मुगुमा कोरोना कोषको रकम रक्सी खाएर स्वाहा

मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले कोरोना कोषमा जम्मा भएको करिब १ करोड रकममा अधिकांश भाग रक्सी खाएर उडाएको आरोप लागेको छ।

स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको एक करोड बढि रकम हिनामिना गरेको भन्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयमा उजुरी पेस गरेपछि यो रहस्य खुलेको हो।

अध्यक्ष शाहीका अनुसार कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायाँनाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख तथा अन्य निकायको सहयोग गरि १ करोडभन्दा बढी रकम जम्मा भएको थियो।

गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढा र लेखापाल जिरबहादुर बुढाको मिलेमतोमा रकम हिनामिना भएकोले आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको अध्यक्ष शाहीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत र लेखापालले काम नै नभएको नक्कली योजना बनाएर वडा नं. ८ को तारापानी–नुवाकोट–रुम सडक खण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेस गरेको उनको भनाइ छ।

‘उक्त निर्माणका लागि गाउँपालिकाले आ.व ०७६/०७७ मा १५ लाख बजेट विनियोजन गरेको थियो,’ उनले भने, ‘उपप्रमुखले ४ लाख अग्रिम पेस्की लिनुभएको थियो। सोही रकम अनुसारको काम पनि नगरी बाँकी रहेको ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक जफत गरेको हुँ।’

त्यस्तै विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम प्रमुख प्रशासकीय अधिकृतले रक्सीमा खर्च गरेको उनको आरोप छ।

‘गाउँपालिकाको अर्डर स्लीपमा रक्सी मगाएको भेट्टाएँ। चम्चा, थाल र रक्सीमा रकम दुरुपयोग भएको छ,’ उनले भने।

 

प्रकाशित मिति: : 2020-07-06 18:25:10

प्रतिकृया दिनुहोस्