यी नदीका उफानमा

यी नदीका उफानमा

अन्तरध्यानमा म
धेरै टाडा पुगिसकेको छु अब
जति चुट्छ, चुटी रहोस्
समस्याको बाछिटोले 
जति डस्छ, डसी रहोस्
जिन्दगीलाई यी घाउहरुले
गुनासो छैन, कसम होला
म भिडमा एक्लिएको धेरै दिन भये।

मैले,मलाई
मिसिसिपी, भोल्गा, गंगा, ब्रह्मपुत्र,
मारा नदीहरुका
उफान खोज्दै आफैंलाई फाल हालिदिएको छु
मरी सकेको मेरो क्षतविक्षत शरीर 
खोज्दै खोज्दै तिमी किन हिंडेको, साथी!
अब म यहाँका हेमान ठूल्ठूला माछाको
चारो भै सकेको छु
मलाई तिमीले खोज्दै नखोजेको वेश छ।

यीनै कालीखोला र सेतीखोलाका डिलैडिलबाट
मैले जिन्दगीको जँगार तर्न सिकेको थिएँ
जहाँ पौडिनलाई अझ्झैसम्म पनि गहिरो दह छैन
धेरै फड्के र साँघुहरु आफैंले हालेर
मैले आफूलाई वारि पारि तार्न सिकाएको थिएँ
तर नदीहरु बाक्ला र लामा पनि हुँदा रहेछन्
मेरा  गाउँ बस्ती नै बगाउन सक्ने पनि
धेरै नदीहरु हुँदा रहेछन,मलाई थाहै थिएन।

नदी कसरी सुकाउन सकिन्छ, अहँ, थाहा छैन मलाई
किन आयो भेल उर्लिएर, त्यो पनि थाहा छैन मलाई
बर्खा लागेपछि नदीले खान्छ, येत्तिनै सुनेको थिएँ
हो, नदीले जीवन दिन्छ; मैले येत्तिनै मानेको थिएँ
उफ्! हिजो जसरी खडेरीले निल्दै थियो मलाई
उसरी नैआज वर्षाले मज्जा मानेर खाँदैछ, मलाई
मेघ गर्जियेको, नदी सुसायेको पनि थाहा पाएँ मैले
टेकेको भुईं सँगै मेरो म हुनुको अस्तित्व
हेर्दाहेर्दै भेलमा बगेको आज हेरी रहें मैले।

ओ उर्लंदो नदी,
तिमीले मलाई खायौ,मेरो उजुरी छैन
तर धरापमा परेका यी खेतखलाहरु मेरा क्षतिग्रस्त नपार 
त्यहां मुङ्सीर पाक्नुपर्छ
निर्दोष छन् यी दुधारु लैना गाईभैंसीहरु; बग्नु हुँदैन
यिनैमा संसारी जीवनको गुजारा निर्भर छ
म मरे पनि मेरा आफन्तिहरु
 जिउनै पर्छ, जिउनैपर्छ।

प्रकाशित मिति: Aug 01, 2020 23:10:57

प्रतिक्रिया दिनुहोस

सबै