मनेको भटभटे

मनेको भटभटे

दिनभरि खेतबाट थाकेर भर्खरै घर भित्र छिरेका पाले माहिला कौसीमा रहेको कुर्सीमा थचक्क बसिसके पछि बुहारीलाई एक गिलास पानी ल्याउन भन्दै -

‘ए बुहारी, मने कार्यालयबाट कतिखेर आइपुग्छ हँ?’

‘खै बुवा, आज भटभटे किनेर ल्याउँछु भन्नुहुन्थ्यो, अलिक अबेर हुन्छ होला।’

‘के रे? भटभटे रे? यो केटो के भा’को होला? एक रूपैया धन छ घोडा किन्छु भन्छ। भटभटे किन्न पुग्ने पैसा कहाँ छ र त्यो सित?’

‘बुवालाई थाहा नै छ उहाँको बानी, आँटेको काम झ्याट्टै

श्रीगणेश गरिहाल्ने। अस्ति कार्यालयबाट केही रकम सापट ल्याएँ भन्नुन्थ्यो।’

‘हैन यसलाई के भा’को? अर्काको नासो गला फाँसो थाहा छैन आजसम्म पनि? अन्यायको धन कहिलै आफ्नो नभन्नु भनेर सुन्या छैन क्या हो। उधारो पाए हात्ती पनि किन्न आँट्ने। हरे शिव!’

‘अन्याय नै त भा छैन नि बुवा। सापट न हो। केही बाचा कबुल गरेर नै लिनु’भा होला नि।’

पालेबा गाउँका मध्यमवर्गीय किसान हुन्। केही सालअघि शहरको हाईस्कूलमा चौकीदार जागिर गरेका हुनाले गाउँमा उनलाई सबैले पाले दाइ या पाले बा भन्ने गर्थे।

काम पालेकै गरे पनि गाउँलेलाई अर्ति बुद्धि दिन भने कुनै ठूलै हाकिमसा’ब जस्तै गर्थे। उनले दिएको सुझावहरू मान्नेयोग्य नै हुन्थे। कुरा गर्दा निकै टुक्काहरू प्रयोग गर्ने उनको पुरानै बानी हो। कसैलाई मर्का पर्ने कुरा उनले कहिलै गर्दैनथे। उनीसँग जे जति भए पनि चुप लागेर त्यसैमा गुजारा गर्ने तर एक सुको कर्जा नलिने नियम रहेको हुनाले उनको आफ्नै मान इज्जत थियो। आज छोराले कर्जा काढेको सुनेर उनी धेरै मर्माहत देखिन्थे।

भन्दा न भन्दै छोराले भटभटे गुडाएर घर आइपुग्छ। आज उसले निकै ठूलो काम गरेको अनुभव गरेको छ र घर पुग्नेबित्तिकै आफ्नी श्रीमतीसित डीङ हाक्ने मनस्थितिमा जोशिएको छ। तर आँगनमा भटभटे अडाएर घरभित्र पसिनसक्दै पालेबा घर बाहिर निस्कन्छन् र एक्कासी गर्जन थाल्छन्, ‘हैन तँलाई केभाको हँ मने। हातमा कौडी नभाको बेला यो भटभटे किन किन्नु परेको? घाँटी हेरेर हाड निल्नु पर्दैन?’

‘तपाईँ चिन्ता नलिनु बुवा। मेरा म्यानेजरले...’ उसको कुरो नसकिँदै पालेबाले, ‘हैन त्यो म्यानेजर भन्ने न तेरी आमापट्टिको न मामा पट्टिको के सेखी गर्छस्?’ यति भन्दै हस्तक्षेप गरे।

मनेलाई थाहा थियो बुवालाई यो कुरा पच्ने हैन भनेर। कुरो चलाउने हो भने भर्खरै किनेर ल्याएको भटभटे उस्तै परे त्यतिञ्जेलै फिर्ता गर्न आदेशसम्म आउने सम्भावना थियो। मनेले बुद्धि ख्यायो। उसकै बुवाझैं गरेर भन्यो, ‘गल्ती भएछ बुवा। आखिर गल्ती गर्नु मानिसको स्वभाव न हो, होइन र? भोलि केही गरौंला।’

छोराको टुक्के उत्तर सुनेर पालेबा जिल्ल परे। छोरो ज्ञानी रहेछ भनेर फुरुक्क भए। त्यसपछि खाना खाएर सबै आ-आफ्ना शयनकक्षतर्फ लागे। समस्या येन तेन टर्नाले मने पनि ढुक्क भयो।

अर्को दिन बिहानै चियानाश्ता पछि कार्यालय जानलाग्दा

मनेले बुवालाई भन्यो, ‘बुवा आउनोस् म तपाईँलाई खेतमा पुर्‍याएर आफिस् जान्छु।’

‘ए .... हो र? साँझ फर्कंदा नि लिन आउँछस् त?’

मनेले भटभटेको गडगडाहटमा नसुनेजसो गर्‍यो। पालेबा मक्ख परेर भटभटेको पछि आसीन भइसक्याथे। आज अरू केही गुनासो थिएन ।

मनेकी श्रीमतीले मूल ढोकामा उभिएर श्रीमानतर्फ मुसुमुसु मुस्कुराइ रहिथी। मनेले जवाफमा भटभटेको सीटी जोडले बजायो र श्रीमतीलाई विजयसूचक आँखा झिम्कायो। यसको अर्थ ती दुवैलाई थाहा थियो।

विष्णु पन्थी (याँगौं म्यान्मार)

प्रकाशित मिति: May 18, 2020 15:42:37

प्रतिक्रिया दिनुहोस

सबै