रोग भोक र शोकले थलिए विदेशमा नेपाली (भिडियो)

विश्वभर फैलिरहेको कोरोना संक्रमणको प्रभाव नेपालमा ढिलामात्र सुरू भए पनि यसको जोखिम दिनप्रतिदिन बढ्दै गईरहेको छ।

विश्वका अन्य देशमा संक्रमणको प्रभाव देखिन सुरू गर्ने वितिकै सरकारले तत्काल अन्तराष्ट्रिय उडान बन्द गर्‍यो।

विदेशमा रहेका लाखौं नेपालीमा यसले कस्तो प्रभाव पार्ला भन्ने हेक्कै नराखि गरिएको बन्दले विदेशका नेपालीहरू यतिबेला घरको न घाटको बनेर बाँचिरहेका छन्।

कोरोना संक्रमण फैलिने वित्तिकै अन्य देशले आफ्ना नागरिकलाई विमान चार्टर गरेरै भए पनि स्वदेश फर्कायो तर नेपालले आफ्ना नागरिकलाई स्वदेश फर्काउन पहलै गरे। यसबाट विदेशी भूमिमा लाखौं नेपाली यतिबेला अलपत्र अवस्थामा छन्।

वैदेशिक रोजगारीको लागि खाडी मुलुक पुगेका  नेपाली हुन् या अन्य भिजीट भिसामा अमेरीका, अष्ट्रेलिया र युरोप पुगेका नेपालीको आज एउटै माग  छ- घर फर्किन पाउँ।

विदेशमा गर्भवति अवस्थामा रहेका नेपाली महिलादेखि छोराछोरी भेट्न विदेश पुगेका वृद्ध बावु आमा यतिबेला आफ्नो निरन्तर सेवन गर्ने औषधि सकिएर जीवन मरणको संघारमा छन्। सरकारलाई उनीहरूले बारम्बार भनिरहेका छन्- हामी आफ्नै पैसाले आउँछौं, क्वारेन्टाइन्मा बस्छौ मात्र हामीलाई फर्कन देऊ।

हरेक दिन बिहान उठ्ने वित्तिकै आँखा मिचेर  सरकारले आफूहरूलाई स्वदेश फर्काउने  विषयमा के निर्णय गर्‍यो भन्दै समाचार हेर्ने र निराश हुँदै बस्नुनै उनिहरुको दैनिकि बनेको छ। केही देशहरूमा स्वदेश फर्कन चाहानेले फर्म भर्नुहोला भनेर पठाएका फर्म हतार हतार भरेपछि उनिहरु समाजिक संजाल मार्फत एउटै ग्रुपमा आवद्ध भए।

हरेक दिन ग्रुपमा उनीहरूले आफूलाई विदेशमा बस्दा परेको अप्ठ्यारोको बारेमा गुनासा गर्छन्। उनीहरूको पीडा सरकारसम्म पुग्छ भनेर यसो गरिरहेका हुन्। तर दिन, हप्ता, महिना वितिसक्दा पनि सरकारले विदेशमा रहेका आफ्ना नागरिकको समस्यालाई गम्भीरताका साथ लिएको देखिदैन। यसबाट उनीहरू मानसिक रूपमा विक्षिप्त भइसकेका छन्।

सरकारले जेष्ठ मसान्तसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान बन्दको निर्णय गरेसँगै स्वदेश फर्कन चाहने नेपालीहरू थप मानसिक समस्यामा परेको देखिन्छन्।

अहिले विभिन्न देशबाट नेपाल जान ईच्छुक व्यक्तिले भरेको फर्मको विवरण मात्र हेर्दा पनि १० देखि १२ लाख मानिस नेपाल फर्कन चाहेको देखिन्छ।

परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्व र मलेसियामा रहेका २१ हजार युवालाई तत्काल उद्धार गर्न आवश्यक रहेको भनिरहेको छ।

यदि कोभिड-१९ अबको दुई महिना भित्र नियन्त्रणमा नआएमा करिब ३ लाख युवालाई उद्दार गर्नपर्ने अवस्था आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले तीन चरणमा गरी स्वदेशमा आउन चाहने नेपालीको तथ्याङ्क संकलन गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको महामारी बिच आफ्ना नागरिकलाई स्वदेश फर्काउनु राज्यको प्रमुख दायित्व हो र यसको लागि सरकारले तिव्र गतिमा व्यवस्थापनको तयारी थाल्नुपर्छ।

सरकारले पहिलो चरणमा २१ हजार, दोस्रो चरणमा ३ लाख र तेस्रो चरणमा ९ लाख गरी जम्मा १२ लाखलाई स्वदेश फर्काउनुपर्ने अवस्था देखिएको समेत मन्त्रालयले जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले विदेशबाट आउने नेपालीहरुलाई क्वारेन्टाईनमा राख्नको लागि विभिन्न स्थानको निरीक्षण सुरु  गरिरहेको बताएका छन्।

यो पनि हेर्नुहोस्- विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापन् यसरी हुन्छ- प्रमुख जिल्ला अधिकारी, काठमाडौं (भिडियो अन्तर्वार्ता)

निरीक्षण गरिएको स्थानमा भौतिक संरचना बनाएर विदेशमा रहेका नेपालीलाई फर्काउन सुरु गरिने बताईएको छ।

कोरोना संक्रमणको महामारीका कारण विदेशमा थुनिएको यति लामो समय भइसक्दासम्म सरकारले भर्खरै मात्र यसको प्रक्रियाको लागि निरीक्षण र तयारीको योजना बनाउन सुरु गरेको देख्दा रोग भोक र शोकले विदेशमा अलपत्र नेपालीको अधिकारलाई कुठाराघात गरेको देखिन्छ।

प्रकाशित मिति: : 2020-05-24 17:00:00

प्रतिकृया दिनुहोस्