अमेरिकाका नेपाली सामाजिक संघ-संस्थाको 'परोपकारी चरित्र'माथि प्रश्नचिन्ह

अमेरिकाका नेपाली सामाजिक संघ-संस्थाको 'परोपकारी चरित्र'माथि प्रश्नचिन्ह

हाम्रो कर्मभूमि अमेरिका कोरोना कहरबाट बिस्तारै तंग्रिदै गर्दा हाम्रो जन्मभूमि नेपालमा भने कोरोना प्रकोप बढ्न थालेको संकेत मिलेको छ। कोरोनाले मान्छे धेरै अमेरिकामा मरे पनि खासगरी गरीवले खान नपाउने समस्या नेपालमा बढी हुनेवाला छ। यहाँ त सरकारले पनि मान्छेको ज्यानभन्दा इकोनोमी (पैसो)लाई प्राथमिकता दिएको छ। तर, नेपालको अवस्था भिन्न छ। सरकारले इकोनोमीभन्दा मान्छेको ज्यानलाई बढी महत्व दिएको छ। बन्दाबन्दी गरेरै भए पनि मृत्युको संख्या दोहोरो अंकमा पुग्न दिएको छैन। यसका लागि सरकार धन्यवादको पात्र छ।

नेपालमा मान्छे भोकभोक पर्दा हामी अमेरिकामा कसरी चैनको निन्द्रा सुत्न सक्छौं र ? त्यसैले फेरि एकपटक अमेरिकामा रहेका नेपालीले मन फुकाएर सहयोग गर्ने बेला आएको छ। यहाँका करिव चारलाख नेपालीले ५ डलरको दरले सहयोग गरे पनि २४ करोड रूपैया हुन्छ। केही दु:ख पाएका नेपालीलाई छाडेर आफ्नो गच्छेअनुसार सहयोग गर्ने हो भने करोड-अर्ब हैन, खर्बमा पैसा संकलन हुन सक्छ। यत्ति पनि नगर्ने या गर्न अघि नसर्ने संस्थालाई सामाजिक संस्था र ती संस्थामा आवद्ध अगुवाहरूलाई सामाजिक अभियन्ता भन्नु बेकार छ। यहाँ बसेर मुख्य काम त यहाँको संस्थाको प्राथमिक दायित्व त यहींको समुदायका लागि गर्ने हो। तर, यस्तो विसम परिस्थितिमा आफ्नो मातृभूमिलाई बेवास्ता गर्ने तर फेरी पनि नेपालकै समाचार हेर्ने, नेपालकै गफ गरिरहने र दोष जति नेपालको सरकार, नेता र पार्टीलाई लगाएर मात्र आफ्नो कर्तब्य पूरा होला र? अहिलेसम्म यो काममा अग्रसरता त्यति नदेखिएकोले नैं म यति लेख्न र झक्झक्याउन बाध्य भएको हुँ।

सहयोग गर्नुपर्ने मुख्य कारण

नेपाल अझैपनि आर्थिक रूपमा गरीव छ र राजनीतिक रूपमा संक्रमणकालबाट बाहिर निस्कन सकेको छैन। यही बेला विश्वभर महामारीका रूपमा फैलिएको कोरोना कहरबाट नेपाल पनि आक्रान्त छ। यो महामारीले विश्वका मैं हुँ भन्ने देशको त हुर्मत लिइरहेको अबस्थामा नेपाल 'विचरा' नबन्ने कुरै भएन। यस्तो अवस्थामा सरकारले गर्ने कुरा त आफ्नो ठाउँमा छदैंछ, जहाँ रहेबसेका भए पनि सक्षम नेपालीले मन खोलेर सहयोग गर्नुपर्ने अवस्था पनि सिर्जना भएको छ। 

भारतसँगको खुल्ला सीमाबाट बिजोगसँग हिंडेर नेपाल भित्रिरहेको ठुलो जनसमुदाय पानी, खाना र औषधीजस्ता अआधारभूत कुराको अभाव भोगिरहेको छ। त्यसैको अभावमा कति मानिस क्वारेन्टाइनबाट भागिरहेको खबर बाहिर आएको छ। लामो समयको बन्दाबन्दीले गर्दा दिनैं कमाएर खानुपर्ने समुदायको बिजोग भैरहेको छ जसलाई अलिअलि प्राप्त भएको सरकार तथा निजी क्षेत्रको सहयोगले धान्नेवाला छैन। खाडी राष्ट्रतिर बेरोजगार भएका र नेपाल फर्किन चाहिरहेकालाई नेपाल ल्याउनैंपर्ने र यी सबका लागि क्वारेन्टिनमा राख्ने र त्यसपछि रोजगारीको व्यवस्थापन गर्ने कुरा सरकार एक्लैको बुताबाहिरको कुरा जस्तो देखिएको छ। भोको पेटले लामो सरकारी प्रक्रिया कुरिरहन सम्भव नहुने भएकोले पनि हाम्रो सहयोग तत्कालका लागि राहत हुन सक्छ। जन्मभूमिमा यस्तो प्रतिकुल अवस्था सिर्जना हुँदा पनि केही गर्न नसकिने हो भने हामीले आफूलाई नेपाली भनेर गौरव नगरे पनि हुन्छ। एकपटकको नेपाली सधैंको नेपाली भन्नुको कुनै अर्थ छैन।  

यो भावनाको कुरा भयो तर वास्तविकतामा सहयोग उठाउने कुरा अमेरिकामा काउसो जस्तो हुन थालेको छ। सहयोग उठाउने नाममा बिगतमा भएका अपचलन घटनाले मान्छेको सातो गएको छ। तर, यसो भन्दैमा यो बहानामा आफ्नो दायित्वबाट भाग्न मिल्छ र? कमजोरीबाट सिक्ने र सच्याउने पनि त हाम्रै दायित्व हो । त्यसका लागि आइन्दा कुनैं पनि सहयोग उठाउने काम जिम्मेवार र विश्वासिला संगठनबाट मात्रै होस्। मेला लागेका बेला पसल खोलेजस्तो र च्याउ उम्रेजस्तो पैसा उठाउन व्यक्ति र नक्कली संघ-संस्था खडा गरी अस्थायी सक्रियता देखाउने पुरानो चलनलाई निरुत्साहित गरिनु पर्छ र उठाइएको रकम सबैभन्दा विश्वासिलो माध्यमबाट पीडितसम्म पुर्याउने प्रक्रियासम्मत निर्णय र पारदर्शिता अवलम्वन् हुनुपर्छ।

कोही बिरामी हुँदा या मर्दापर्दा गोमफण्डमी खोल्ने आमचलन छ। तर, हरेक दिनजसो केही न केही प्रयोजनका लागि खोलिरहने यो पनि एक किसिमको 'अरूचिकर' प्लेटफर्म हुँदैगएको छ।तर, पनि तत्कालका लागि गर्जो टार्ने सजिलो उपाय यही भएको छ। यसको पनि सही सदुपयोग हुन सकेको छैन। खासै आवश्यक नपर्नेको ठूलो घेरा हुने भएकाले उनीहरूका लागि धेरै उठ्ने गरेको छ भने खास चाहिनेको चाँहि घेरा सानो हुने भएकाले पाँच दश हजार उठाउन नि धौधौ परेको देखिन्छ। यसको समाधान खोज्नु जरुरी।

पहिलो त, यसरी सहयोग उठाउनेभन्दा पनि स्वास्थ्य विमा र जीवन विमा गर्न प्रेरित गर्नुपर्छ। दोस्रो, सहयोग पटक-पटक र फरक-फरक उठाउनेभन्दा पनि एउटै परोपकारी कोषमा नियमित रुपमा सबैलाई सामेल गर्न सक्नेगरी ठुलो सहयोग राशी जम्मा गर्ने र निश्चित रकम चल्ती खातामा राखेर बाँकि ब्याज आउनेगरी लगानी गर्नुपर्छ। ताकि मान्छेको परिस्थिति हेरेर सहयोग गर्न कहिल्यै कमी नहोस् ।

अमेरिकामा रहेको नेपाली डायस्पोरामा मान्छे सहयोग गर्न अघि नसर्नुको कारणमा म अगुवा भनिनेहरुकै दोष देख्छु जसले अरुबाट सहयोग उठाएर जस भने एकलौटी लिए या सहयोग राशीमाथि र्याल चुहाएर पैसा हिनामिना गरे। हिसाव-किताव पारदर्शी रुपमा देखाउन चाहेनन् र संस्थाको भन्दा पनि आफ्नै स्वप्रचार बढी गरे। समाजसेवालाई ब्यापार बनाए। उनीहरूको यो दुष्कर्म सहयोग गर्न नचाहनेका लागि पनि सहयोग नगर्नाको राम्रो बहाना बन्यो। अब यो बिग्रिएको शाख फिर्ता ल्याउन मेहनत नगरी धरै छैन। यो सजिलो छैन तर असम्भव पनि छैन। यो गर्ने दायित्व पनि हाम्रै हो।


सहयोग किन गर्न चाहिरहेका छैनन्?

अमेरिकामा रहेको नेपाली डायस्पोरा सहयोग लिन मात्रै खोज्ने तर दिन नखोज्ने, कमाउन खोज्ने तर खर्च गर्न नखोज्ने, अधिकार मात्रै खोज्ने तर दायित्व निर्वाह नगर्ने, आलोचना गर्ने तर आत्मालोचना नगर्ने जस्ता गलत प्रवृतिको शिकार हुँदैगएका छ। निस्वार्थी मान्छे मात्र समाजसेवी हो। आफ्नो नामको प्रचारको लोभमा मात्र सहयोग गरी टोपल्नेहरु ब्यापारी जस्तै हुन्। व्यापारको धर्म हुन्छ नाफा कमाउने तर पनि एउटा ब्यापारीले पनि ब्यापार सँगसँगै धार्मिक, मानवीय र पुण्य कर्म गर्नुपर्छ र यो वा त्यो नाममा गरिरहेकै पनि हुन्छ। हाम्रो असली संस्कार दान गर्ने हो। जे कमाइ हुन्छ, या आफ्नो भागमा पर्छ, आफुले उपभोग गर्नुअघि अलिकता औसानी हाल्ने या गरीव-दु:खीलाई दान गर्ने र लोभी र असन्तोषी नभई जे पाइयो त्यसप्रति अनुग्रहित हुने हाम्रो पुरानो संस्कारमा गम्भीर अपचलन आएको छ। जसरी हामी एकोहोरो श्वास मात्रै लिदैनौं, लिएपछि फ्याल्छौं पनि त्यसैगरी यो पृथ्वीमा हामी बोझ बन्न मात्रै आएका हैनौं, समाजप्रतिको केही दायित्व निर्वाह गरेर आफ्नो जीवनलाई धन्य बनाउन पनि आएका हौं। यो सत्यलाई आत्मासात गर्दै त्यसका बारेमा सचेतना जगाउनु र आफू नै उदाहरण बनेर अघि बढ्नु समाजका हरेक सचेत अगुवाको कर्तव्य हुन आउँछ। यही कर्म गर्ने मान्छे नै वास्तवमा सामाजिक अभियन्ता कहलिन्छ।

मान्छे सहयोग गर्न अघि नसर्नुको दोस्रो कारणमा म अगुवा भनिनेहरुकै दोष देख्छु जसले अरुबाट सहयोग उठाएर जस भने एकलौटी लिए या सहयोग राशीमाथि र्याल चुहाएर पैसा हिनामिना गरे। हिसाव-किताव पारदर्शी रुपमा देखाउन चाहेनन् र संस्थाको भन्दा पनि आफ्नै स्वप्रचार बढी गरे। समाजसेवालाई ब्यापार बनाए। उनीहरूको यो दुष्कर्म सहयोग गर्न नचाहनेका लागि पनि सहयोग नगर्नाको राम्रो बहाना बनेको छ अहिले। अब यो बिग्रिएको शाख फिर्ता ल्याउन मेहनत नगरी धरै छैन। यो सजिलो छैन तर असम्भव पनि छैन। यो गर्ने दायित्व पनि हाम्रै हो।

प्रकाशित मिति: May 29, 2020 09:20:37

प्रतिक्रिया दिनुहोस