८ रोपनी जग्गा भाडामा लिएर हाँस पाल्दै आएकी पुष्पाले भनिन्- बिक्री नभएपछि खाल्डोमा पुर्ने गरेकी छु

लकडाउन असरः

कुनै समय खाना खाने फुर्सद नपाउने चालिस वर्षिया पुष्पा राई आजकल फुर्सदिली भएकी छन्।

बिगत दुई वर्षदेखि हाँस पालनमा व्यस्त राई पछिल्लो तीन महीनादेखि फुर्सदमा छन्। अर्काको ८ रोपनी जागा भाडामा लिएर व्यवसायीक हाँस पालन सुरू गरेकी राई गत चैत ११ गते सरकारले गरेको लकडाउनपछि काम बिहिन भएकी हुन्।

लक डाउनका कारण आफू फुर्सदिलो हुनुका साथै व्यवसायमासमेत घाटा लागेको उनले बिएल नेपाली सेवासँग गुनासो पोखिन्। ‘लकडाउन हुनुभन्दा पहिले हाँस किन्नेको कमी थिएन’, उनले विगत स्मरण गर्दै भनिन्, 'हुर्किएका हाँस पनि आजकल बिक्री हुन्न। सात सय पालेको हाँसमा अहिले तीन सय वटा मात्र छ। त्यै पनि लकडाउनले गर्दा बिक्रि हुन सकेका छैनन्।’

वार्षिक १ लाख ६० हजार भाडा तिर्ने गरी ८ रोपनी क्षेत्रफलमा व्यवसायीक हाँस पालन गरेकी उनले अब भाडा कसरी तिर्ने भनेर सकस भएको बताइन्।

‘विगतका दिनहरुमा उक्त जग्गाको भाडा १ लाख ६० हजार तिर्न मलाई केहफ अफ्ठेरो हुँदैन थियो। अहिले भने ऋण खोजेर तिर्नपर्ने अवस्था आएको छ,’ उनले भनिन्।

अहिले तयारी अवास्थामा रहेका हाँस समेत बिक्री नभएको भन्दै दाना किन्नै मुश्किल भएको गुनासो गरिन्।

‘हाँसलाई फिटको दाना किन्नका लागि नै महिनामा १०/१५ हजारसम्म खर्च हुन्छ, उनले भनिन्।

करीब ५ महिनामा हाँस खानयोग्य हुन्छन्। 'एउटा हाँस साढे २ केजीसम्मको हुन्छ। जसलाई उनी एक हजार रूपैयाँमा बिक्री गर्ने गरेकी छन्। उनी आफूले पालेका हाँसमध्ये भाले हाँस मात्रै बेच्ने गरेकी छन्। पोथी हाँसबाट उनी अण्डा कोरल्छिन् र उक्त अन्डासमेत बेच्ने गरेकी छन्।

'हाँस बेचेर भन्दा पनि अण्डा बेचेर बढी नाफा हुने गरेको थियो। तर अहिले लकडाउनका कारण बिक्रि हुन् सकेन्,' उनले भनिन्, ‘एक क्रेट हाँसको अण्डा ८ सयसम्ममा बिक्री हुन्छ।’

उनले लामो समयको लकडाउनले गर्दा अण्डा बिक्रि नभभएपछि खाल्डो खनेर पुर्ने गरेको बताइन्।

'हामी चार जनाको परिवारलेसमेत खाई नसकेको अण्डा कुहिएर खाल्डोमा पुरिदिएँ। अरू कुनै विकल्प पनि थिएन,' पुष्पाले सुनाइन्।

आफूले हाँस बेचेर भन्दा पनि त्यसको अण्डा बेचेर बढी फाइदा लिने गरेको उनको भनाइ छ। 'हाँस पाल्नुको उद्धेश्य भनेकै अण्डा उत्पादन गर्नु हो। बढी फाइदा हुने भनेकै अण्डाबाट हो,' उनले भनिन्, 'हाँसबाट पनि ठिक्कै आम्दानी हुन्छ।'

हाँस पालेर बिक्रि गर्नु र अण्डा उत्पादन गर्न सहज नभएको उनले बताइन्। हाँसलाई सानैदेखि पाल्न मुश्किल रहेको बताउदैं पुष्पाले भनिन्, 'सानो हाँसहरुलाई कत्ति पटक त चिल र बिरालोले पनि खाएको छ। त्यसैले हाँस सानो हुँदा दिनैभरि त्यसको सुरक्षामा खटिरहनुपर्छ।'

उनले हाँससँगै माछा र कुखुरासमेत पालेकी छन्। जसबाट उनले केही मात्रामा फाइदा लिने गरेकी छन्। तर उनी माछा र कुखुरा भन्दा बढी ध्यान भने हाँसमा दिने गर्छिन्।

आफूलाई हाँस पाल्ने सोच भने छिमेकिका कारणले आएको उनले बताइन्। 'एउटा साथी हुनुहुन्थ्यो जसले सुँगुर पाल्नु भएको थियो,' विगत सम्झदै उनले भनिन्, 'त्यही देखेर मैले पनि हाँस पाल्ने निधो गरेँ।'

आफुले हाँस पाल्ने भनेर लिएको उक्त निर्णय फाइदाजनक साबित भएको उनको भनाइ छ।  'काममा खटेर मिहिनेत मात्रै गर्ने हो भने फाइदा अवश्य नै हुन्छ' उनले भनिन्, 'आफूले गरेको काममा कहिल्यै हरेश खान हुँदैन्।'

अहिलेसम्म कुनै व्यवसाय गर्दा हार नमानेकी उनी लकडाउनका कारण विरक्तिएकी छिन्। लकडाउन कहिले पुरापुरीसंग खुल्छ भन्ने सोचमा रहेकी उनी भन्छिन्, 'लकडाउन खुले लगतै एउटा रेस्टुरेन्ट खोल्ने सोचमा छु। हेरौं अब के हुन्छ। आफुले जस्तो सोचेको हुने होकी होइन।' रेस्टुरेन्ट खोलेर त्यसलाई नै निरन्तर दिने जीवनको लक्ष्य रहेको पुष्पाले बताइन्।

प्रकाशित मिति: : 2020-06-26 15:09:00

प्रतिकृया दिनुहोस्