किन मानेनन्, बिपीले ख्रुस्चेभको प्रस्ताव?

किन मानेनन्, बिपीले ख्रुस्चेभको प्रस्ताव?

 नेपाल–भारत सीमा विवाद–५ 

‘नेपाल सानो देश हो, आर्थिक र सैन्य श्रोत र साधनको कुरा गर्नुपर्दा। तर यो देश आफ्नो जिम्मेवारी तथा भूमिका बहन गर्ने कुरामा पूर्ण सचेत छ, संयुक्त राष्ट्रसंघको एउटा सदस्य राष्ट्रको नाताले । हाम्रो भूमिका संयुक्त राष्ट्रसंघमा यसले स्थापित गरेको मूल्य–मान्यतालाई पालना गर्नु हुनेछ। हामी अन्तर्राष्ट्रिय मुद्धामा आफ्नै स्वतन्त्र मान्यता स्थापित गर्नेमा विश्वास गर्छौं र कुनै पनि शक्ति राष्ट्रसँग असंलग्न नीति अनुसार सम्बन्ध राख्ने कुरामा हाम्रो विश्वास छ,’  विपी कोइराला, २९ सेप्टेम्बर १९६०। 

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री नियुक्त भएपछि विश्वेश्वर प्रसाद (विपी) कोइरालाले संयुक्त राष्ट्र संघको १५ औं महासभामा राखेको परराष्ट्र नीतिको खाका हो, यो। 

छिमेकी चीनविरूद्ध सीमा विवादलाई लिएर भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूले ‘सोभियत कार्ड’ प्रयोग गरिरहेको तथा राजा महेन्द्रको निम्तोमा सोभियत संघका राष्ट्रपति मार्सल क्लिमेन्ट भोरोसिलोभले नेपाल भ्रमण गरेको सन्दर्भमा विपीले संयुक्त राष्ट्र संघमा राखेको देशको परराष्ट्र नीति वास्तवमै महत्वपूर्ण थियो। 

यो किन पनि महत्वपूर्ण थियो भने नेपालको जननिर्वाचित सरकारले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिलो परराष्ट्र नीति प्रस्तुत गर्दै थियो। 

विपीको सरकारभन्दा पहिले राजाहरूको (त्रिभुवन र महेन्द्र) आर्शिवादमा सन् १९५१–१९५९ सम्म ४ जना प्रधानमन्त्री बने। दुई पल्ट त राजाहरू आफैले छोटो समयका लागि शाषन चलाए। यतिबेला पनि सरकारले असंलग्न परराष्ट्र नीति नअपनाएको होइन। तर, सन् १९५६ मा राजा महेन्द्रको उदयपछि ‘शक्ति सन्तुलन’ को नाममा सोभियत संघसँग नेपालले कायम गरेको ‘दौत्य सम्बन्ध’ पश्चिमा राष्ट्रका लागि आँखामा गडेको थियो।

यसै वर्ष सोभियत संघका शक्तिशाली प्रधानमन्त्री निकिता ख्रुश्चेभले सोभियत संघको २० औं कंग्रेसबाट एउटा नीति पास गराएका थिए। त्यो थियो– नेपाल जस्ता तेस्रो राष्ट्रका गरिब मुलुकहरूलाई आर्थिक सहयोगको नाममा आफ्नो प्रभाव क्षेत्रमा पार्ने। 

ख्रुश्चेभको फर्मुला नै थियो– नयाँ स्वतन्त्र राष्ट्रसँग ४० प्रतिशत वैदेशिक व्यापार गर्न सफल भएको खण्डमा उनीहरूलाई आफ्नो हातमा लिन सकिन्छ। र, उनीहरूलाई कम्युनिष्ट देश बनाउन सहज हुनेछ। 

ख्रुश्चेभको अर्को बुझाई थियो–पश्चिमा जगतविरूद्ध भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूलाई उपयोग गर्न सकिन्छ। फेरि नेहरू पनि घरभित्र कम्युनिष्टहरूको चर्को विरोधलाई साम्य पार्न तथा चीनसँगको सीमा विवादमा ‘सोभियत कार्ड’ प्रभावशाली हुने निश्कर्षका बीच सोभियत संघतर्फ ढल्किसकेका थिए।  

ख्रुश्चेभ र नेहरूबीच ६० को दशकमा सम्बन्ध यति प्रगाढ भइसकेको थियो, सन् १९५९ मा अमेरिकासँग बढ्दो हतियारको विवादलाई केही मत्थर पारेर मस्को फर्किएका ख्रुश्चेभले भारत–चीन सीमा विवादमा चीनको गल्ती औल्याउन भ्याए। चिनियाँ राष्ट्रपति माओ त्सेतुङ र प्रधानमन्त्री चाउ–एनलाईसँगको भेटमा ख्रुश्चेभले माओलाई यतिसम्म भन्न भ्याए–‘किन तिमीहरूले भारतीय सीमामा मान्छे मारिरहेका छौं?’

विपी प्रधानमन्त्री नियुक्त भएको १५ दिनभित्रै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नेहरूले नेपाललाई ‘सोभियत प्रभाव’ मा राख्न गरेको प्रयास विपीले असफल पारेको हामीले ‘नेपाल–भारत सीमा विवाद–३’ मै विश्लेषण गरिसकेका छौं। यसको ७ महिनापछि विपी भारत भ्रमणमा जाँदा पनि नेहरूले फेरि यस्तै प्रस्ताव गरेका थिए। यसको विश्लेषण पनि हामीले ‘नेपाल–भारत सीमा विवाद–४’ मा गरिसकेका छौं। 

विपीको ख्रुश्चेभसँगको भेट संयुक्त राष्ट्र महासभाको त्यही सत्रमा भएको थियो। विपीलाई भेट्न ख्रुश्चेभ एकपल्ट विपी बसेको कोठामै पुगेका थिए। अमेरिकाभन्दा पहिले चन्द्रमामा रकेट पठाएर विश्वको ध्यान आफूतर्फ खिच्न सफल ख्रुश्चेभ नेपाल जस्तो गरिब र फुच्चे राष्ट्रका प्रधानमन्त्रीलाई उनकै कोठामा भेट्न जाने कुरा चानचुने पक्कै थिएन। यो घटनाले अन्तर्राष्ट्रिय समूदायको पनि ध्यान खिच्न सफल भयो। 

वास्तवमा त्यतिबेला नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिको उत्कृष्ट उदाहरण देखाएको थियो। अफ्रिकी देश कंगोको विषयमा नेहरू र विपीको ‘लाइन’ फरक थियो। कंगोको मुद्धामा भारतले सोभियत संघसँग नजिक भएका प्याट्रिक लुमुम्बालाई भोट ग¥यो। तर, नेपालले भारत र सोभियत संघको विपरित पहिलो राष्ट्रपति जोसेप कासा–भोबुलाई। 

त्यतिबेला ‘सोभियत ब्लक’ मा विपीलाई तान्न जवहारलाल नेहरूले निकै प्रयत्न गरेका थिए। उनी दुई पल्ट विपी बसेको होटलमै भेट्न गएका थिए। विपीसँगै महासभामा भाग लिन गएका उनका सहायक स्वर्गीय कुमारमणि दीक्षित भन्थे–‘नेहरू त युएनको महासभालाई सम्बोधन गर्नुअघि आफूलाई भाषणको कपि देखाउन विपीलाई दबाब दिइरहेका थिए। विपी पनि मान्नेवाला कहाँ थिए, उनले महासभालाई सम्बोधन गर्ने दिन ढोकाबाट भित्र छिर्ने बेलासम्म नेहरूलाई भनिरहेका थिए–केही लेखेको छैन। २–४ वटा लाइन टिपेको छ, त्यही बोल्ने हो।’ 

महासभामा विपीको भाषण सुनेपछि ख्रुश्चेभ पनि प्रभावित भएका थिए। उनले विपीलाई ‘एशियाको उदाउँदो युवा नेता’ भनेका थिए। चीनसँगको सीमा विवाद सुल्झाउँन विपीको सकारात्मक पहलको ख्रुश्चेभले खुलेर प्रसंसा गरेका थिए। उनले भारतमार्फत नेपाललाई सहयोग गर्ने प्रस्ताव पनि राखेका थिए।  

ख्रुश्चेभलाई संयुक्त राष्ट्रसंघको महासचिव पदलाई लिएर ठूलो गुनासो थियो। केही समयअघि मात्र आयरल्याण्डका फ्रेड्रिक एच बोलान्ड महासचिव नियुक्त भएका थिए। ख्रुश्चेभको भनाई थियो– राष्ट्रसंघमा नियुक्त हुने महासचिव जहिल्यै राइटिस् (अमेरिकी ब्लक) भयो। यसैले उनले त्रिमुर्तिको अवधारणा अगाडि सारेका थिए अर्थात महासंघमा तीन जना महासचिव हुनुपर्ने।

दिउँसो तीन बजेबाट सुरु भएको महासभामा आफ्नो भाषण सकेर होटल फर्किने क्रममा विपीलाई पछाडिबाट एकजना सुरक्षाकर्मीले आवाज दिएका थिए। ती सुरक्षाकर्मी थिए, ख्रुश्चेभका सुरक्षागार्ड। उनले होटलको गेट बाहिर पार्किङ गरिरहेको गाडीमा एकजना व्यक्ति बसेको र उनलाई भेट्न इच्छुक रहेको बताएपछि विपी भेट्न गएका थिए। त्यो गाडीमा ख्रुश्चेभ थिए। ख्रुश्चेभले गाडीमै बसेर विपीलाई राष्ट्रसंघमा तीनवटा महासचिव राख्ने प्रस्तावमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर, विपीले एउटै हुँदा त यति भाडँभैलो छ, तीन वटा भयो भने के होला? भनेर ख्रुश्चेभको प्रस्ताव अस्विकार गरेको कुमारमणिले सन् २०१० मा स्तम्भकारलाई दिएको अन्तर्वार्तामा भनेका थिए। यो उनको पुस्तकमा पनि समावेश छ। 

२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएपछि सिआईडी प्रमुख भएका मन शमशेर राणाका जेठा छोरा शक्ति राणाका अनुसार त्यो घटनामा विपीले ख्रुश्चेभको प्रस्ताव अस्विकार गरेपछि उनी अवाक भएका थिए। ‘नेपालको प्रधानमन्त्रीले मेरो प्रस्ताव अस्विकार ग¥यो भनेर ख्रुश्चेभले आफ्नो किताबमा पनि उल्लेख गरेका छन्,’ ९१ वर्षीय राणा भन्छन्। 

यो भन्दा पनि ठूलो घटना, राष्ट्रसंघको महासभा समाप्त भएपछि आयोजना भएको ‘ककटेल’ पार्टीमा देखियो। पार्टीमा नेपालका स्थायी राजदूत ऋषिकेश शाहमाथि ख्रुश्चेभले दुब्र्यवहार गर्न खोजेका थिए। उनले ऋषिकेशलाई ‘अमेरिकी कुकुर’ भनेर गाली गर्न समेत भ्याएका थिए। तर, विपीले ख्रुश्चेभको भनाई प्रति आपत्ति जनाउँदै भनेका थिए, ‘तपाई गलत हुनुहुन्छ मान्यवर! उनी युएनमा हाम्रो प्रतिनिधि हुन्।’ 

विपीको असन्तुष्टीपछि ख्रुश्चेभले माफी मागेका थिए। ‘सारा विश्वलाई थर्कमान बनाउन सक्ने नेतासँग एउटा राजनेताले मात्र यसरी कुरा गर्न सक्छ। ती विपी थिए,’ नेपाली कांग्रेसका वरिष्ठ नेता केबी गुरूङ भन्छन्। 

राष्ट्रसंघमा ख्रुश्चेभ र नेहरूको प्रस्ताव अस्विकार गरेपछि देशभित्र विपीले तत्कालिन कम्युनिष्ट पार्टीका नेताबाट ठूलै विरोधको सामना गर्नुप¥यो। त्यति मात्र होइन, सोभियत संघको काठमाडौंमा भएको दुतावासका ‘फर्स्ट सेक्रेटरी’ सरकारको विरोध गर्न नेपाली कम्युनिष्टहरूलाई उचालिरहेका हुन्थे। 

यसै कारण सम्भवत विपीले एउटा अन्तर्वार्तामा भन्नु परेको थियो, ‘जसले भारतीय सहयोग राशीको आलोचना गरेका छन्, उनीहरू त्यही तत्व हुन्, जो चुनावमा पराजित भएपछि हतास मनस्थितिमा छन्। र, उनीहरू उल्टो नेपाललाई ‘सैन्य सम्झौंता’ मा बाध्न चाहिरहेका छन्।’ 

प्रकाशित मिति: Jul 31, 2020 14:32:10

प्रतिक्रिया दिनुहोस