प्रचण्ड–नेपाल बेग्लै बैठकले नेकपाभित्र झन् संकट, वामदेवको प्रस्तावले प्रचण्ड खेमालाई धक्का


‘तपाईंहरु गुटको बैठक त सधैँ बस्दै आउनुभएको छ । आज बालुवाटारमै पनि बस्नुहोला तर पार्टीको बैठक भनेर  नभन्नुहोला । यसले अप्ठेरो पार्नसक्छ’, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलवार मध्यान्ह आफूलाई भेट्न आएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसो भनेका थिए ।

प्रधानमन्त्री ओली निवासमा थिए । स्थायी कमिटी सदस्यहरु चाहिँ कार्यालयतर्फको बैठक कक्षमा जम्मा भइरहेका थिए । प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि ओलीलाई बैठक बस्न भनेर बोलाउन पुगेका थिए, जतिबेला अध्यक्षसँगको परामर्शमा स्थायी कमिटी बैठक स्थगित भएको सूचना जारी गरेको लगभग एक घण्टा बितिसकेको थियो ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपाल चाहिँ सदा स्थायी कमिटी बैठक बस्ने गरेको कक्षमै थिए । ओलीसँग चाहिँ संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बसिरहेका थिए ।

नेकपाको विधानले बैठक बोलाउने र स्थगित गर्ने अधिकार महासचिवलाई प्रदान गरेको छ । मंगलबारको बैठकको तयारीस्वरुप महासचिव पौडेलले सोमबार साँझ नै खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । अनि मंवलबार बिहान साढे नौ बजे बालुवाटार पुगेर पहिलो वरियताका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । 

दुवै अध्यक्षसँगको छलफलपछि पार्टी एकता जोगाउन भनी दौडघूप गरिरहेका महासचिव पौडेल पहिल्यै जानकार थिए– पार्टीभित्रको विवाद झन् चुलिएको छ । त्यसैले ओलीसँगको सल्लाहमा स्थायी कमिटी सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाए । 

केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयका तर्फबाट जारी गरिएको सूचना सञ्चारमाध्यमका लागि जारी भयो, ‘पार्टीका दुई जना अध्यक्षका बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’ उक्त सूचनामा ‘अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात बैठकको सूचना गरिने’ उल्लेख छ ।

सञ्चारमाध्यमका लागि नेकपा स्थायी कमिटी बैठक स्थगन पूर्वअनुमान गरिएअनुसारकै थियो । तत्कालै सञ्चारमाध्यममा नेकपा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई ‘कोट’ गरेर बैठक स्थगनको सामाचार प्रकाशित÷प्रशारित भए ।

कार्यकारी अध्यक्ष प्रचण्ड सदाका बैठकमा पूर्वनिर्धारित समयभन्दा आधाका अगावै बालुवाटार पुग्थे । मंगलबार चाहिँ उनी सवा ११ बजे मात्र बालुवाटार छिरे । सरासर बैठक कक्षमा पुगे । जहाँ नेपाल, खनाल, नारायणकाजी श्रेष्ठ लगायत अन्य स्थायी कमिटी सदस्यहरु भेला भइरहेका थिए । 

प्रधानमन्त्री ओली पक्ष बैठक स्थगित हुन्छ भन्नेमा पहिल्यै ढुक्क थियो । ‘प्रचण्ड–नेपाल पक्ष’ ले चाहिँ सोमबारै प्रचण्ड निवास, खुमलटारमा गुटको बैठकबाट निर्णय गरिसकेको थियो, ‘साउन १३ गतेको बैठक स्थागित गर्न नदिने । ओली पक्षले बैठक स्थगित गरेमा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा गएर भए पनि बैठक बस्ने । ओलीलाई पदबाट राजीनामा गर्न निर्देशन दिने ।’

प्रचण्ड निवासमा वरिष्ठ नेताद्वय नेपाल र खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत बसेर यस्तो रणनीति बनाएका थिए । प्रचण्डले सोमबारै साविक माओवादीका केन्द्रीय नेताहरुको बेग्लै भेला पनि खुमलटारमै आयोजना गरेका थिए । ओलीलाई पदबाट राजीनामा गर्न निर्देशन दिने र भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक डाक्नेसम्मको तयारी खुमलटारको थियो ।

त्यसैबमोजिम जबर्जस्त निर्णय गर्ने तयारीसहित प्रचण्ड–नेपाल पक्ष बालुवाटार पुगेको थियो । बैठक स्थगनको सूचना प्राप्त भएको करिब एक घण्टापछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल बैठकमा बस्नका लागि डाक्न प्रधानमन्त्री निवास पुगेका थिए । 

गजब त के भने ओलीले आफूविरुद्धको बैठक बालुवाटारमै गर्न भने । अनि गुटको बैठकलाई पार्टीको नभन्न पनि आग्रह गरे । त्यसपछि प्रचण्ड र खनाल फर्केर बैठक कक्षमा पुगेका थिए । प्रचण्डले स्थायी कमिटी सदस्यलाई बैठक कि भेला भन्ने बताएनन् तर बैठक स्थगन भएपछि आफूले प्रधानमन्त्री ओलीसँग गरेका छलफलबारे जानकारी दिएका थिए ।

त्यसपछि बोलेका वामदेव गौतमले अहिलेको समस्या समाधानका लागि आफूले तयार पारेको छ बुँदे प्रस्ताव प्रस्तुत गरे । भीम रावलले ओलीलाई एक पदबाट झिक्नु मात्र समाधान नभएको बताउँदै पार्टी, विधि र पद्धतिमा चल्ने वातावरणमा जोड दिए । 

बैठकमा पार्टी एकता अभियानको नेतृत्व गरिरहेका कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बसेको बैठकलाई ‘स्थायी कमिटी बैठक’ भन्न नहुने धारणा राखेका थिए । उनीमाथि केही स्थायी कमिटी सदस्य नै हातपात गर्न जाइलागेको स्रोतको दाबी छ । पूरै होहल्लाबीच चलेको उक्त छलफललाई प्रचण्डले नै बैठक नभनी ‘भेला’ को संज्ञा दिएका थिए । 

ओली पक्षबिना नै बसेको ‘भेला’ बारे पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले नै सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । श्रेष्ठले भने, ‘यस अप्ठ्यारो परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारू गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले ग¥यो ।’ उनले अध्यक्ष केपी ओलीले बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको ठहर गरेको पनि जानकारी दिएका थिए । 

वामदेवको धारणाले तरंग

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि भन्दै प्रस्तुत गरेको धारणाले नेकपाभित्र तरंग पैदा गरेको छ । संकटमोचनका उपायका रुपमा अघि सारेको ‘महाधिवेशनसम्म अध्यक्ष केपी शर्मा ओली नेकपा अध्यक्ष कायमै रहने र पाँच वर्षसम्म उनै प्रधानमन्त्री हुने’ सहितको प्रस्तावले तरंग सिर्जना भएको हो । 
गौतमको धारणालाई प्रधानमन्त्री ओली पक्षले सकारात्मक रुपमा लिएको छ । ‘गौतमले अघि सार्नुभएको प्रस्तावबारे छलफल गर्न सकिन्छ, यो संकटमोचनका लागि मध्यमार्ग हुनसक्छ’, ओली पक्षका स्थायी कमिटी सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने । 


आफ्ना धारणा राखेर भेलाबाट बीचैमा हिँडेका उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली मंगलबार साँझ उनको निवास, भैंसेपाटी पुगेका थिए । उनीसँग करिब २ घन्टा छलफल गरेको गौतमको सचिवालयले जनाएको छ । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रचण्ड–नेपाल गुटबाट गौतम आफ्नै प्रस्तावसहित बारिरिएपछि प्रचण्ड–नेपालले सचिवालयमा रहेको बहुमत गुमाएको छ । बालुवाटार भेलाको उपस्थिति र प्रस्तुति हेर्दा स्थायी कमिटीमा पनि सोचेजस्तो नदेखिएको ओली पक्ष उत्साहित भएको छ । 

प्रचण्डलाई झन अप्ठेराे !

दुई अध्यक्षबीच साउन ३ गते भएको बैठकमा ओली–प्रचण्डबीच मंसीरमा महाधिवेशन गरी ओलीले अध्यक्ष हस्तान्तरण गर्ने सहमति भएको ओली पक्षको दाबी छ । दुई अध्यक्षबीचको उक्त बैठकमा भोलिपल्ट स्थायी कमिटी बैठक बसी पार्टी एकताको सन्देश दिने गरी महाधिवेशन आयोजनासम्बन्धी प्रस्ताव पारित गर्ने र त्यसपछि स्थायी कमिटी डाकेर यसै विषयलाई अनुमोदन गरी बैठक सक्ने सहमति भएको थियो । तर, फेरि खुमलटारमा आयोजना भएको दुई वरिष्ठ नेतासहित गुटको बैठकमा खप्की खाएपछि प्रचण्ड पुनः पछि फर्किएका थिए । 

प्रचण्डको अहिलेको घुर्की गुटलाई देखाउन गरिरहेको अभिनय मात्र हुनसक्ने ओली खेमाको आशंका छ । त्यसैले पनि बेग्लै बैठक गर्ने निर्णय गरेर प्रचण्ड–नेपाल पक्ष आउँदासमेत त्यसलाई ओली पक्षले गम्भीर रुपमा लिएको छैन । पटक–पटक सहमति गर्दै पछि हट्दै गर्दा प्रचण्डले पार्टीमा साथ समर्थन गुमाउँदै गएका छन् । उता ओली पक्ष भने यसबाट लाभ पाएर सबल हुँदै गएको देखिएको छ ।  गाैतमकाे प्रस्तालले अझै धक्का लागेकाे छ ।

महासचिवले नडाकी र पहिलो मर्यादाक्रमका अध्यक्षको असहमतिमा जबर्जस्ती गुटको बैठक राखेर निर्णय गरेपछि प्रचण्ड झन् अप्ठेरो अवस्थामा पुगेका छन् । प्रचण्ड यसअघि पनि ओलीसँगको बैठकमा आफूहरूसँग बहुमत छ, एक पद नछाडे निर्णय गरेर जाने बताउँदै आएका थिए । ओलीले पनि 'तपाईंहरुसँग बहुमत भए निर्णय गरेर अघि जानुस्, मलाई निर्णयको कपी दिनुस् न त' भनेर धम्क्याउँदै आएका थिए । 

ओलीको यस्तै जवाफ सुनेपछि  शनिवार बालुवाटारबाट सीधै तुलसीलाल अमान्य स्मृति प्रतिष्ठान गएका प्रचण्डले नेकपा एमाले ओलीले निर्वाचन आयाेगमा दर्ता गर्न लगाएकाे र नेकपा फुट्नसक्ने भन्दै कडा अभिव्यक्ति दिएका थिए । ओली खेमाका ती स्थायी कमिटी सदस्यले भने, ‘अब छुट्टै बैठक गरिसकेका प्रचण्डले कुन मुखले फेरि सहमति खोजेर स्थायी कमिटी बसौँ भन्न प्रधानमन्त्री ओलीसँग छलफल गर्न जाने ? यसले संवादको ढोका समेत प्रचण्डले बन्द गरेका छन् ।’

प्रकाशित मिति: : 2020-07-29 00:23:22

प्रतिकृया दिनुहोस्