वर्षौंदेखि खेल मैदान बनेको पोखरी ब्युँतियो

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक निगुःपुखुः अर्थात् दुई पोखरीको पुनर्निर्माण गरेको छ। संरक्षण अभावमा वर्षौंदेखि खेल मैदानको रुपमा परिणत पोखरी ब्युँताएर नगरपालिकाले पानी मात्रै भरेनँ, आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ध्येय समेत अघि सारेको छ।

वडा नं. ४ मा सँगै दुई वटा पोखरी भएकाले पोखरीको नाम दुईपोखरी अर्थात् निगुःपुखः र टोलको नामसमेत दुईपोखरी राखिएको छ।

तर, पोखरीमा पानी नहुँदा त्यस टोलकै अस्तित्व मेटिएको भन्दै नगरपालिकाले ऐतिहासिक दुई पोखरीको पुनर्निर्माण थालेको हो। अहिले दुईमध्ये एउटा पोखरीको पुनर्निर्माण सकिएको छ भने अर्कोको थालनी भएको छ। पुनर्निर्माण पूरा भएको पोखरीको शनिबार भव्य सांस्कृतिक उत्सवसहित मेयर मदनसुन्दर श्रेष्ठले उद्घाटन गरे।

पहिलो चरणमा सानो पोखरी पुनर्निर्माण गरी नगरपालिकाले शनिबार  सांस्कृतिक मौलिक बाजागाजा सहित उद्घाटन गरेको हो। नगरपालिकाले उपभोक्ता समिति मार्फत चारैतिर इँटाको पर्खाल लगाई, कालीमाटी बिछ्याएर, इँटा छापेर पानी भरेको छ।

सुरूमा ६ इञ्च कालीमाटी, ३ इञ्च पाङ्गो माटो र पुनः ६ इञ्च कालीमाटी गरी १५ इञ्च माटो बिछ्याएपछि इँटा सोलिङ्ग गरेर पानी टिकाउने कार्य गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सानो पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले करीब डेढ करोड रुपैयाँ खर्च गरेको छ ।

दुई पोखरी अन्तर्गत ठूलो पोखरी संरक्षण तथा पुनर्निर्माणको काम समेत थालनी भएको छ। सो पोखरी संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा एक करोड २५ लाख रुपैयाँ र बागमती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। पोखरी संरक्षणका गर्न स्थानीय निरन्जन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति सक्रिय छ।

आकाशे पानी संकलन गरेर प्रशोधन गरेपछि मध्यपुरथिमि–४ स्थित ऐतिहासिक दुई पोखरीमा पानी भर्ने प्रस्ताव अनुरुप पुनर्निर्माण भएको हो। मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाले जनाएको छ ।

तीन वर्षमा दुबै पोखरी पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फलैचा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रको रुपमा दुई पोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए।

हाल पोखरी वरिपरी ६ वटा फलैचा  छ। करीव ३ सय वर्ष पहिले गंगा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिबासीलाई पानीको स्रोत दिएको भन्ने कथन छ। कुनै भवितव्य होस् अथवा सिँचाइ, जुनसुकै प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने चलन थियो। बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको संस्कृतिविद्हरू बताउँछन् ।

दुई पोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो। बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीचबाटोमै टुटेपछि पोखरीमा पानी सुकेको हो।

२०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको स्थानीय उत्तरकुमार श्रेष्ठले बताए। बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको छैन ।

गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि पोखरीमा मैदानमा परिणत भएको स्थानीय बताउँछन्। २०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन। जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिकशैली मै ठडिन थालेको छ ।

नगरपालिकाले दुई पोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शन स्थल निर्माण गर्ने लक्ष्य लिएको मध्यपुर थिमि–४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । इनायटोलदेखि दिगुभैरव मन्दिरसम्म पैदल मार्ग निर्माण गरी ठूला सवारी निषेध गर्ने समेत उनले बताए।

पुननिर्माण हुनुअघिको निगुपुखु 


पुननिर्माण  पछिको निगुपुखु 

प्रकाशित मिति: : 2020-07-12 11:30:06

प्रतिकृया दिनुहोस्