यात्रा

यात्रा

कति गाह्रो छ एकल महिला भएर जीवन बिताउन। तर जे जस्तो परे पनि छोडेर जानेसँग पछिपछि लाएर जान नसकिने रहेछ। आफ्नो समय आएपछि सबैले एकदिन यो धर्ती छोडेर जानैपर्ने रहेछ। सौरभले पनि कलिलै उमेरमा यो संसार छोडेर गयो। उसले छोडेर गएपछि मैले दुई छोरीलाई कसरी हुर्काई बढाई गरेँ हुँला? अहिले सम्झिँदा आफैंलाई अत्यास लाग्छ।

***

सौरभ र मैले प्लस टु सँगै पढ्यौं। सौरभ राम्रो परिवारमा हुर्केको केटा। त्यसो त उसको बानी पनि साह्रै राम्रो थियो। हेर्दा पनि ऊ कलेजका अन्य केटाभन्दा निकै ह्याण्डसम थियो। कलेजका सारा केटीहरू ऊ भनेपछि हुरूक्कै हुन्थे। मलाई थाहा छैन उसले त्यतिका राम्री केटी छोडेर मलाई नै किन रोज्यो। प्लस टु सकेकै दिन उसले मलाई प्रेम प्रस्ताव राख्यो। मैले केही सोच्नै सकिनँ। मन त्यसैत्यसै सौरभको पछि दौडिरह्यो।

ममी र ड्याडी चाहनुहुन्थ्यो कि, म मेरो बाँकी पढाई नेपाल बाहिरै गरौं। सौरभको पनि ईन्जिनियरिङ पढ्ने ठूलो ईच्छा थियो। त्यसैले मैले ममी र ड्याडीलाई सौरभको बारेमा भन्नैपर्‍यो। जब मैले सौरभको बारेमा उहाँहरूलाई सबैकुरा भनेँ तब ड्याडी मेरो अनुहारमा आश्चार्यभावले हेर्नुभयो। सायद ड्याडीलाई विश्वास थिएन उहाँको छोरीले आफ्नो जीवनसाथी आफैं खोज्छे भन्ने। करीब एक घण्टा जति ममी र ड्याडीको अगाडि बसेर सौरभको गुनगान गाएपछि बल्ल उहाँहरू सौरभलाई भेट्न राजी हुनुभयो।

सौरभ घरमा आयो। ममी ड्याडीले फेरि करिब आधा घण्टा जति सौरभको अन्तरर्वाता लिएपछि उसँग मेरो विवाह गराईदिन राजी हुनुभयो। केही महिनापछि सौरभ र मेरो सामान्य रूपमा विवाह भयो। विवाह भएपछि सौरभले अस्ट्रेलियाको प्रोसेस सुरू गर्‍यो। तीन महिनापछि उसको  र मेरो अस्ट्रेलियाको भिसा लाग्यो। म सौरभको डिपेन्डेन्डमा ऊ सँगै अस्ट्रेलिया पुगेँ।

समय बित्दै गयो। आजभोलि भन्दा भन्दै अस्ट्रेलिया पुगेको पनि पाँच वर्ष पूरा भयो। सौरभले ईन्जिनियरिङको पढाई सकेर पि.आर एप्लाई गर्‍यो। केही समयपछि हाम्रो पि.आर भयो। यो खुशीको कुरा हामीले दुबै परिवारलाई सुनायौं। पि.आर हुनासाथ हामीलाई दुबै परिवारबाट बच्चा जन्माउने दबाब आउन थाल्यो। सौरभले आफ्नो पढाई सकेको भए पनि मैले त आफ्नो पढाई सुरू पनि गरेकी थिईनँ। त्यसैले परिवारको यो कुरालाई मैले स्वीकार्न सकिनँ। मेरो यो निर्णयमा सौरभले पनि साथ दियो।

सौरभ मेरो लागि भगवान् सरह थियो। आँखामा राखे पनि नबिझाउने। मेरो हरेक कुरामा साथ दिन्थ्यो ऊ। उसैको साथ र सहयोगले मैले राम्रो अंक ल्याएर नर्सिङको पढाई पूरा गरेँ।

नर्सिङको पढाई पूरा गरेपछि हामी परिवारको सपना पूरा गर्नतिर लाग्यौं। मैले जुम्ल्याहा छोरीलाई जन्म दिएँ। सौरभ खुशी भयो। यसै पनि वैवाहिक बन्धनमा बाधिएदेखि मैले कहिले पनि सौरभको आँखामा क्रोध र दुःख देखेकी थिईनँ। छोरीहरु हेर्न सौरभ र मेरो ममी ड्याडी नेपालबाट अस्ट्रेलिया आउनुभयो। उहाँहरूको स्वागत र सत्कारमा हामीले कुनै कमी छोडेनौं। ६ महिनापछि छोरीहरुको अन्नप्रासन सकाएर बुवाआमाहरू नेपाल फर्किनुभयो। हामीले भारी मनले उहाँहरूको बिदाई गर्‍यौं।

दुई छोरीहरू आरभी र सुरभी ठूला हुँदै गए। उनीहरुको दुई वर्षको जन्मदिन धुमधामको साथमा मनाईदिन मन थियो। शनिबार परेकोले सौरभको पनि काम थिएन। सौरभ पनि उत्सुक देखियो छोरीहरूको जन्मदिन मनाउन। छोरीहरुको जन्मदिन धुमधामसँग मनाईसकेर सबै अतिथिलाई बिदा गरेँ। कोठामा पुग्दा सौरभ छट्पटिरहेको थियो। मैले आत्तिदैं सोधें, ‘सौरभ के भो तिमीलाई? सौरभ छातिको दुखाईको पीडामा छट्पटिरहेको थियो। मैले के गर्ने कसो गर्ने सोच्न सकिनँ। धन्न हामीसँग बस्ने चिनेको नेपाली दिदी र भिनाजु थिए र अलिकति साहस आयो। दिदीलाई दुई सानी छोरीको जिम्मा लगाएर भिनाजु र म सौरभलाई अस्पताल लिएर गयौं। केहीबेर सबै परीक्षण गरिसकेपछि मलाई डक्टरले बोलाएर भने, ‘आइ एम सरी, हि इज् सफरिङ फ्रम लङ्ग्स क्यान्सर। हि ह्याभ वन्ली फ्यू मन्थ्स् टु लिभ।’

मुख सुक्यो, पसिना आयो, हातखुट्टा सबै गल्यो तर बोली फुटेन। सौरभ असाध्यै चुरोट पिउँथ्यो। म कति सम्झाउँथे तर ऊ मान्थेन। आज त्यसकै फलस्वरुप ऊ मृत्युको नजिक पुग्दैछ।

जीवन कति अनपेक्षित छ। यहाँ कतिखेर कस्तो आँधिबेहरी आउँछ थाहा हुँदैन। तर जस्तो आँधिबेहरी आए पनि जीवनमा नडगमगाई अघि बढ्न सिक्नुपर्ने रहेछ। केही गर्दा पनि सौरभलाई बचाउन सम्भव नभएपछि म दुई छोरी र सौरभको साथमा केही समयको लागि नेपाल फर्किएँ। सौरभ पनि चाहन्थ्यो कि उसको बाँकी जीवन नेपालमै बितोस्। करिब ६ महिना मृत्युसँग लडेपछि सौरभले हार्‍यो अनि मृत्यूले जित्यो।

के सोचेकी थिएँ, के भयो जिन्दगीमा? सौरभको मृत्युपछि मलाई नेपाल बस्न झन् सकस भयो। नेपालमै बस्नलाई सौरभ र मेरो परिवालले लाखौं पटक सम्झाउनुभयो। तर नेपाल बसेर मलाई सौरभको याद मेटाउन झनै मुस्किल पर्‍यो।

यो जीवन यात्रा नै त रहेछ। कहिले कता कहिले कता पुग्ने यात्रा। म त्यही गन्तव्यबिनाको यात्री थिएँ। त्यसपछि फेरि छोरीहरू लिएर म अस्ट्रेलिया आईपुगेँ। छोटो अवधिमा जीवनले दिएको यो लामो चोटहरु म कसरी बिर्सन सक्छु र?

***

‘मम्मा ह्वेर आर यू,’ आरभीले बोलाएपछि पो म झस्किएँ। मम्मा आर यू क्राईङ?,’ जति लुकाउन खोजे पनि मेरी सानी छोरीले मेरो आँशु देखिहाली। छोरीहरुले त आफ्नो बुवा चिन्न पनि पाएनन्। ‘ह्वेर ईज पापा,’ भन्दै घरीघरी सोध्छन् म ‘हि ईज विथ गड,’ भनेर जवाफ दिन्छु। खै कति बुझ्छन् कति बुझ्दैनन् थाहा छैन। तर बुझेंझै गरेर चुप लाग्छन्।

छोरीसँग बसेर कुरा गर्दागर्दै फोनको घण्टी बज्यो। आशिषले गरेको रहेछ। आशिष, मैले काम गर्ने हस्पीटलको डाक्टर अनि मेरो मिल्ने साथी पनि। हामी बिच सबैकुरा सेयर हुन्छ। आशिषको डिभोर्स भएको कुरा मलाई भेट भएको एक हप्तामै सुनाएको थियो। जति मिले पनि म उसँग एउटा दुरी कायम गर्थेँ। म चाहन्न थिएँ कि सौरभलाई बिर्सेर म कसैसँग जीवन बिताउँ। बाँकी जीवन बिताउन मसँग सौरभको याद र दुईछोरीहरुको साथ नै काफी थियो।

आशिष मलाई कहिले सँगै लन्च गर्न त कहिले सँगै डिनर गर्न प्रस्ताव राखिरहन्थ्यो। मलाई थाहा छैन सबैकुरा थाहा पाएर पनि ऊ किन त्यसरी मेरो पछि लागिरहेको छ। मेरो मनमा उप्रति केही नभए पनि अस्पतालमा कार्यरत सबै नेपालीले हाम्रो कुरा गर्न थालिसकेका थिए। मेरो र आशिषको अगाडि कसैले केही भन्ने आँट नगरे पनि हल्लाको र्दुगन्ध फैलिसकेको थियो। विदेश भए पनि हल्ला फैलाउन नेपालीहरूलाई रोकेन।

म आफ्नो सिफ्ट सकेर घर फर्कदै थिएँ। आशिषले बोलायो। म चाहन्थे कि अब उसको र मेरो बारेमा चलेको हल्लाले हस्पीटल नतताओस्। तर ऊ एकोहोरो मलाई बोलाईरहेको थियो। म अडिन बाध्य भएँ। ‘आई लभ यू सोस्तिका’ पछाडि हातमा भएको गुलाफ दिदैं उसले भन्यो। मलाई जुन कुराको डर थियो आखिर त्यही भयो। ऊ भन्दै थियो, ‘तिमी यदि मलाई मन पराउँछौं भने म तिम्रो घर अगाडिको एसफिल्ड पार्कमा वेट गरिरहने छु ठिक पाँच बजे आउ, आईनौं भने सम्झनेछु कि मेरो लागि तिम्रो मनमा केही फिलिङ्स रहेनछ,’ त्यति भनेर उ सरासर हिड्यो।

मेरो मनमा कुरा खेलिरह्यो। यतिका वर्षसम्म उसँग एउटै हस्पीटलमा काम गरेपछि मलाई पनि उप्रति फिलिङ्स नआएको पटक्कै होइन। तर, मैले विवाह गरेँ भने मेरो दुई छोरीको के हुन्छ। अठार वर्ष नपुगुन्जेल त उनीहरु मेरो जिम्मेवारी हुन्।

मैले सोचें, ‘म आशिषसँग कुरा गर्छु, यदि उसले मलाई अपनाउन चाहन्छ भने उसले आरभी र सुरभीलाई पनि अपनाउनुपर्छ। के उसले अपनाउला मेरी छोरीलाई?’ म यस्तै सोच्दै उसले भनेको समयमा एसफिल्ड पार्क पुगेँ। ऊ त म पुग्नुभन्दा पहिल्यै नै पार्कको चेयरमा बसेर मेरो प्रतिक्षा गरिरहेको रहेछ। मैले मनभित्र चलेका सबैकुरा उसलाई भनें। उसले हाँस्दै भन्यो, ‘मैले तिमीलाई मन पराएको छु स्वस्तिका, यसको मतलव यो हो कि तिमीसँग जोडीएका हरेक कुरालाई म माया गर्छु।’

जीवनको यात्रामा कसले कतिखेर छोडेर जान्छ र को कतिखेर साथ दिन आईपुग्छ भन्ने कुरा पनि थाहै नहुने रहेछ। सौरभले यो यात्रालाई अधुरो छोडेर बिच बाटोमै बिलिन भएको थियो। आशिष त्यो यात्रालाई पूरा गर्न मेरो साथमा आईपुगेको छ। मैले मेरो जीवनको बाँकी यात्रा उसैसँग तय गरिदिएँ।

प्रकाशित मिति: May 23, 2020 11:05:18

प्रतिक्रिया दिनुहोस

सबै