गुल्मीका स्थानीय तहका प्रमुखहरु होम क्वारेन्टाइनमा

गाउँपालिका अध्यक्षमा कोरोना भाइरसको संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख/अध्यक्ष र तिनका चालक होम क्‍वारेन्टाइनमा बसेका छन्। 

प्रदेश प्रयोगशाला भैरहवामा सोमबार भएको परीक्षणमा धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना पोजिटिभ देखिएको थियो। उनको तम्घासस्थित आइसोलेसनमा उपचार भइरहेको छ। उनी सञ्‍चार माध्यममा सार्वजनिक भएर आफू छिट्टै कोरोना जितेर सामाजिक काममा पुनः सक्रिय हुने बताएका छन्। उनले आफ्नो  स्वास्थ्य अवस्था सामान्य नै रहेको बताए।

‘म सामान्य नै छ, कुनै अप्ठ्यारो र लक्षण महसुस भएको छैन्,’ उनले भने। 

उनीसहित गुल्मीका १२ वटै स्थानीय तहका प्रमुखहरु आइतबार समन्वय समितिले आहृवान गरेको बैठकमा सहभागी भएका थिए। समन्वय समितिले भारतबाट गाउँ फर्किएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो।

बैठकमा दुई गाउँपालिकाबाट उपप्रमुख र १० स्थानीय तहबाट प्रमुख नै सहभागी थिए। 

समन्वय समिति प्रमुख लक्षमण पराजुलीले होम क्वारेन्टाइनमै बस्न सबै जनप्रतिनिधिलाई आग्रह गरिएको बताए। स्थानीय प्रशासनले सोमबार नै ४४ जनाको स्वाब संकलन गरेको उनले बताए।

‘चालकपनि आफ्नै होम क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने, ‘केहीको पीसीआरका लागि स्वाब संकलन गरेका छौं, रिर्पोट नआउँदासम्म सुरक्षित रुपमै घरमै बस्ने भन्ने छ।’ 

त्यस्तै संक्रमित देखिएका धुर्कोट गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ।
 

प्रकाशित मिति: : 2020-05-26 15:58:22

प्रतिकृया दिनुहोस्