर जाँदा कहिले कोहिँ बिरामी भइहाल्यो भने पनि समस्या हुनुका साथै हिउँमा दु:ख गरिहिँड्नु पर्ने  तीताे अनुभव उनी सुनाउँछन्। तिंकरी भन्छन्– भारतीय साैकाजाति गर्ब्याल, गुन्ज्याल, नाबियालहरुको कुंचा एक महिना अगाडी नै माथि गाउँ पुगिसकेकाे छ। हामी भने अहिलेसम्म सदरमुकाम मै थुनिएका छौ।’

त्यसो त कतिपय भारतीय साैकाहरुको कुंचा पनि धार्चुलामै अड्किएको छ। कारण ब्यास भ्यालीबाट तल झरेपछि उनीहरुका चौपाया,गाईबस्तु र याक चरण नेपाल ल्याइएका थिए। पछि ‘लकडाउन’ को कारण पुल नखुलेपछि भारतीय गाईबस्तु पनि नेपालमा अड्किएर बसेका छन्।

दार्चुलाको पश्चिम–उत्तरी भेगमा बस्ने साैका समुदायको आफ्नै प्रकारको कला संस्कृति, भाषा र भेषभुषा छ। बाटोमा भारतीय साैकाको गाउँ पर्छन, जहाँ नेपाली साैकाजातिहरुलाई आउँदा–जाँदा गाईबस्तुको लागि घाँसका साथै र अन्य सहयोग हुनेगर्छ।गाईबस्तु र दुई गाउँका मानिस बसाइँ सर्दा बाटोमा अप्ठ्यारो परे एकले अर्कोलाई सहयोग गर्ने चलन छ। बाटामा पर्ने बुदीको ठाँडो उकालो होस् कि बाढीपहिरो अनि ठूला–ठूला हिमपहिरो छिचोल्दै घोडा–खच्चर, याक र गाईबस्तुसहितको लामो यात्रा तय गर्दाको दु:ख आफ्नो गाउँ पुगेपछि सबै बिर्सिन्छन्। 

गाउँमा पुगेपछि अपिनाम्पाको दर्शन गर्नुका साथै देउताको पुजा गरिसकेपछि मात्रै खेतीपातीको काम थालनी हुन्छ। एक महिना अगाडी नै ब्यास पुगिसक्नु पर्ने ब्यासी साैका समुदाय गाउँ फर्किन नपाएपछि गत साता सदरमुकामस्थित जिल्ला प्रशासनमा सयौको संख्यामा चौपाया लिएर धर्ना बसेका थिए। उनीहरु भारतीय प्रशासनसँग समन्वय गरि दुई दिन पुल खोलीदिन सहयोगको अनुरोध गरिरहेका थिए।  

समाजसेवी तथा नेता नगेन्द्रसिह तिंकरी साताभारिमै प्रशासनले नेपाल–भारत पुल छोटो समयका लागि खोल्न ज्ञापनपत्र सहित अनुरोध गरेको बताउँछन्। जाडोमा बस्ने जनावर गर्मीले मर्ने हुन् कि भन्ने भय स्थानीयमा यथावतै छ। त्यतिमात्रै नभएर वर्षौदेखि गर्दै आएको खेतीकिसानी छुटेपछि जमिन बञ्जर हुने डर पनि छ।

उनीहरु सरकारले तत्कालै नेपालतर्फको गोरेटो बाटो निर्माण गर्नुपर्ने बताउँछन्। ‘नभए केहि दिनको लागि भए पनि भारतीय बाटो भएर जाने व्यवस्था प्रशासनले गर्नुपर्याे,’ नगेन्द्रसिंह भन्छन्।

भारतीय पत्रकार कृष्ण गर्ब्यालाका अनुसार भारततर्फको कुंचा एक महिना अगाडी नै गाउँ फर्किसकेका छन्। नेपाली प्रशासनले सहयोग गर्ने हो भने भारतकाे बाटाे भएर नेपाली गाउँका कुंचा माथि जान सहयोग गर्ने बताउँछन्। ‘वर्षौदेखि नेपाल–भारत दुबै देशका जनता मिलेर बसेकै छौ,’ उनी भन्छन्।

पंचायतकालमा नेपालतर्फ गोरेटो बाटो थियो। त्यसबेला भारतीय गाउँका मानिस पनि नेपाल बाटै बसाइँसराइँ गर्थे। आज देशमा प्रजातन्त्र हुँदै लोकतन्त्र आयो तर स्थानीयको बसाइँसराइँ गर्ने बाटो भने बन्द भएकाे भन्दै गाउँलेहरु दु:ख मनाउ गर्छन्।

हाल भारततर्फ लिपुलेक पुग्ने मोटर बाटाे पुगिसकेकाे छ तर नेपालमा भने भएकाे गाेरेटाेबाटाे पनि बन्द छ। बाह्रै मास सुरक्षाकर्मी बस्न नसक्ने यस भेगमा तिंकरी, बोहरा,ऐतवाल, लाला थरका मानिस बस्ने गर्छन्। ब्यास गाउँपालिका १ स्थित टिंकरका ६५ परिवार र छाङरुका १ सय १० घरधुरीका करिब १२ सयको जनसंख्या रहेको ब्यासी समुदाय यसपालि भने चौपायासहित सदरमुकाममै अड्किएका छन्। 

हेर्नुहोस् तस्बिरहरु

 

प्रकाशित मिति: May 17, 2020 22:46:46

प्रतिक्रिया दिनुहोस