नछर्किएको एसिडले पोलेको मन

नछर्किएको एसिडले पोलेको मन

झ्यालबाट बाहिर चिहाउँदै हेरेँ। बादलले पूरै आकाश ढाकेर पानी पर्न सुरू गरेको छ। घर नजिकै फर्सीको झाल छ। म फैलिरहेका ती फर्सीका झालहरूलाई हेर्छु। कहिलेकाहीँ मेरो मन पनि त्यहीँ फर्सीको झाल झैं फैलिन्छ। अनि फैलिदैं गरेको यो मनले कस्तो विकराल रूप लिन्छ भन्ने कुराको आफैंलाई अनुमान हुँदैंन। कहिलेकाहीँ सोच्छु ‘यी वैज्ञानिकहरुले यति धेरै कुराको आविस्कार गरिसक्दा पनि मन नियन्त्रण गर्ने यन्त्रको आविस्कार किन नगरेका होलान्।’

‘बाबु सुलोचनाको फोन आएको छ तेरो मोबाईल उठेन रे,’ ममिको आवाजले म झस्किएँ अनि गएर फोन उठाएँ। सुलोचनासँग कुरा गरेर फोन राखेँ। आँखामा बितेका पलहरू खेल्न थाले।

****

सुलोचना र म एउटै स्कुलमा पढ्यौ सानैदेखि। ऊ बुवाआमको एक्ली छोरी थिई अनि म बुवाआमाको एक्लो छोरो। हाम्रो घर पनि नजिकै थियो। हामी सँगसँगै खेल्यौं सँगैसँगै हुर्कियौं अनि सँगै ठूलो पनि भयौं। सुलोचना मभन्दा केही वर्षले सानी थिई। ऊ मलाई सधैं ‘दाइ’ भनेर सम्बोधन गर्थी अनि सम्मान पनि। तर मेरो मनले उसलाई कहिल्यै पनि बहिनीको दर्जा दिन चाहेन। उसलाई देख्नासाथ मभित्रको पुरूषत्व त्यसै त्यसै जागेर आउँथ्यो। तै पनि म केही गर्न सक्दिनँ थिएँ। उसको कुरा सुनेर र उसको रूप हेरेरै मोहित हुन्थेँ। थाहा छैन मेरो आँखाको भाका उसले बुझ्थी कि बुझ्थिन। तर म एकोहोरो उसलाई मन पराईरहन्थेँ। सायद यीनै कारणहरू होलान् मैले उसलाई मसँग बोल्दा ‘हजुर’ छोडेर ‘तिमी’ सम्बोधन गर्न लगाएको।

मेरा दिदी बहिनी नभए पनि मलाई कहिल्यै दिदी बहिनीको चाह भएन। बरू म त सधैं कोही जीवन बिताउने साथीको खोजीमा थिएँ अनि मैले सुलोचनामा ती सबैकुरा पाउँथे जुन एउटी नारीमा हुन जरूरी थियो। उसको रगत चुहिएला झैं लाग्ने रातो ओठ, कालो गाजलले सजिएको आँखा, लामो कालो सर्लक्क परेको कपाल अनि मिलेको जिउडालले मलाई त्यसैत्यसै ऊ प्रति आर्कषित गरिरहन्थ्यो। ‘दाई हिँड न आज कतै घुम्न जाउँ,’ त्यसदिन उसले फोन गरेर भनी।

मलाई एकाएक आकाशमा उडेको अनुभव भयो। अहो! मन त्यसैत्यसै पुलकित भयो ऊ सँग घुम्ने अनि उसलाई स्पर्स गर्ने कल्पनामा। ‘दाइ कता हराएको कुरा गर्दागर्दै,’ म त कल्पनाको सागरको गहिराईमा यति छिटो डुबुल्की मार्न थालेँ कि त्यहाँबाट बाहिर निस्किनै समय लाग्यो। मैले हतार हतार उसको प्रश्नको जवाफ दिएँ, ‘भईहाल्छ नि, बरू म पिक अप गर्न आउँछु तिमी तयार भएर बस।’ मेरो कुरा सुनेर उसले खुशी भएर फोन राखी।

‘उसले दाइ भनेर के भयो त। हामी एउटै कोखबाट जन्मेका पनि त होइनौं नि। त्यसमाथि उसले कहिल्यै मलाई भाइटीका लगाईदिएकी पनि छैन। न त रक्षा बन्धनमा राखी नै बाँधिदिएकी छे। अनि म किन यो दाइ र बहिनीको देखावटी नातामा अल्झेर बसौं?,’ यस्तै यस्तै सोचेर म उसलाई पिकअप गर्न गएँ। गुलावी रंगको टिसर्ट, कालो जिन्स प्यान्ट, अनि कालो चश्मामा ऊ अन्य दिनभन्दा सुन्दर देखिएकी थिई। उसको शरीरबाट आएको सुगन्धले मलाई उप्रति झनै मोहित गरिरहेको थियो।

मेरो बाईकको पछाडि बसी। मैले उसलाई आफूलाई समात्न भनेँ। मेरो आज्ञा मानेरै हो वा बाईक चलाउँदा लड्ने डरले हो उसले असहज मानेरै भए पनि मेरो कुममा हात राखेर बसी। मेरो मुटुको धड्कन तीव्र गतिमा चल्न थाल्यो। त्यसपछि मैले गोदावरीमा गएर बाईक रोकेँ।

गोदावरीको एउटा पार्कमा गएर बस्यौं। मैले उसलाई हेरिरहेँ। उसले कुरा सुरू गर्दै भनी, ‘दाइ यो पुरूषहरू यस्ता किन हुन्छन्?,’ मैले अलि झस्केर उसलाई उल्टै प्रश्न गरेँ ‘कस्ता?’ उसले धाराप्रवाह बोल्न सुरु गरी। म चुपचाप उसको कुरा सुनेर बसेँ। ‘थाहा छ तिमीलाई हाम्रो अफिसको बोसले मलाई अस्ती जबरजस्ती गर्ने कोशिश गर्‍यो। नारीहरूप्रतिको उसको गिद्दे नजर मलाई पटक्कै मनपर्दैन। के सोच्छ उसले आफूले आफूलाई?’

उसको कुरा सुनिरहँदा मेरा आँखाहरुले उसको शीरदेखि पाउसम्म सयर गरिरहेका थिए। साच्चै भन्ने हो भने उसलाई  आफ्नो प्रेमिका कसरी बनाउने होला भनेरै म सोचिरहेको थिएँ। उसको मुख अझै चलिरहेको थियो जसरी मेरो मनमा कुराहरू चलिरहेका छन्। ऊ भन्दै थिई, ‘के नारी र पुरुष कहिल्यै राम्रो साथी हुन सक्दैनन्? के उनीहरुको बिचमा एउटा प्रेमको सम्बन्ध मात्रै हुनसक्छ?’ उसको पछिल्लो वाक्य सुनेर कसैले मेरो शरीरमा तिखो वाण हानेको अनुभूति भयो।

त्यो दिन उसले यस्तै यस्तै आक्रोश पोखीरही। मैले उसको कुरा सुनिरहँदा आफ्नो छुट्टै योजना बनाईरहेँ। आफैंले आफैंलाई त्यो योजना छिट्टै पूरा गर्ने प्रण गरेर त्यस दिन म त्यहाँबाट उसलाई लिएर फर्किएँ।

त्यसदिनदेखि चाहेर पनि उसँग भेट हुन सकेको थिएन। उसले आज धेरै दिनपछि फोन गरेपछि मैले सारा विगत भुल्न पुगेँ। म त यसरी आफ्नो सोचाईमा हराएछु कि मैले त बोल्नै बिर्सिंएछु। उसले फेरि फोनमा बोलाएपछि पो मलाई याद आयो कि मेरो कानमा फोन छ। ‘किन चुप लागेको दाइ बोल न,’ सुलोचनाले फेरि मलाई भेट्न क्याफेमा बोलाई तर किन उ बारम्बार मलाई बोलाईरहन्छे? म उसले बोलाएको क्याफेमा गएँ तर त्यहाँ सुलोचना एक्लै थिईन उसँग कोही थियो। म त्यहाँ पुग्नासाथ उसले ‘मेरो व्याइफ्रेण्ड’ भन्दै चिनाई। उसले चिनाएको केटाले आफ्नो हात अगाडि बढायो मैले हात मिलाएँ। तर मैले टेकेको जमिन भासिन लागेको मलाई अनुभव भयो। ‘म आफ्नो जालमा पर्न लागेको माछा अरूको जालमा कसरी पर्न दिन सक्छु र? अहँ यो हुनै सक्दैन,’ मैले आफैसँग भनेँ।

सुलोचना र उसको व्याइफ्रेण्ड कुरा गरिरहँदा मलाई सुलोचनालाई गुमाउनुपर्ने पीडाले भित्रभित्रै गलाईरहेको थियो।

म सुलोचना र उसको व्याइफ्रेण्डसँग बिदा मागेर घर फर्कें। मन त्यसैत्यसै विरक्तिरह्यो। के गर्ने के नगर्ने सोच्नै सकिनँ। घरको दैलो टेक्न नपाउँदै ममीको बोली मेरो कानमा पर्‍यो, ‘सुलोचनाको विवाह पक्का भयो नि थाहा पाईस्?’ मलाई झन् रिस उठ्यो अनि मैले झर्किँदै भनेँ, ‘म के गरौं त उसको विवाह पक्का भए।’

म यसरी झर्केको ममीले कहिल्यै सुन्नुभएको थिएन त्यसैले अपत्यारिलो भावले उहाँले मेरो आँखामा हेरिरहनुभयो। म चुपचाप आफ्नो कोठाभित्र गएर ढोका लगाएँ। मलाई के भयो खै म ममीको कुर्ताको सल खाज्न थालेँ। त्यो सललाई आफ्नो घाँटीमा बाँधे अनि पंखामा आफूलाई झुण्ड्याउन तयार भएँ। पंखामा सललाई बाँध्न मात्रै के लागेको थिएँ अचानक मलाई केही कुरा याद आयो। सुलोचना राम्री छे र पो उसको अघिपछि यति केटाहरू घुम्छन्। के हुन्छ यदि उसको त्यो रूप नै नरहे। यदि सुलोचना मेरो हुन सक्दिन भने उसलाई म अरूको पनि हुन दिन्नँ। मैले फोन उठाएँ अनि उसको नम्बर डायल गरें, ‘हजुर दाइ भन के भयो?’ उताबाट आवाज आयो। ‘के तिमी अहिले मलाई भेट्न सक्छौ?’ मैले सरासर भूमिका नबाँधेरै भनेँ। मलाई थाहा छ भोलि उसको विवाह छ र ऊ अति नै व्यस्त छे। म सबैकुरा विथोल्न चाहन्थेँ त्यसैले मलाई उसको विवाह र उसको व्यस्ततासँग केही पर्वाह थिएन।

विवाहको लगन नभए पनि उसको हुनेवाला श्रीमानको व्यक्तिगत समस्याले सामान्य तरिकाले विवाह गर्न लागेका थिए। मैले यसपटक उसलाई ‘यूएन पार्क’ अगाडि बोलाएँ। उ खुशी हुँदैं आई अनि भनी, ‘खै तिम्रो हात अगाडि ल्याउ त,’ म अन्यौलमा परेँ। मेरो शरीरभरी पसिना आयो। पछाडि लुकाएको एसिडको बोतल मैले उसले नदेख्ने गरेर फालिदिएँ जब उसले मेरो हातको नाडीमा आफूले ल्याएको राखी बाँधिदिई। म आफूले आफूलाई धिक्कार्न थालेँ। उ साँच्चै दाजु मानिरही मलाई अहिलेसम्म अनि म उसको शरीरसँग खेल्ने चाहना मनमा पालिरहेँ। ऊ प्रति मनभरी नचाहिने भावना संगालिरहेँ। उसले हाँस्दै भनी, ‘मलाई कति दिनदेखि तिमीलाई राखी बाँधिदिन मन थियो। मेरो त आफ्नो दाइ पनि छैन। आजदेखि सम्बोधनमा मात्रै होइन नातामा पनि तिमी मेरो दाजु भयौ।’

उसको कुराले मेरो गला अवरुद्ध भयो। मैले त्यसपछि साच्चै दाइको भूमिका निर्वाह गरेँ। मेरो काँधमा एउटा जिम्मेवारी थपियो। भोलिपल्ट उसको विवाहमा कन्यादान समेत गरेर विगतमा आफ्नो मनमा पलाएको ऊ प्रतिको नकारात्मक सोचाईलाई पनि बिदाई गरिदिएँ।

कन्यादान गरेर विदा गरिरहँदा मनमनै सोचेँ उसको यति राम्रो धपक्क बलेको अनुहार मेरो कारणले झण्डै कुरूप भईसकेको थियो। नकारात्मक सोचको कारण मेरो आफ्नै शरीरमा एसिड पोखिए झैं मेरो मन पोलिरह्यो।

प्रकाशित मिति: Aug 01, 2020 23:11:35

प्रतिक्रिया दिनुहोस

सबै