साहित्यको भौगोलिक सीमा हुँदैन...

साहित्यको भौगोलिक सीमा हुँदैन...

यो एउटा दु:खद् विडम्बना भनूँ, परिस्थितिको चेपारोले एउटै रगतबीच भंगालो ल्याइदियो- ‘नेपाली’ र ‘गोर्खाली’ को।

जतिबेला मैले सवंत् २०४० (सन् १९८५) मा नेपालबाट ‘रत्नश्री सुवर्ण पदक’, अंग्रेजीमा भन्नुपर्दा- रत्नश्री गोल्डमेडल प्राप्त गरेको थिएँ, त्यतिबेला ‘गोर्खाल्याण्ड आन्दोलन’ भएको थिएन।

सुवास घिसिङको मथिंगलमा ‘गोर्खाल्याण्ड’ लाई लिएर आन्दोलन गर्छु भन्ने सोचाइ बसेको पनि थिएन। (आन्दोलन गर्ने बाटो त उनले सन् १९८६ मा मेघालयका कोइलाखानीहरूमा काम गर्ने नेपालीहरूलाई अमानवीय उच्छेदन गरेका कारण भेटेका हुन्)। न नेपालका ‘नेपाली’ अनि भारतका ‘गोर्खाली’ वा ‘गोर्खा’ भनेर एउटै रगतमा विभाजन ल्याउँछु भन्ने सोचेका थिए।

त्यसबेला आजको जस्तो ‘हामी नेपाली होइनौं, गोर्खा हौँ’ भन्ने विसंगतिले दार्जीलिङलाई घेरेको थिएन। असमका अहिलेका गोर्खाहरूले अहिले पो ‘गोर्खा हौँ’ भन्दै ब्यूँझेका हुन्। तर मैले उक्त पदक पाउँदा अहिलेका असमका गोर्खाहरू ‘नेपाली’ को बर्को ओढेर मज्जाले सुतेका थिए।

 सन् १९८५ सम्म ‘गोर्खा’ मात्र भन्ने हावा भारतमा बहेको थिएन। नेपालका नेपाली र आजका भारतेली गोर्खा तर त्यतिबेलाका नेपालीको सम्बन्ध परस्परमा मधुर थियो यसैकारण नाटक सम्राट् बालकृष्ण समले भनेका थिए,‘दार्जीलिङले आज जो देख्छ। नेपालले भोलि देख्छ।’

यसबाट स्पष्ट हुन्छ- नेपालले त्यतिबेला भारतेली नेपालीलाई शिखरमा देख्ने गर्थ्यो। तर, आज यसको विपरीत छ-‘तँ नेपाली, म गोर्खा।’

यसरी आज एउटै रगत आफैंमा सीमाबद्ध छ तर साहित्य (कसैको पनि) सीमाबद्ध छैन। साहित्यको भौगोलिक सीमा हुँदैन। जीउँदो उदाहरण- सिलगढीवासी साहित्यकार सुकराज दियालीले गत वर्ष नेपालबाट साहित्यिक पुरस्कार थापेका थिए। नेपालमा थाप्न पुगेकाले तथा नेपालले दिएको कारण यो पुरस्कारलाई भारतेली नेपाली साहित्यले ‘अन्तर्राष्ट्रीय पुरस्कार’ को सूचिमा राखेको थियो।

साँच्चै, साहित्यको कुनै भौगोलिक सीमा हुँदैन यसैकारण मेरो जीवनको पहिलो साहित्यिक पुरस्कार ‘रत्नश्री सुवर्ण पदक’ मलाई नेपालले नै प्रदान गरेको हो।

नयाँ एकाउण्टमा जोडिएका मित्रवर्गलाई थाहा दिऊँ- यो पदक नेपालका राजमाता रत्नराज्य लक्ष्मी देवी शाहबाट प्रदान गरिएको थियो। मलाई कथामा। निबन्धमा पदक पाउने साहित्यकारको नाम सम्झनामा रहेन। कवितामा चाँदनी शाहलाई तर म समारोहमा उपस्थित हुन सकिनँ। पछि पदक र प्रशस्ति पत्र वरिष्ठ साहित्यकार नरबहादुर दहाल नेपाल पुगेका बेला लिएर आए, अनि मलाई दिए।

अहिले फेसबुक खेलाउने। कमेन्ट मात्र गर्न जान्ने तर बाहिरी ज्ञान नराख्ने आजका युवावर्गमध्ये धेरैलाई थाहा छैन होला नेपालको राज हत्याकाण्डमा मारिएकी ‘नेपालकी अन्तिम रानी ऐश्वर्य रत्नराज्य लक्ष्मी देवीको साहित्यिक उपनाम हो चाँदनी शाह।

चाँदनी शाहले धेरै गीत लेखेकी छन्। स्वरसम्राट् नारायण गोपालले गाएको गीत ‘एउटा मान्छेको मायाले कति फरक पर्छ जिन्दगीमा..’ चाँदनी शाहको कलमबाट निश्रित गीत हो।

मेरो उत्कट इच्छा थियो चाँदनी शाहलाई भेट्ने। तर मेरो नियति नै खोटो थियो। यसैकारण तिनलाई भेट्न नपाई नेपालको राजहत्या काण्डमा मारिइन्...मारिइन्..

(यो लेख कवयत्री चाँदनी शाहप्रति समर्पित छ)

प्रकाशित मिति: May 20, 2020 12:36:31

प्रतिक्रिया दिनुहोस

सबै