'पानी' जस्तै छ जिन्दगी यो 

हो
पानी जस्तै छ जिन्दगी यो
कहिले सङ्लो
कहिले धमिलो
कहिले नुनिलो
कहिले तातो
कहिलो चिसो
कहिले जहर जस्तो
कहिले अमृत जस्तो
कहिले बर्षन्छ
साउन बर्षे झैं
कहिले जम्दछ 
हिउँ जमे झैं
कहिले उड्छ
सिमलको भुवा झैं
कहिले बसिरहन्छ
बारीको कुवा झैं
कहिले बग्छ
गंगाको धारा झैं
कहिले झर्छ
पहाडको झरना झैं
कहिले मात्तिन्छ
सागरको सुनामी झैं
कहिले मौन हुन्छ
गम्भीर सागर झैं
हो
'पानी' जस्तै छ
जिन्दगी यो ।

हो
पानी जस्तै छ जिन्दगी यो
जुन पात्रमा खनायो
त्यस्तै रूप धर्ने
लोटामा खनायो
लोटा झैं हुने
अम्खरामा खनायो
अम्खरा झैं हुने
बाल्टिमा खनायो
बाल्टि झैं हुने
गिलासमा खनायो
गिलास झैं हुने
कचौरामा खनायो
कचौरा झैं हुने
ढोलमा खनायो
ढोल झैं हुने
बोतलमा खनायो
बोतल झैं हुने
अञ्जलीमा खनायो
अञ्जली झैं हुने
जुन भाँडामा खनायो
त्यही आकारको हुने
अँ, जिन्दगी पनि यस्तै छ
जुन आकारको 
संगत गर्यो, त्यस्तै हुने
हो
पानी जस्तै छ जिन्दगी यो
जता बगायो- उतै बग्ने ।।

प्रकाशित मिति: : 2020-07-18 20:21:29

प्रतिकृया दिनुहोस्