'यान्छी'ले गर्दा ठीक र 'क्वात्रा'ले गर्दा बेठीक-  यो कसरी हुन्छ? 

'यान्छी'ले गर्दा ठीक र 'क्वात्रा'ले गर्दा बेठीक-  यो कसरी हुन्छ? 

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो 'सत्ता' जोगाउन पछिल्लोपटक दुई महिलालाई 'त्रुपको पत्ती'का रूपमा प्रयोग गरिरहेको समाचार बाहिरिएको छ। पहिलो त्रुपको पत्ती हुन्, राष्ट्रपति विद्यादेवी भण्डारी, दोस्रो त्रुपको पत्ती नेपालका लागि चिनिया राजदूत हाउ यान्छी।

अहिले यी त्रुपका पत्ती शीतल निवासमा भेट भएर ओलीको सत्ता पल्टाएर अट्ठा जोकर हुन नदिन प्रयत्नरत् छन्। वास्तवमा यो भेट कूटनीतिक मर्यादा विपरित छ, चाल त कूटनीतिक मात्र संवैधानिक हिसाबले पनि गलत छ। 

तर, पनि यो भेटका बारेमा जति विरोधको स्वर सुनिनु पर्थ्यो, त्यति सुनिएको छैन। कारण प्रष्ट छ, नेपालमा कम्युनिष्टका नाममा खड्गप्रसादको सत्ता जोगिने भएकाले 'ओलीका अरिंगाल' बोल्ने कुरै भएन, यान्छीले माधव नेपाललाई पनि भेटेकाले 'नेपाल सेनामेना' को मुखमा बुजो लागहाल्यो। बोल्नुपर्ने प्रतिपक्षी कांग्रेसको हो, उसका नेता देउबालाई पनि ओलीले अर्थमन्त्री, गृहमन्त्रीलगायतका केही थान सिरू घाँस देखाइदिएका छन् क्यारे, उनको टोली पनि मौन छ। 

अर्को प्रतिपक्षी दल समाजवादी पार्टी नेपाललाई आफ्नो भारत समर्थक छवि जोगाउनै हैरान छ, यो कदमको विरोध गर्यो कि भारतसँग अरू प्रोक्सिमिटी देखिने भएकाले ऊ बोलेकै छैन। नेपालको नागरिक समाज त मौसमी छ। अहिले भारत विरोधी मौसम भएकाले उसले चीनको विरोध गर्दा भारत समर्थक देखिने डर हुन्छ। नेपालमा राष्ट्रियताको रोटी सेक्नेहरूको हालत पनि उही हो। यदि यही कुरा भारतीय राजदूतले गरेको भए अहिले यी राष्ट्रवादीहरूले धुवाँधार विरोध गरिसकेका हुने थिए।

ओलीको सत्ता जोगाउन यान्छीको यो पहिलो चलखेल हैन । यसअघि नेकपाको सचिवालय खड्को टार्न पनि यान्छीले ओलीका लागि योभन्दा चर्को चलखेल गरेकी थिइन्। चिनिया राष्ट्रपति र नेपालका राष्ट्रपतिबीच शीतलनिबासमा फोनवार्ता गराएर दोभाषेकै भूमिका निर्वाह गरेकी थिइन्। त्यतिबेला उनको यो चलखेलको केही विरोध भए पनि उनको कानमा खासै बतास लागेजस्तो देखिएन। अहिले फेरि उनले त्यही कदम दोहोर्याउनु त्यसैको दृष्टान्त हो। 

चिनिया राजदूतको हाउ यान्छीको गतिविधि कूटीनितिक मर्यादाविपरित त छ नै,  अर्को देशको आन्तरिक मामिलामा प्रवेश गरेको हुनाले भियना कन्भेन्सनविरूद्ध पनि छ। नेपालकै सन्दर्भमा पनि कुनै पनि राजदूतले भेटघाटलगायतका गतिविधि परराष्ट्र मन्त्रालयमार्फत् मात्र गर्न पाइन्छ। तर, नेपालमा रहेका शक्तिशाली राष्ट्रका राजदूतहरू नेपालको परराष्ट्र मन्त्रालयलाई अझै पनि मुन्सीखाना नै सम्झन्छन्। उनीहरूले मुन्सीखानामा सम्पर्क राखेर प्रधानमन्त्री, राष्ट्रपति र नेताहरूलाई भेटेको इतिहास छैन।

नेपालमा अहिले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कुर्सी जोगाउन राष्ट्रपति विद्या भण्डारी र चिनिया राजदूत हाउ यान्छीलाई त्रुपको पत्ताका रूपमा प्रयोग गरिएजस्तो देखिएको छ। 'मुन्सीखाना'लाई थाहै नदिई 'शीतल निबास' धाइरहेकी यान्छीको यो कार्य कूटनीतिक मर्यादा विपरित त छ नै; यसबाट भियना कन्भेन्सनका प्रावधानको पनि ठाडै उलंघन भएको छ। मुलुकमा भारतविरोधी राष्ट्रवाद सवार भएको बेला चिनिया यान्छीको हर्कत सबैका लागि रमिता भएको छ। तर, यही काम भारतीय राजदूत विनय मोहन क्वात्राले गरेको भए यतिबेला नेपालमा राष्ट्रवादको रन्को मच्चिसकेको हुने थियो। यो चलखेल क्वात्राले गरे पनि बेठीक हो, यान्छीले गरे पनि बेठीक हो। प्रश्न, व्यक्तिको हैन, पद्धतिको हो। 

अहिलेको नेपालको संविधानले राष्ट्रपतिलाई आलांकारिक राष्ट्रपति मात्र बनाएकाले विदेशी राजदूतले उनीसँग ओहोदाको प्रमाणपत्र बुझाउँदा र विदाइ हुँदा बाहेक अन्य बेला भेट्नु नै गलत हो। किनकि, संविधानत: नेपालको राष्ट्रपतिसँग विदेशी राजदूतको कुनै कार्यव्यापार नै हुदैन। 

नेकपाको सत्ताको खेलमा नेपालको राष्ट्रपति र चीनिया राजदूत परिचालित हुनु गलत कुरा हो। यो गलत कार्य आफ्ना फाइदाका लागि हुँदा ठीक हुन सक्दैन। आज यही कुरा ओलीको पक्ष र भारतको विपक्षमा हुँदा एकथरिलाई सही लागेको हुन सक्छ तर यही कुरा भारतको पक्ष र ओलीको विपक्षमा भएको भए अहिले नेपालमा 'स्युडो राष्ट्रवाद'को ताण्डव मच्चिसकेको हुन्थ्यो। 

यो परिस्थिति सिर्जना गर्ने प्रधानमन्त्री ओली हुन् । उनले आफ्नो सत्ता बचाउनका लागि के गरे भन्दा पनि के गरेनन् भन्ने अवस्था छ। पहिलो त भारतले आफूलाई हटाउने भयो भनेर भारतसँगको सम्बन्ध नै बिगारे, दोस्रो राष्ट्रपतिलाई नेकपाको पनि ओली गुटकै नेता जस्तो बनाए, तेस्रो नेपाली कांग्रेसलाई पनि सत्ता साझेदारीको निम्ता दिए, चौथो सभामुख,राष्ट्रियसभाका अध्यक्ष र सत्तारूढ पार्टीलाई समेत थाहा नदिइ रातारात संसदको अधिवेशन बन्द गराए, पाँचौं चिनिया राजदूतको चलखेल चलाए, छैठौं नेपाली सेनापतिसँग  वालुवाटारमा पटकपटक वार्ता गरे, सातोैं आफूमाथि सुरक्षा थ्रेट बढेको भनेर अर्को प्रायोजित हल्ला चलाए, आठौं राष्ट्रपतिविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको भनेर नयाँ फण्डा निकाले, आफ्ना कार्यकर्तालाई मध्यरातमा बालुवाटार बोलाएर देशभर प्रदर्शन गर्न उर्दी जारी गरे। त्योभन्दा पनि ठूलो उनले पार्टी पद्धतिमा पार्टीलाई त रौं बराबरको पनि भाउ दिएनन्, अर्का अध्यक्ष र शीर्ष नेतालाई त ढोढको लठ्ठी नै बनाए ।

के यसरी लोकतन्त्र, पार्टीपद्धति र राज्यसंयन्त्र बलियो हुन्छ। प्रश्न, व्यक्तिको हैन, पद्धतिको हो ।यो भष्मासुर शैलीले प्रकारान्तरमा ओलीकै त भलो गर्दैनन्, अरूको त कुरै छोडौं। अझ यही प्रकरणमा त अरेको पनि प्रश्न गर्न सकिन्छ- 'यान्छी'ले गर्दा ठीक र 'क्वात्रा'ले गर्दा बेठीक-  यो कसरी हुन्छ?  

(यो लेखकको निजी विचार हो, यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति निरपेक्ष छ : सम्पादक )

प्रकाशित मिति: Jul 07, 2020 05:17:35

प्रतिक्रिया दिनुहोस

सबै