कोरोनाले थलिएको ठमेल

शनि शाक्य

काठमाडौं

करीव तीन महीनापछि सरकारले लकडाउन केही खुकुलो बनाएको छ। कोरोना संक्रमित कम भएका क्षेत्रमा लकडाउनको मोडालिटी परिवर्तन गर्दै हिँड्डुल गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ। सरकारले लकडाउन खुकुलो गरेसँगै राजधानीमा झन्डै तीन महिना बन्द रहेका पसलहरु पनि खुल्न थालेका छन्। बजारमा चहलपहल पनि बढेको छ।

यद्यपि, काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेललाई भने यसले केहि असर पारेको छैन। संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ। जसको असर ठमेलमा देखिएको छ।
कुनै बेला मध्यरातसम्म चहलपहल हुने ठमेल अहिले चौबिसै घन्टा सुनसान बनेको छ। ठमेलका प्राय पसल, होटल र रेष्टुरेन्टहरु बन्द छन्। नगन्य पसलहरु मात्रै खोलिएको भएपनि कारोबार ठप्प छ। डिपार्टमेन्टल स्टोर तथा खाधान्न पसलहरु पहिला नै खोलिएको थियो।  बाँकी पसल त खोले पनि व्यापार छैन। पर्यटक अभावले यहाँको व्यवसाय अन्य क्षेत्रको जस्तो सहजै खुल्न सकेन।

त्यसो त लकडाउन सुरु हुनुअघि नै ठमेलको ब्यवसाय सुस्ताएको थियो। चीनको वुहानबाट कोरोना भाइरस संक्रमण फैलिएसँगै ठमेलमा सञ्चालित पसल र रेष्टुरेन्टहरु बन्द भए। खुलेकामा पनि कोरोना त्रासका कारण मानिसहरु गएनन्। अहिले लकडाउन खुकुलो भए पनि ठमेलमा चहलपहल बढाउन पर्यटक आउने सम्भावना छैन।

त्यसैले पनि ठमेल पहिला झैं पूर्ण रुपमा सञ्चालनमा आइहाल्ने अवस्था पनि नरहेको स्थानीय व्यापारीहरु बताउँछन्।
अहिले ब्यवसायीहरु पलायन हुनेक्रम बढ्दो छ। ठमेल पुरानै अवस्थामा फर्कन धेरै समय लाग्ने र त्यतिञ्जेल ब्यवसाय नै बन्द गरेर अन्यत्र लाग्नुपर्ने अवस्थामा व्यापारीहरू छन्।

भाडा महंगो भएकोले लकडाउन खुकुलो भएर अन्य स्थानको व्यवसाय सुचारु भए पनि ठमेल क्षेत्र चलायमान हुने छाँटकाट छैन। त्यहाँको अधिकांश व्यवसाय विदेशी पर्यटकमा नै निर्भर छ। व्यवसायीहरुले अबको एक डेढ वर्षसम्म विदेशी पर्यटक आउने सम्भावना नदेखेको बताउँछन्।

कतिपय व्यवसायी सटरको तालाचाबी बुझाउने क्रममा छन्। सटर खाली हुने क्रम सुरु भएको छ। 
ठमेल क्षेत्र कान्तिपथदेखि सोह्रखुट्टे, पकनाजोल, क्षेत्रपाटी, थःहिटी र ज्याठालगायतका स्थानसम्म फैलिएको छ। यस क्षेत्रमा १० हजार व्यवसायी छन्। त्यहाँ व्यवसाय गर्नेले १५ हजारदेखि २५ लाखसम्म मासिक भाडा तिर्छन्।

खर्बौंको लगानी रहेको ठमेल क्षेत्रमा सबैभन्दा धेरै पसलहरु नै छन्। त्यसपछि ट्राभल एजेन्सी, ट्रेकिङ्ग, रेष्टुरेन्ट, नाइट क्लब छन्। त्यस्तै, सामान्यदेखि पाँचतारेसम्मका होटलहरु पनि छन्। वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुरेन्टजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन्।
हेर्नुहोस् सिथिल ठमेल

प्रकाशित मिति: : 2020-07-09 14:08:29

प्रतिकृया दिनुहोस्