कालापानी नजिक ११ करोडको सशस्त्र गुल्म, भारतीय सीमामा १ सय ७ पोष्ट थपिने 

श्याम भट्ट

कञ्चनपुर

पहिलो पटक दार्चुलाको कालापानी नजिक ब्यासको गागामा उपस्थिति जनाएको सशस्त्र प्रहरीका लागि ११ करोडको लागतमा नयाँ बोर्डर आउट पोष्ट (बिओपी) निर्माण हुने भएको छ।

नेपाल–भारतबीच सीमा विवादको उच्च संवेदनशीलतालाई महसुस गर्दै सरकारले बिओपीका लागि ११ करोड छुट्टयाएको हो। 

सशस्त्र प्रहरीका इञ्जिनियर डिएसपी मिलन मास्केले ब्यास क्षेत्र पुगेर नयाँ भवन निर्माण हुने गागाको १५ रोपनी जमीनको अवलोकनसमेत गरिसकेका छन्। साताभित्र सशस्त्रले टेण्डर आब्हान गर्ने भएको छ।

१ सय ६५ जना बस्न मिल्ने निर्माणधीन बिओपी गुल्मस्तरको हुने बताइएको छ। भवन निर्माण भएपछि पोष्टलाई गुल्ममा रूपान्तरण गरिने सशस्त्रको रणनीति रहेको छ ।

ब्यासमा गुल्म बस्ने वित्तिकै कालापानीभन्दा ४ किलोमिटर वर अर्को बोर्डर आउट पोष्ट राख्ने योजना सशस्त्रले बनाएको छ। 

यो बाहेक दार्चुलाबाट भारतसँग जोडिने प्रमुख नाका लेकम, जौलजीवी र दत्तुमा समेत बोर्डर आउट पोष्ट बनाउने तयारी छ।

अहिले सदरमुकाम खलंगाबाटै यी नाकाको निगरानी गर्नु परिरहेको दार्चुलाका सशस्त्र प्रहरी प्रमुख डम्बर बहादुर विष्टले विएल नेपाली सेवालाई जानकारी दिए।  

सशस्त्र प्रहरी प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठका अनुसार कोरोना संन्त्रासको यो समयमा १ सय ७ स्थायी वोर्डर आउट पोष्टबाट काम गरिरहेको सशस्त्रलाई चालु आार्थिक वर्षमा १ सय १४ बिओपी थपेर २ सय २१ पुगाउने निर्णय सरकारले गरेको छ। जसमध्ये ७ वटा चिनियाँ नाकामा बनाइने छन्। ब्यासको गागा मात्रै यस्तो पोष्ट हो जसले भारत र चीन दुबै देशमा नाकाको निगरानी गर्नेगरी छनौट गरिएको हो।

भारतीय एसएसबीको (सशस्त्र सीमा वल) रणनीति अनुरुप नै काम गर्ने हो भने २ सय २१ विओपी पनि सशस्त्रलाई थोरै पर्न जान्छ। 

१ हजार ८ सय ८० किलोमिटर भारतीय सीमामा मात्रै ३ सय ७६ बिओपी बनाउन आवश्यक देखिन्छ, चीनको नाका छोडेर। एसएसबीले नेपालसँगको सीमामा ५ सय ३० वटा बोर्डर आउट पोष्ट बनाएर काम गरिरहेको छ।

भारतसँग नेपालको २७ जिल्लामा १ हजार ८ सय ८० किलोमिटर सीमामा १ हजार २ सय १३ अस्थायी चेक पोष्ट छ। तर, त्यो सुविधा सम्पन्न छैन। सशस्त्रले विना पुर्वाधार त्रिपालको भरमा सीमामा निगरानी गरिरहेको छ। नाम मात्रका यी अस्थायी पोष्ट भनेका भारतबाट कोरोना भित्र्न नदिन सशस्त्रले आफ्नो बलबुतामा बनाएका हुन्।

कोरोना संत्रासबीच चर्को गर्मीमा रात दिन खटिरहेका सशस्त्र प्रहरीको अवस्था वास्तवमा दयनीय छ। आपतको बेला १ हजार २ सय १३ अस्थायी पोष्टबाट अवैध घुसपैठमा नजर राखिरहेको सशस्त्रसँग छानोको विकल्प भनेको दसगजा नजिकका पुराना घर, स्कुल र त्रिपाललाई आधार बनाएर काम गर्नु परेको छ। यो अहिलेसम्मका शाषकले सीमा र फौजको व्यवस्थापनमा ध्यान नदिएको परिणाम हो । 

सरकारी योजना अनुसार अव बनाउन लागिएका १ सय ७ पोष्ट समयमै निर्माण भएमा नेपालको भारतीय सीमामा मात्रै सशस्त्रका २ सय १४ पोष्ट पुग्ने छन्। यसले हरेक ८ दशमलब ७८ किलोमिटर क्षेत्रमा सशस्त्रको एकबाट अर्को पोष्टमा पहुँच पुग्नेछ। कोरोना कहरमा बनेका अस्थायी पोष्ट छोडने हो भने यसअघि हरेक १७ दशमलब ५७ किलोमिटरमा सशस्त्रको एउटा पोष्ट रहेको अवस्था हो। छिमेकी भारतको एसएसबीको ५ सय ३० पोष्टको हिसाब गर्दा नेपाली सीमाको हरेक ३ दशमलब ५४ किलोमिटरमा उनीहरुको एउटा पोष्ट छ। सशस्त्र प्रहरी र सीमालाई साँच्चै ब्यबस्थित गर्ने नै हो भने यो उपयुक्त समय हो, एसएसबीकै रणनीति सीमामा किन नअपनाउने?

प्रकाशित मिति: : 2020-05-23 17:23:11

प्रतिकृया दिनुहोस्