अंगुरबाबा जोशीलाई डाक्टर म्याडम क्यूरी जस्तै रिसर्च गरेर वैज्ञानिक बन्ने इच्छा थियो

अंगुरबाबाका मिडियामा नआएका केही सन्दर्भ भिडियो सहित

देवकी विष्ट

काठमाडौं

अंगुरबाबा जोशी, शिक्षा र समाजसेवा क्षेत्रमा कीर्तिमानी महिला हुन्। सानैदेखि मानवीय मूल्य मान्यताका साथै सत्य, निष्ठा, शत्व्यवहार, चारित्रिक शुद्धता र आध्यात्मिक चेतनालगायतका कुरा बुझ्ने महिला थिइन् अंगुरबाबा।

नेपालको पहिलो महिला क्याम्पस प्रमुख, विदेशमा पढ्न जाने पहिलो नेपाली महिला, बिएल गर्ने पहिलो नेपाली महिला पनि उनै अंगुरबाबा जोशी हुन्।

अंगुरबाबा जोशीलाई आज भन्दा करीव ५ वर्ष अघि भेटेकी थिएँ। उनको मुहारमा चमक उत्तिकै तेजिलो थियो। उनको एक-एक शव्दमा दम थियो। पद्याकन्या क्याम्पसकी संस्थापकसमेत रहेकी अंगुरबाबाले १८ वर्षसम्म क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन्।

वि.स. २०१९ सालमा राजा महेन्द्रले गठन गरेको चार सदस्यीय  संविधान मस्यौदा समितिमा उनी एक मात्र महिला सदस्य थिइन्। महिला संगठनको काठमाडौं सभापति बनेर ९ वर्षसम्म काम गरेकी उनी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन्। उनले बेलायतबाट उच्च शिक्षा हाशिल गरेर स्वदेश फर्किएकी हुन्।

काठमाडौं डिल्लीबजारको पन्त परिवारमा जन्मिएकी अंगुरबाबाको विवाह डिठ्ठा चन्द्रकान्त जोशीका नाति १२ वर्षिय बलराम जोशीसँग भयो। तत्कालिन परम्परा अनुसार उनको रजश्वला नहुँदै विहे भएको थियो।

अंगुरबाबा जीवनभर स्कुल गइनन्। उनले घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरिन्। सन् १९४८ मा श्रीमान–श्रीमतीले सँगै एसएलसी दिए। उनी सम्झिन्छिन्, ‘त्यसबेला हामी जम्मा चार जना महिला थियौँ एसएलसी दिने। साहना प्रधान, साधना प्रधान, भुवनराज्यलक्ष्मी राणा र म।’ श्रीमान बोर्डमा परे, उनी दोस्रो श्रेणीमा पास भइन्। एसएलसी पास श्रीमान–श्रीमतीको सपना र उद्देश्य एउटै बन्यो– विज्ञान जगत्मा तहल्का मच्चाएका वैज्ञानिक जोडी म्याडम क्युरी र पियरे क्युरी बन्ने। दुवै विज्ञान पढ्ने सल्लाहअनुरूप त्रिचन्द्र क्याम्पसमा भर्ना हुन गइन्। तर, श्रीमानले भर्ना पाए, उनले पाइनन्। उनले अनुनय गरिन्– मलाई प्राक्टिकल मात्रै गर्न देऊ, थ्योरी घरमै पढ्छु। तर, क्याम्पसले फर्म नै बुझेन। उनी भन्छिन्, ‘त्यसपछि मेरो जीवनको कोर्स नै परिवर्तन भयो।’

उनले अर्को सपना देख्न थालिन्। प्राइभेट पढेर सरस्वती सदनमा आईएको परीक्षा दिइन्। एक महिनाअगाडि सुत्केरी भए पनि त्यसको पर्वाह नगरी परीक्षामा सामेल भइन्। परीक्षाहलमा एक पुरूष र महिला गार्डसँगै उनी एक मात्र परीक्षार्थी थिइन्। न कलेज न स्कुल देखेकी उनले आईए पास गरिन्। त्यतिञ्जेल श्रीमानले पनि आईएस्सी सके। पढाइमा अब्बल श्रीमान भारतको बनारस हिन्दु विश्वविद्यालय पढ्न जाने भए। उनी पनि श्रीमानसँगै गइन्। राजनीतिशास्त्र र संस्कृत विषय लिएर बीएमा भर्ना भइन्। बीए पढ्दै गर्दा गर्भवती बनिन्। नेपाल आएर छोरी जन्माइन्। ६ महिनाको छोरो सासूको जिम्मा लगाएर पढ्न गएकी बुहारी फेरि दुई महिनाकी छोरी पनि सासूलाई छाडेर पढाइलाई निरन्तरता दिन बनारस गइन्। एमए पढ्ने बेलामा उनी ‘को एडुकेसन’मा गइन्। उनका लागि यो अर्को अप्ठ्यारो अवस्था थियो। आफ्नो श्रीमानबाहेक अरू लोग्नेमान्छेको अनुहार हेर्न हुन्न भन्ने सिकेकी उनलाई त्यो समय निकै कठिन थियो। भुइँमा हेरेर कक्षामा छिर्ने, महिलाका लागि छुट्याइएको अघिल्लो बेन्चमा बस्ने, अनि पढाइ सकेपछि पछाडि नफर्की घर फर्कने। कतिसम्म भने त्यही कक्षामा चार जना नेपाली पुरुष पनि पढ्ने रहेछन् भन्ने उनले धेरै वर्षपछि पद्मकन्या कलेजमा भेट हुँदा थाहा पाइन्। उनी हल्का हाँसो ल्याउँदै भन्छिन्, ‘यो बानी मेरो अहिले पनि गएको छैन। बाटोमा हिँड्दा अंगुरबाबा बोलिन भनेर चित्त नदुखाउनु। म कि भुइँमा हेर्छु कि धेरै टाढा हेर्छु।’

पढाइ सकेर फर्केपछि पद्मकन्या कलेजमा पढाउन थालिन्। सन् १९५४ मा एमए पास गरेकी उनले काठमाडौंमा पढाउँदै गर्दा बीएल पनि गरिन्। त्यतिबेला ब्रिटिस सरकारको कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति खुल्यो। शिक्षा मन्त्रालयले श्रीमानको फर्म बुझ्यो, तर उनको रोकिदियो। राजा महेन्द्रको अगाडि पुग्ने अवसरको उपयोग गर्दै राजालाई बिन्ती गरिन्। भोलिपल्ट उनको फर्म मन्त्रालयले बुझ्यो। फेरि अढाइ वर्षकी कान्छी छोरीलाई सासूको साथ छाडेर उनी श्रीमानसँग बेलायतको प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीअन्तर्गतको समरभिल कलेज पढ्न गइन्। श्रीमान अर्कै ठाउँमा विद्यावारिधि गर्न थाले। सुरुमा निकै ‘होमसिक’ को सामना गरे पनि श्रीमान र परिवारको साथले लगातार चार वर्षको अध्ययन पूरा गरिन्।

बेलायतबाट फर्केपछि भने २०१९ मा पद्मकन्या कलेजमा प्रिन्सिपल भइन्। १८ वर्ष कलेजमा सेवा गरेकी अंगुरबाबा १२ वर्ष प्रिन्सिपल रहिन्। उनले काठमाडौंका विद्यार्थीलाई भन्दा ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइन् उनले। काठमाडौंमा दोस्रो श्रेणीमा उत्तीर्ण हुनेभन्दा ग्रामीण भेगबाट तेस्रो श्रेणीमा उत्तीर्ण गरेकालाई कलेज भर्नामा प्राथमिकता दिएको उनी बताउँछिन्। आफूले विज्ञान विषय पढ्न नपाएको तिर्सना उनले पद्मकन्यामा विज्ञान विषय राखेर पूरा गरिन्।

वि स २०५२ सालमा श्रीमानको मुल्युपछि आफूलाई समाल्न निकै गाह्रो भयो। उनका श्रीमान, श्रीमान मात्र थिएनन्। बाल्यकालदेखिका राम्रो साथीसमेत थिए। तीन महिना अंगुबाबालाई बाल्यकालदेखिको साथीको मृत्युले विछिप्त बनाएपछि गुरूको शरणमा पुगिन्। ‘अध्यात्ममा छिरेपछि अली सहज भयो जीवन जिउन,’ उनले भनेकी थिइन्।

जन्मँदै रोग लिएर जन्मिएकी अंगुरबाबाले दुईपटक क्यान्सरजस्तो खतरनाक मानिएको रोगलाई जितिन्। घाँटीमा लागेको क्यान्सर काटेर फाल्दा अनुहार बाङ्गियो, तर सकारात्मक सोच र आध्यात्मिक चिन्तनले उनको मन सीधा भयो। पहिले–पहिले आउने नकारात्मक सोच अहिले आउन छाडे। जीवन झनै सुन्दर लाग्न थालेको छ। यसमा पनि केही खड्किएको खुसी भने एउटै छ, श्रीमानले यो सौन्दर्य देख्नुपरेन। श्रीमान भइदिएको भए के सोच्दा होलान्, उनलाई अहिले यस्तो लाग्छ।

जस्तोसुकै बाधा व्यवधान र समस्या आइपरे पनि अंगुरबाबाले जीवनसँग कहिले हार खाईनन्। मानसिक रूपले होस् वा शारीरिक पीडासँग संघर्ष गरिरहीन्। शरीरमा निको नहुने अनेकन थरीका रोग हुँदा पनि उनको सकारात्मक सोच र क्रियाकलापले जिवीत राखिरह्यो।

क्यान्सरलाई प्राणघातक रोग मानिने समाजमा उनी यसलाई बरदान मान्छिन्, त्यसैले क्यान्सर रोगीमा हुने मानसिक समस्या हटाउन उनले प्रेरणादायी पुस्तक लेखेर समाजलाई दिइन्– ‘क्यान्सर : बरदान।’ त्यसो त उनको पाठेघरको अप्रेसन भइसकेको थियो। उनी जहिल्यै भन्ने गर्थिन्, ‘कसैसँग रिसराग छैन। जीवनमा पछुताउने र माफी माग्नुपर्ने केही गल्ती गरेकी छैन।’

महात्मा गान्धी ‘आइडियल’ मानेर हुर्किएकी उनी खप्तड बाबाकी भक्त हुन्। क्यान्सरको बिरामी भएर भारतमा उपचार गराउँदा खप्तड बाबाको अङ्ग्रेजी किताब नेपालीमा उल्था गरेर सकिन्।

सानैदेखि समाजसेवामा होमिन उनलाई आफ्नै बुबाको प्रेरणा थियो। जोशीलाई तत्कालीन रानी ऐश्वर्यलेसमेत खुब मान्ने गर्थिन्।

१० वर्षअघि अंगुरबाबा जोशीले चितवनको देवघाटमा गार्गी कन्या गुरूकुल खोलेर दलित छोरीहरूलाई हात हल्लाएर वेद पढ्ने बनाइन्।

समाजमा व्याप्त जातीय विभेद चिर्न ठूलो पहल गरेकी उनले संस्था सञ्चालानार्थ निकै मेहनत गर्नुपर्‍यो।

गिरिजा प्रसाद कोइराला प्रधनमन्त्री हुँदा होस् वा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनले ल्याएको हायात रिजेन्सीको तारा गाँउको योजना कहिले तुहिन दिएनन्। 

अंगुरबाबा जोशी योग, ध्यानदेखि मनोरञ्जनमा पनि खुव रूचि राख्थिन्। उनी भारतीय कर्लसमा च्यानलमा आउने  बालिकाबधु खुव हेर्ने गर्थीन्। ‘आफ्नो विवाह पनि बाल्यकालमै भएकोले आफूलाई यो सिरियलमा देख्ने गरेको उनले संवादमा बताएकी थिइन्।

वृद्धावस्थालाई बोझ मान्नेहरूको अगाडि उनी उदाहरणीय छिन्। आफ्नो उमेरकालाई समर्पण गर्दै ‘वृद्धा अवस्था: जीवनको श्रीपेच’ पुस्तक लेखेकी छिन्। करीब ९० को वसन्तमासमेत लेखनमा उत्तिकै सक्रिय उनी जीवनको अन्तिम क्षणमा पनि एक झोला औषधि राखेर कलम चलाइरहेकी हुन्थिन्। जीवनको उतरार्धमा उनलाई मुलुकको प्रतिष्ठित पुरस्कार जगदम्बाश्री समर्पण गरिएको थियो।

आज यिनै अंगुरबाबा जोशीको विस २०७७ साल असार ६ गते ८९ वर्षको उमेरमा काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो। तीन सातादेखि न्यूरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो।

करिब दुई दशकअघि घाँटीमा क्यान्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उनको अनुहार बांगिएको थियो। त्यसपछि उनलाई स्तन क्यान्सरसमेत भयो।

हार्दिक श्रद्धाञ्जली शिक्षा र समाजसेवाकी प्रतिमूर्ति अंगुरबाबा जोशी।

प्रकाशित मिति: : 2020-06-21 09:18:35

प्रतिकृया दिनुहोस्