आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?

अनलाइनखबर

काठमाडौँ

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँग रमाइरहेका छन् । आमाबुवाले पनि बालबच्चाका लागि पर्याप्त समय दिन पाएका छन् । अहिलेको अवस्थामा यसलाई राम्रो मौका यसकारण मान्नुपर्ने हुन्छ कि, धेरैजसो अभिभावकले बालबच्चाका लागि समय दिन सकिरहेका थिएनन् । दम्पती नै कामकाजी भएको अवस्थामा उनीहरुसँग बालबच्चाका लागि समय दिनै मुस्किल थियो । तर, लकडाउनयता बालबच्चा र अभिभावक एकसाथ बस्न पाएका छन् ।

यद्यपि बालबच्चासँग कति समय बिताइयो भन्ने कुराले त्यती अर्थ राख्दैन, जति कस्तो समय बिताइयो भन्ने कुराले राख्छ । बालबच्चासँग लामो समय विताउँदैमा त्यसलाई महत्वपूर्ण मान्न सकिदैन । बरु, अभिभावकले आफ्ना बालबच्चासँग कसरी समय बिताए भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

त्यसो त यतिबेला बालबच्चाले आफ्ना आमाबुवासँग रहेर पनि धेरै कुरा सिकिरहेका छन् । आमाबुवाको काम, व्यवहार, बोली आदि सबै कुरालाई बालबच्चाले अनुसरण गरिरहेका हुन्छन् । यस्तो अवस्थामा अभिभावकले ख्याल राख्नुपर्ने कुरा चाहि के हो भने, उनीहरुले यदि खराब व्यवहर गरिरहेका छन् भने त्यसको प्रत्यक्ष असर बालबच्चामा पर्छ । जस्तो कि दम्पतीबीच रुखो बोलीबचन, झगडा, मनमुटाव आदिको असर बालबच्चामा पर्छ । आमाबुवाले के बोल्छन्, कसरी बोल्छन्, के गर्छन् भन्ने कुरा बालबच्चाले नियालिरहेका हुन्छन् । त्यसैले बालबच्चासँग मात्र होइन, घरका अरु सदस्यसँग पनि आमाबुवाले सन्तुलित व्यवहार गर्न आवश्यक छ ।

बालबच्चालाई उचित संस्कार सिकाउन, राम्रो बानी व्यवहारमा अभ्यस्त गराउनका लागि दम्पतीले पनि आपसमा त्यस्तै व्यवहार गर्न आवश्यक छ ।

प्रकाशित मिति: : 2020-05-29 15:22:45

प्रतिकृया दिनुहोस्