थानकोट नाकामा प्रति ब्यक्ति १५ सय असुलेर यात्रु भित्र्याउँदै प्रहरी

चीनबाट सुरू भएको कोरोना भाइरससँग अहिले सारा विश्व जुधिरहेको छ। अधिकांश मुलुक अहिले पनि लकडाउनमा छन्। नेपाल सरकारले चैत ११ गतेदेखि मुलुकमा कोरोना संक्रमण थप फैलन नदिने भन्दै लकडाउन गरेको छ।

१००दिनदेखि जारी लकडाउनले जनजीवन नै अस्तव्यस्त बनाएको छ। तर यो लकडाउनलाई बहाना बनाएर केही व्यवसायीले राम्रै कमाउने अवसर समेत पाएका छन्।

पछिल्लो समय लकडाउन केही खुकुलो भएसँगै राजधानी भित्रने र बाहिरिनेको संख्या एक्कासी बढेको छ। जसमध्ये अधिकांश पास बिहिन हुन्छन्। केहीले प्रक्रिया पुर्‍याएर पास बनाउँदासमेत प्रहरीको हप्कीदप्की खानुपर्छ। कतिपयलाई प्रहरीले जुन ठाउँबाट आएको हो त्यतै पठाइदिने गरेको छ। कतिपयलाई न त पास चाहिन्छ न त लकडाउनको पालना नै गर्नुपर्ने हुन्छ, केवल प्रहरीसँग गरिएको सेटिंङ नै काफी छ।

लकडाउनको मौका छोपी सवारी साधन चलाएर यातायात व्यवसायी र प्रहरीको मिलेमतोमा थानकोट, साँगालगायतका नाकाबाट सयौं यात्रुलाई राजधानी भित्र्याउनुका साथै बाहिर पठाउने गरिएको पाइएको छ। उपत्यका बाहिरबाट राजधानी भित्रन यतिबेला प्रहरीले राम्रै सहयोग गरिरहेको पाइन्छ।

श्रोतका अनुसार यसरी यात्रु भित्र्याउँदा न पास चाहिन्छ न सवारी साधनमा स्वास्थ्य सावधानी नै अपनाउनुपर्छ। असुरक्षित र पास बिनाकै भए पनि ती सवारी साधनले १५ सय रूपैयाँ प्रहरीलाई बुझाए निर्वाध रुपमा काठमाडौं भित्रन पाइरहेको बिएल नेपाली सेवाले फेला पारेको छ।

यद्यपी सरकारले काठमाडौं उपत्यकामा लकडाउलाई खुकुलो पारेर नाकामा कडाईका गरेको दाबी गर्दै आएको छ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयको पास लिएर अत्यावश्यक कामबाहेकलाई काठमाडौं भित्रन दिएको छैन। तर काठमाडौं भित्रने मुख्य नाका थानकोटमा प्रति ब्यक्ति १५ सय रूपैयाँ लिएर बिना पासका मान्छेलाईसमेत उपत्यका भित्रन दिएको प्रमाण बिएल नेपाली सेवाले फेला पारेको हो।

प्राप्त प्रमाण अनुसार गएको असार ४ गते रातको करीव ८ बजे प्रति ब्यक्ति १५ सयका दरले रकम लिएर केही युवालाई थानकोट प्रहरीले काठमाडौं भित्रिन दियो।

काठमाडौं भित्रन उनीहरूसँग सम्बन्धित जिल्ला प्रशासनको सिफारीस थिएन। ४ नम्बर प्रदेशबाट आएका उनीहरूबाट थानकोटका बिचौलीयामार्फत प्रहरीले जनही १५ सय रकम लिएर छाडेको थियो।

‘घरायसी अत्यावश्यक कामले हामी बिहान काठमाडौं बाहिर गएका थियौं, वडा कार्यालयको पत्र थियो, बिहान हामीलाई थानकोटमा कसैले रोकेन, बेलुका हामी बिहान गएको हौ, भनेर पत्र देखायौं तर प्रहरीले मानेन मोटरसाईकल साइट लगाएर केही घण्टा बस्यौं, त्यो बिचमा थानकोटमा टहरो पसल चलाउँदै आएका एक जना आएर १५ सय हो एक जनाको जाने हो?, भन्दै उनलै मिलाईदिए’, त्यसरी प्रहरीलाई रकम दिएका मध्ये एकले बिएल नेपाली सेवासँग भने।

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयको पास बिना काठमाडौं आउनेलाई नागढुंगा चेकपोष्ट छेउका पसलेले सेटिङ गरी जनही १५ सय रकम लिएर सहजै भित्रन दिने गरेका छन्।

बिना पासका सवारीलाई प्रहरीले भित्रन पाइँदैन  भन्दै फर्काउँछ। अनि त्यसरी रोकिएका सवारीमै पुगेर बिचौलीयाले सेटिङ गरेपछि फेरि प्रहरीले केही नभनी उनीहरूलाई भित्रन दिने गरेको ती ब्यक्तिले जानकारी दिए।

‘हामीसँगै करीव २० जना भन्दा बढीसँग पास छैन भन्दै रोखिएको थियो, पछि उनीहरु बिस्तारै बिस्तारै जान थाले। उनीहरू गएपछि हामीलाई एक जनाले जाने हो भनेर सोध्न आए। १५ सयमै  भित्रने पाइने भए के भयो र भन्दै हामी आउन राजी भयौं’, उनले थपे।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले आफूलाई यो बिषयमा जानकारी नभएको बताए। उनले यस्तो मौकामा पैसा लिएर काठमाडौं भित्रन दिएको प्रमाणित भए कारबाही गर्ने बताए।

अहिले जिल्ला प्रशासन कार्यालयको पास प्राप्त गर्न सुरूमा आफू बस्ने वडा अथवा नगरपालिकाको अनुमति चाहिन्छ, अनि त्यो अनुमति पत्र कारण खुलाएर जिल्ला प्रशासनमा निवेदन दिनुपर्छ, त्यसपछि मात्र पास प्राप्त हुन्छ।

यो प्रक्रिया पुरा गर्दा काम बितिहाल्नेहरु पास बिनै आउने गर्छन्, र त्यसरी आएकाबाट प्रहरीले नाकाका ब्यापारीसँग मिलेर रकम असुल्दै आउने गरेका छन्।

अहिले नाकामा नेपाली प्रहरीदेखि राष्ट्रिय अनुसन्धानसम्म खटिएको छ, तर नाकामा यसरी रकम उठाएर मान्छे भित्रन दिनु कतिको उचित हो?

 

प्रकाशित मिति: : 2020-07-01 14:43:16

प्रतिकृया दिनुहोस्