बोतल उठाउने व्यक्तिको हुलियामा सुन पसलमा चाेरी, तीनजना पक्राउ

काठमाडौं उपत्यकामा सुनचाँदी पसलका सटर फोरेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। रातिको समयमा बोतल उठाउने व्यक्तिको हुलिया बनाई उपत्यकाका विभिन्न स्थानमा रहेका पसलबाट सुनचाँदी चोर्ने गरोहलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिए। 

पक्राउ पर्नेहरुमा उदयपुरका ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ, उदयपुरकै ४९ वर्षीय विक्रम भन्ने जंगबहादुर माझी र महोत्तरीका ४५ वर्षीय बुद्धबहादुर माझी रहेका छन्।

उनीहरुले लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्सबाट एक किलो १ सय ५० ग्रामबराबरको सुनका गरगहना, ८ किलो ५ सय ६० ग्रामबराबरको चाँदीका गहना तथा नगदसमेत गरी पचासी लाख पचासी हजार ६ सय ४२ रुपैयाँ बराबरको गहना चोरी गरेकाे महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

घटना अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई पक्राउ गरेको थिए। त्यस्तै सोही घटनामा फरार रहेका प्रतिवादीहरुमध्ये विक्रम भन्ने जंगबहादुर माझीलाई असार २२ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको मप्रहरी उपरीक्षक कार्कीले बताए।

त्यस्तै सोही घटनामा संलग्न रहेका तीन जनाको खोजी भइरहेको छ। चोरी गरेका सामान गिरोहका मुख्य नाइके भारतीय मूलका रहेको र उनले सबै सामान बिक्री गरेर फरार रहेको प्रहरी उपरीक्षक कार्कीले बताए। उनीहरुले पसलभित्र रहेको सीसीटीभीको डीभीआरसमेत लगेका थिए।

प्रकाशित मिति: : 2020-07-07 15:51:32

प्रतिकृया दिनुहोस्