क्राेएसियाले फेरिदिएकाे एक नेपालीकाे सपना, त्यहीमाथि थपियाे काेराेना

क्राेएसियाले फेरिदिएकाे एक नेपालीकाे सपना, त्यहीमाथि थपियाे काेराेना

मार्चको तेस्रो साता मेरो एक मित्रले भन्नुभयो–‘क्रोएसियाबाट हिँडेर पोर्चुगल आएका नेपालीलाई भेटे।’

यो सुनेर म अलमलमा परेँ। छक्क पनि लाग्यो। यसअघि मैले टर्कीबाट हिँड्दै आएको र अमेरिका हिँड्दै गएको त सुनेको थिए। तर, क्रोएसियाबाट हिँड्दै पोर्चुगल प्रवेश गरेको नेपालीकाे बारेमा पहिलो पल्ट सुनिरहेको थिए। 

मित्र भन्दैथियो–‘उनीहरुको दु:ख र सङ्घर्षको कथा सुन्दा निकै नरमाइलो लाग्यो। उनीहरु क्रोएसियाबाट हिँड्दै यहाँ (पोर्चुगल) आउनु र कोरोनाका संक्रमणका कारण ‘स्टेट अफ इमर्जेन्सी’ लागु हुनु पनि कस्तो दु:खद संयोग भयो। निकै दु:ख पाए बेचाराहरुले।’ 

मित्रको यो कुरा सुनेपछि मेरो मन पनि छट्पटियो। दु:ख पाएका ती नेपालीलाई भेट्ने औंडा जाग्यो। तर, ‘लकडाउन’ को बेला भेट्न त्यति सजिलो थिएन। उनीहरु राजधानी लिजवनबाट निकै टाढा बसिरहेका रहेछन्। मेरो कौतुहलतामा मित्रले भने,‘अहिले भेट्न सम्भव छैन। लकडाउन केही खुकुलो भएपछि लिजवन आउँछन्। अनि भेटौला, हुन्न।’

१८ मेमा बिचल्ली परेका नेपालीमध्ये एक जना लिजवन आइपुगे। उनीसँग मेरो परिचय भयो। उनले नेपालबाट आउँदादेखि भाेगेकाे सबै कहानी मलाई सुनाए। मलाई उनको कहानी सुनेपछि असह्यै पीडा भयो। त्यसैले उनीसँग अनुमति मागेर विदेशमा ठूलो सपना देखेर नेपालबाट आउने दाजुभाईको पीडालाई ‘लकडाउन’ को बेला सेयर गर्न खोजेको हुँ। 

उनको अनुरोधका कारण नाम,ठेगाना र तस्वीर भने गोप्य राखिएको हो। उनी मसँग कुरा गर्दा पनि दलालसँग निकै नै डराइरहेका थिए। ‘के गर्ने परिवारलाई केही नराम्रो गर्ला कि?’ उनी भनिरहेका थिए। फेरि आफ्नाे कथा पढेर परिवार बिचलित हुन्छन् भन्ने हेक्का पनि थियाे उनीमा।  

उनकाे परिचय गाेप्य राख्ने सहमति जुटेपछि उनले बेलिबिस्तार लगाए–‘के गर्ने सर! ठूलै सपना बोकेर युरोप छिरियो। तर, क्रोएसियाले सबै सपना फेरिदियो, त्यही माथी कोरोनाको कहरले बर्बाद बनायाे।’

भर्खरै २६ वर्ष टेकेका उनी १२ कक्षाकाे पढाई सकेर युराेप आउन तम्सिएका रहेछन्। गाउँका सबै युवा कोही जापान त कोही युरोप। त्यसैले उनलाई पनि विदेशिने रहर लागेको रहेछ। ‘हाम्रो छिमेकी गाउँ नेपालमा सबैभन्दा बढी युवाहरु जापान जाने गाउँ हो। हाम्रो गाउँमा पनि प्राय: सबै विदेश छन्। विदेशमा भएका र विदेशबाट आउनेलाई सबैले आदर–सम्मान गर्दछन्,’ लामाे संवादका क्रममा उनले भने। 

उनी गाउँमा हुँदा कुटो–कोदालो सबै गर्थे। तर गाउँकाे चाैतारीदेखि चिया पसलमा हुने गफकाे मुख्य आकर्षण हुन्थ्याे–‘उसको छोरा त फलानो देशमा छ। ओहो कस्तो समुन्द्रको किनारमा फोटो खिचेको। फलानोको जापानमा एजु लाग्यो रे। फलानो त अमेरिकामा पुगेर जेल परेको थियो। अहिले निस्केर फेरि काम गर्दैछ रे। फलानोको छोराको ‘असाइलम’ को मुद्धा सफल भयो रे। दिलबहादुरले त पोर्चुगलमा व्यापार सुरु गरो रे। अर्जुनले त छोरी र बुढी सबै परिवार विदेश लग्यो रे।’

दैनिकी यस्ता कुरा सुन्दासुन्दै उनमा पनि विदेशिने हुटहुटी जागेको रहेछ। विदेश जाने कुरैकुरामा उनलाई गाउँकाे एक दलालले क्रोसियाबाट पोर्चुगल जान सजिलो हुन्छ भनेको रहेछ। लागत पनि ६ लाखभन्दा बढी नलाग्ने भनेपछि उनी लोभिएका रहेछन्। फेरि क्रोएसियामै बसेर काम गर्दा महिनाको ६०–७० हजार मज्जाले कमाईं हुने बताएपछि उनलाई त्यो मान्छे ‘ढुङ्गा खोज्दा देउता मिले जस्तो’ भयो। पोर्चुगलमा ‘वर्क परमिट’ मा १२–१४ लाख तिरेर जानुभन्दा क्रोएसिया गएर त्यहा १–२ वर्ष काम गरेपछि पोर्चुगल जाने सपना बुन्दै उनले ‘आमीदावा वुद्द म्यानपावर’ का एक सम्बन्धित ब्यक्तिलाई पासपोर्ट बुझाएका रहेछन्।

‘हामीसँग सम्झौता हुँदा महिनाको ५ सय ५० युरो पाइने, तीन टाइम खानाकाे कुरा भएको थियो।तर, श्रम स्वीकृत गर्दा ४ सय १४ युरोको पेपर आयो। त्यहीबाट चिसो त पसिसकेको थियो। दलाल र श्रम मन्त्रालयको कर्मचारीबीच साँठगाँठ हुँदो रहेछ। कमिसन र घुँस चल्दो रहेछ। उनीहरुले दलालले भने बमोजिम श्रमस्वीकृत बनाइदिने रहेछन्,’ उनी भनिरहेका थिए,‘दलाल यतिबेला पनि हामीलाई कन्भिन्स गराउन खोजिरहेको थियो–यो कागज देखाउनको लागि मात्र हो। सेवा सुविधा हामीले भने बमोजिम हुन्छ। ढुक्क हुनुस्।’ 

मनमा चिसो पस्दापस्दै उनीहरुलाई दलालको कुरा पत्याउन कर लाग्यो। भिषा आयो। खुसीको सीमा रहेन्। साथीभाईले हालेको युरोपका फोटा सम्झदै, यस्तै होला युरोप भन्ने कल्पना गर्न थाले। भोलिदेखि गाउँमा आफ्नो पनि चर्चा हुने भयो भनेर खुसी भए। सपना देख्न थाले। यत्तिकैमा गत वर्षकाे नोभेम्बरमा उनी नेपालबाट क्रोएसियाका लागि उडे। 

दुबईमा ‘ट्रान्जिट’ थियो, ८ घन्टा लामो।२४ तारिखमा उनी क्राेएसियाकाे राजधानी जाग्रेप उत्रिए। उनीसँग अन्य नेपाली पनि थिए। 

‘नेपालमा हुँदा हामीलाई कागज गराइएको थियो। कम्पनी छाडे वा भागे १० लाख जरिवाना। तर, क्रोएसिया आएपछि न खाना ३ टाइम छ, न भनेजति तलब’, उनले सुरु हुँदै गरेकाे आफ्नाे कष्टको दिन सुनाए,‘कहिले काहीँ काममा लैजान्थ्यो कम्पनीले। त्यो पनि ठूला विल्डिङ्गको सिडी, कोठा र लिफ्ट तथा सुपरमार्केट सफा गर्ने। काम साताको १–२ दिन मात्र थियाे।’ 

कोएसिया पुगेपछि थाहा भयो– क्रोएसिया युरोप त रहेछ तर यो सेनजेन भित्र नअटाएको देश रहेछ। यहाँबाट सेनजेन देश जान झन् कठिन रहेछ। 

यहाँ उनको भेट अर्को दलालसँग भयो। यी दलाल पनि बडो विचित्रको रहेछन्। हरिकृष्ण नाम गरेका ती दलाल २०१७ मा १६ लाख तिरेर टर्की हुँदै फ्रान्स आएका रहेछन्। दलालको दलदलमा फसेपछि उनी पनि यो पेसा अंगाल्न बाध्य भएको उनको कुराबाट बुझिन्थ्यो। उनी क्रोएसियाबाट इटाली छिराइदिन १ जनाबाट ८ सय युरो असुलउपर गर्थे। 

‘हामीलाई पनि तिनै हरिकृष्णले ८–८ सय युरो लिने सर्तमा इटाली पुर्याउने बाचा गरेँ। हामी ११ जना थियौं,’ उनले भने,‘डिसेम्बर २४ मा कम्पनीबाट भागेर हरिकृष्णसँग हामीले यात्रा सुरु गर्यौ।’  

हरिकृष्णले ज‌ंगलको बाटो हुँदै उनीहरुलाई पहिले उत्तर–पश्चिमी देश स्लोभानिया पुर्याएका थिए। यसपछि इटाली छिराए। तर दुर्भाग्य उनीहरु इटालीमा प्रहरीको निगरानीमा परे र समातिए। 

‘अहो निकै कष्टकर थियो त्यो रात। हरिकृष्णले हामीलाई कोएसियाको भेनकोभेसीबाट गाडी चढाएर पहिले रिजिगा पुर्याए। रिजिगा भन्ने ठाउँबाट कुकलजनीको जंगल सुरु हुने रहेछ। यही जंगलको बाटो हुँदै हामीलाई स्लोभानिया प्रवेश गराइयाे। २४ घण्टा भोक र अनिदोका बीच चिसो मौसममा हामी कसरी जंगलैजंगल स्लोभानिया पुग्यौं, त्यो तपाईहरु पनि अनुभव गर्न सक्नुहुन्छ,’ उनी भन्दै थिए,‘स्लोभानियाबाट प्रहरीको आँखा छल्दै हरिकृष्णले हामीलाई इटालीको त्रियस्ता पुर्याएका मात्र के थिए, इटाली प्रहरीले सबैलाई पक्राउ गर्यो।’ 

उनले इटालीको शरणार्थी शिविरमा लगेर आफूहरु सबैको सोधपुछ भएको बताए। ‘हरिकृष्ण लगायत ४ जनालाई बेस्सरी केरकार गर्यो र फिङ्गर गरायो। फिङ्गरबाट हरिकृष्णको सबै डिटेल्स् आयो। प्रहरीले हरिकृष्णलाई मानव तस्करीको अपराधमा लग्यो। त्यसपछि उनीसँग हाम्रो सम्बन्ध बिच्छेद भयो। उनी अहिले हिरासतमा छन् वा छुटीसके थाहा भएन्,’ उनले भने। 

११ दिनसम्म इटालीमा शरणार्थी शिविरमा बसेपछि राती उनीलगायत ५ जना भागेर त्रियास्ताबाट मिलानो जाने ट्रेन चढेका रहेछन्। ‘मिलानोमा एक रात सडकमा बितायौ,’ उनले बताए।  

मिलानोबाट उनीहरुले फ्रान्सको निसभिल्ला जाने ट्रेन समातेका थिए। उनीहरु निसभिल्लाबाट ५ घन्टाको ट्रेन यात्रापछि पेरिस जान चाहन्थे। तर, टिकट काट्न पासपोर्ट वा भिसा पेपर चाहिने भयो। त्यो उनीहरुसँग थिएन। बाटोमै भेटिएका एक पाकिस्तानीले उनीहरुलाई टिकट काटिदिने आश्वासन दियो। तर यो बापत प्रत्येकबाट १ सय १० युरो लाग्ने बतायो। उनीहरुसँग अरु उपाय थिएन। त्यसैले पाकिस्तानीको प्रस्ताव स्विकार गरे। 

केही बेरपछि त्यो पाकिस्तानीले टिकट ल्याएर दियो र ५ सय ५० युरो उनीहरुसँग लिएपछि पिसाब फेर्ने बहाना बनाउँदै त्यहाँबाट बेपत्ता भयो। एकछिनपछि उनीहरु ट्रेन स्टेशन गएर सोध्दा टिकटमा भने बमोजिम ट्रेन रहेनछ। ‘उसले यहाँ पनि हामीलाई ठग्याे,’ उनले सुनाए,‘हामीले एक स्थानीयसँग अनुरोध गर्यौ। हामीसँग पैसा छ,तिम्रो कार्डबाट टिकट काटिदेउ न। निसबाट पेरिससम्मको १ जनाको ४० युरोको हिसाबले उसले हाम्रो टिकट काटिदियो। हामी राती ९ बजे पेरिस पुगेका थियो। त्यो दिन त्यही स्टेशन वरिपरी बस्यौ। भोलिपल्ट साथी लिन आयो।’

फ्रान्स प्रवेश गरेपछि उनीहरुलाई पुन: पासपोर्ट बनाउनु पर्नेभयो। यसका लागि उनीहरुले नेपालबाट फेरि २–२ लाख मगाए। नागरिकता पनि। विपतको यो अवधिमा नेपाली दुतावासले उनीहरुको सहयोग गर्यो। २ महिनामा पासपोर्ट हात लाग्यो। फ्रान्समा हुँदा उनीहरु शरणार्थी क्याम्पमा बसोबास गर्थे। यहाँ उनीहरुलाई ४०० देखि ४११ युरो भत्ता आउँथ्यो। 

तर रोचक शरणार्थी क्याम्पमा आफ्नो स्टोरी लेख्नु पर्दोरहेछ। एक नेपालीले उनीहरुकाे स्टोरी लेखेबापत १ सय ५० युरो पारिश्रमिक लियाे। उनीहरु केही समय नेपालीहरु कहाँ कोठा भाडा लिएर बसेका थिए, २ सय युरोका दरले। तर दु:खको कुरा लुगाधुने मेसीन र इन्टरनेटको पासपोर्ट उनीहरुले चलाउन पाएनन्। 

युरोपमा आएर पनि चेतना कम र काठमाडौंका घरपेटीभन्दा साँघुरो मन भएका नेपाली देख्दा उनको मन कुँडिएको रहेछ। २ महीना १५ दिन फ्रान्सको बसाइँपछि १४ मार्चमा पेरिसबाट बस चढेर पोर्चुगलको यात्रा सुरु गरेका उनी यहाँ झन् बिचल्लीमा परे।

उनीसँगै नेपालबाट आएका केही साथीहरु १५ मार्च बेलुका पोर्चुगलको सेतेरोईस स्टेशन झरेका थिए। त्यो रात उनीहरु एक नेपालीकाे होस्टलमा बसे। तीन दिन नेपालीकाे हाेस्टलमै बसाेबास गर्ने क्रममा उनीहरुले जब पाेर्चुगलकाे ट्याक्स नं र फिनान्स नं भर्ने जमर्काे कसे, कोरोनाका कारण ‘इमर्जेन्सी स्टेट’ घोषणा भयो। सबै सरकारी अफिस बन्द भए। 

कोरोनाको नराम्रो असर उनीहरुमा पर्यो। लिजवनमा फिनान्स भएन। साथीहरुले खेतीतिर बोलाएपछि उनीहरु सान्तो आन्तोनियोतिर हानिए। त्यहाँ पनि फिनान्स नं भर्ने कुनै उपाय नदेखिएपछि मे १८ मा लिजवन फर्किए। ‘यहाँ वकिलमार्फत ९० युरोमा फिनान्स भर्न मिल्दछ भन्ने सुनेर आएको हुँ,उनले भने। 

उनी नेपालबाट हिँडेको ६ महिना बितिसकेकाे छ। विदेशमा आएर जिन्दगीले सफलताको खुड्कीला चढ्छु भन्दा असफलताले उनलाई खिन्न बनाएको छ। ‘हामी त नबुझी विदेश हानियौं। अरु कोही पनि यसरी विदेश नहानिनु। दलालहरुको मनमा दया हुँदो रहेनछ,’ उनी भन्छन्। 

प्रकाशित मिति: May 24, 2020 12:35:30

प्रतिक्रिया दिनुहोस