माधव ढुङ्गेल
‘तपाईंहरु गुटको बैठक त सधैँ बस्दै आउनुभएको छ । आज बालुवाटारमै पनि बस्नुहोला तर पार्टीको बैठक भनेर नभन्नुहोला । यसले अप्ठेरो पार्नसक्छ’, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलवार मध्यान्ह आफूलाई भेट्न आएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसो भनेका थिए ।
प्रधानमन्त्री ओली निवासमा थिए । स्थायी कमिटी सदस्यहरु चाहिँ कार्यालयतर्फको बैठक कक्षमा जम्मा भइरहेका थिए । प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि ओलीलाई बैठक बस्न भनेर बोलाउन पुगेका थिए, जतिबेला अध्यक्षसँगको परामर्शमा स्थायी कमिटी बैठक स्थगित भएको सूचना जारी गरेको लगभग एक घण्टा बितिसकेको थियो ।
अर्का वरिष्ठ नेता माधवकुमार नेपाल चाहिँ सदा स्थायी कमिटी बैठक बस्ने गरेको कक्षमै थिए । ओलीसँग चाहिँ संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बसिरहेका थिए ।
नेकपाको विधानले बैठक बोलाउने र स्थगित गर्ने अधिकार महासचिवलाई प्रदान गरेको छ । मंगलबारको बैठकको तयारीस्वरुप महासचिव पौडेलले सोमबार साँझ नै खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । अनि मंवलबार बिहान साढे नौ बजे बालुवाटार पुगेर पहिलो वरियताका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।
दुवै अध्यक्षसँगको छलफलपछि पार्टी एकता जोगाउन भनी दौडघूप गरिरहेका महासचिव पौडेल पहिल्यै जानकार थिए– पार्टीभित्रको विवाद झन् चुलिएको छ । त्यसैले ओलीसँगको सल्लाहमा स्थायी कमिटी सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाए ।
केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयका तर्फबाट जारी गरिएको सूचना सञ्चारमाध्यमका लागि जारी भयो, ‘पार्टीका दुई जना अध्यक्षका बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’ उक्त सूचनामा ‘अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात बैठकको सूचना गरिने’ उल्लेख छ ।
सञ्चारमाध्यमका लागि नेकपा स्थायी कमिटी बैठक स्थगन पूर्वअनुमान गरिएअनुसारकै थियो । तत्कालै सञ्चारमाध्यममा नेकपा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई ‘कोट’ गरेर बैठक स्थगनको सामाचार प्रकाशित÷प्रशारित भए ।
कार्यकारी अध्यक्ष प्रचण्ड सदाका बैठकमा पूर्वनिर्धारित समयभन्दा आधाका अगावै बालुवाटार पुग्थे । मंगलबार चाहिँ उनी सवा ११ बजे मात्र बालुवाटार छिरे । सरासर बैठक कक्षमा पुगे । जहाँ नेपाल, खनाल, नारायणकाजी श्रेष्ठ लगायत अन्य स्थायी कमिटी सदस्यहरु भेला भइरहेका थिए ।
प्रधानमन्त्री ओली पक्ष बैठक स्थगित हुन्छ भन्नेमा पहिल्यै ढुक्क थियो । ‘प्रचण्ड–नेपाल पक्ष’ ले चाहिँ सोमबारै प्रचण्ड निवास, खुमलटारमा गुटको बैठकबाट निर्णय गरिसकेको थियो, ‘साउन १३ गतेको बैठक स्थागित गर्न नदिने । ओली पक्षले बैठक स्थगित गरेमा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा गएर भए पनि बैठक बस्ने । ओलीलाई पदबाट राजीनामा गर्न निर्देशन दिने ।’
प्रचण्ड निवासमा वरिष्ठ नेताद्वय नेपाल र खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत बसेर यस्तो रणनीति बनाएका थिए । प्रचण्डले सोमबारै साविक माओवादीका केन्द्रीय नेताहरुको बेग्लै भेला पनि खुमलटारमै आयोजना गरेका थिए । ओलीलाई पदबाट राजीनामा गर्न निर्देशन दिने र भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक डाक्नेसम्मको तयारी खुमलटारको थियो ।
त्यसैबमोजिम जबर्जस्त निर्णय गर्ने तयारीसहित प्रचण्ड–नेपाल पक्ष बालुवाटार पुगेको थियो । बैठक स्थगनको सूचना प्राप्त भएको करिब एक घण्टापछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल बैठकमा बस्नका लागि डाक्न प्रधानमन्त्री निवास पुगेका थिए ।
गजब त के भने ओलीले आफूविरुद्धको बैठक बालुवाटारमै गर्न भने । अनि गुटको बैठकलाई पार्टीको नभन्न पनि आग्रह गरे । त्यसपछि प्रचण्ड र खनाल फर्केर बैठक कक्षमा पुगेका थिए । प्रचण्डले स्थायी कमिटी सदस्यलाई बैठक कि भेला भन्ने बताएनन् तर बैठक स्थगन भएपछि आफूले प्रधानमन्त्री ओलीसँग गरेका छलफलबारे जानकारी दिएका थिए ।
त्यसपछि बोलेका वामदेव गौतमले अहिलेको समस्या समाधानका लागि आफूले तयार पारेको छ बुँदे प्रस्ताव प्रस्तुत गरे । भीम रावलले ओलीलाई एक पदबाट झिक्नु मात्र समाधान नभएको बताउँदै पार्टी, विधि र पद्धतिमा चल्ने वातावरणमा जोड दिए ।
बैठकमा पार्टी एकता अभियानको नेतृत्व गरिरहेका कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बसेको बैठकलाई ‘स्थायी कमिटी बैठक’ भन्न नहुने धारणा राखेका थिए । उनीमाथि केही स्थायी कमिटी सदस्य नै हातपात गर्न जाइलागेको स्रोतको दाबी छ । पूरै होहल्लाबीच चलेको उक्त छलफललाई प्रचण्डले नै बैठक नभनी ‘भेला’ को संज्ञा दिएका थिए ।
ओली पक्षबिना नै बसेको ‘भेला’ बारे पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले नै सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । श्रेष्ठले भने, ‘यस अप्ठ्यारो परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारू गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले ग¥यो ।’ उनले अध्यक्ष केपी ओलीले बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको ठहर गरेको पनि जानकारी दिएका थिए ।
वामदेवको धारणाले तरंग
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि भन्दै प्रस्तुत गरेको धारणाले नेकपाभित्र तरंग पैदा गरेको छ । संकटमोचनका उपायका रुपमा अघि सारेको ‘महाधिवेशनसम्म अध्यक्ष केपी शर्मा ओली नेकपा अध्यक्ष कायमै रहने र पाँच वर्षसम्म उनै प्रधानमन्त्री हुने’ सहितको प्रस्तावले तरंग सिर्जना भएको हो ।
गौतमको धारणालाई प्रधानमन्त्री ओली पक्षले सकारात्मक रुपमा लिएको छ । ‘गौतमले अघि सार्नुभएको प्रस्तावबारे छलफल गर्न सकिन्छ, यो संकटमोचनका लागि मध्यमार्ग हुनसक्छ’, ओली पक्षका स्थायी कमिटी सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने ।

आफ्ना धारणा राखेर भेलाबाट बीचैमा हिँडेका उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली मंगलबार साँझ उनको निवास, भैंसेपाटी पुगेका थिए । उनीसँग करिब २ घन्टा छलफल गरेको गौतमको सचिवालयले जनाएको छ । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड–नेपाल गुटबाट गौतम आफ्नै प्रस्तावसहित बारिरिएपछि प्रचण्ड–नेपालले सचिवालयमा रहेको बहुमत गुमाएको छ । बालुवाटार भेलाको उपस्थिति र प्रस्तुति हेर्दा स्थायी कमिटीमा पनि सोचेजस्तो नदेखिएको ओली पक्ष उत्साहित भएको छ ।
प्रचण्डलाई झन अप्ठेराे !
दुई अध्यक्षबीच साउन ३ गते भएको बैठकमा ओली–प्रचण्डबीच मंसीरमा महाधिवेशन गरी ओलीले अध्यक्ष हस्तान्तरण गर्ने सहमति भएको ओली पक्षको दाबी छ । दुई अध्यक्षबीचको उक्त बैठकमा भोलिपल्ट स्थायी कमिटी बैठक बसी पार्टी एकताको सन्देश दिने गरी महाधिवेशन आयोजनासम्बन्धी प्रस्ताव पारित गर्ने र त्यसपछि स्थायी कमिटी डाकेर यसै विषयलाई अनुमोदन गरी बैठक सक्ने सहमति भएको थियो । तर, फेरि खुमलटारमा आयोजना भएको दुई वरिष्ठ नेतासहित गुटको बैठकमा खप्की खाएपछि प्रचण्ड पुनः पछि फर्किएका थिए ।
प्रचण्डको अहिलेको घुर्की गुटलाई देखाउन गरिरहेको अभिनय मात्र हुनसक्ने ओली खेमाको आशंका छ । त्यसैले पनि बेग्लै बैठक गर्ने निर्णय गरेर प्रचण्ड–नेपाल पक्ष आउँदासमेत त्यसलाई ओली पक्षले गम्भीर रुपमा लिएको छैन । पटक–पटक सहमति गर्दै पछि हट्दै गर्दा प्रचण्डले पार्टीमा साथ समर्थन गुमाउँदै गएका छन् । उता ओली पक्ष भने यसबाट लाभ पाएर सबल हुँदै गएको देखिएको छ । गाैतमकाे प्रस्तालले अझै धक्का लागेकाे छ ।
महासचिवले नडाकी र पहिलो मर्यादाक्रमका अध्यक्षको असहमतिमा जबर्जस्ती गुटको बैठक राखेर निर्णय गरेपछि प्रचण्ड झन् अप्ठेरो अवस्थामा पुगेका छन् । प्रचण्ड यसअघि पनि ओलीसँगको बैठकमा आफूहरूसँग बहुमत छ, एक पद नछाडे निर्णय गरेर जाने बताउँदै आएका थिए । ओलीले पनि 'तपाईंहरुसँग बहुमत भए निर्णय गरेर अघि जानुस्, मलाई निर्णयको कपी दिनुस् न त' भनेर धम्क्याउँदै आएका थिए ।
ओलीको यस्तै जवाफ सुनेपछि शनिवार बालुवाटारबाट सीधै तुलसीलाल अमान्य स्मृति प्रतिष्ठान गएका प्रचण्डले नेकपा एमाले ओलीले निर्वाचन आयाेगमा दर्ता गर्न लगाएकाे र नेकपा फुट्नसक्ने भन्दै कडा अभिव्यक्ति दिएका थिए । ओली खेमाका ती स्थायी कमिटी सदस्यले भने, ‘अब छुट्टै बैठक गरिसकेका प्रचण्डले कुन मुखले फेरि सहमति खोजेर स्थायी कमिटी बसौँ भन्न प्रधानमन्त्री ओलीसँग छलफल गर्न जाने ? यसले संवादको ढोका समेत प्रचण्डले बन्द गरेका छन् ।’
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया