एक सच्चा कम्युनिष्टको अवसान [एक्सक्लुसिभ भिडियो]

अबिच्युअरी 

विद्रोही गाउँले परिचित रोल्पाको थबाङ गाउँ। राजनीतिक हिसाबले विश्वभर कहलिएको थबाङको आफ्नै विशिष्ट परिचय छ। इतिहासमा अन्याय र असमानताबिरूद्ध थबाङी जनताले कैयौ पटक राज्यसँग बिद्रोह गरिरहे।

यही गाउँको धरोहर र अभिभावक थिए बर्मन बुढामगर। नजिकबाट चिन्नेहरू  एक सच्चा, निडर आदर्श कम्युनिष्ट विचार बोकेका निःस्वार्थ पुरूष भनेर सम्झन्छन्।
समुन्द्र सतहदेखि २ हजार मिटर उचाईमा रहेको ऐतिहासिक थबाङ गाउँ दश वर्ष लामो जनयुद्वको उद्गमस्थल हो।

गाउँ जति सुन्दर छ यहाँका मगर बाहुल्य र दलित बासिन्दा अत्यन्तै मिलनसार, आत्मीय र शान्तिप्रिय छन्। सामुहिक एकता नै थबाङको बलियो परिचय हो।

विद्रोही चेतनाले ओतप्रोत थबाङले इतिहासमा कैयौ संघर्ष गर्‍यो। थुपैं क्रान्तिकारी जन्मायो। क्रान्तिको बिगुल फुक्यो। यसका लागि गाउँलेको साहस र दुःखको कथा बेग्लै छ। जसले गाउँलाई एकतृत पार्‍यो, क्रान्ति र परिवर्तनको बिउ रोप्यो, यसको श्रेय गाउँका अगुवा र अभिभावक बर्मन बुढामगरलाई जान्छ।

२०७० सालमा पहिलो पटक मैले थबाङ टेकेको थिएँ। झमझम झरी परिरहेको थियो, भूमे पर्वको रौनकले गाउँ धपक्कै बलेको थियो। गाउलेको व्यस्तता बेग्लै थियो। तीन दिनसम्म थबाङ बसे पनि उनलाई भेट्न सकिएन।

उनलाई भेट्न नपाएको थकथकी लाग्दै काठमाडौं फर्किएको मैले त्यसको केही समयपछि विद्यावारिधिका शोधकर्ता विदेसी नागरिक चेस टर्वर र उनकी पत्नीसहित सन् २०१४ मा बुढामगरलाई उनकै घरमा भेट्ने मौका मिल्यो। कछाड पहिरनमा बर्मन बाले हामीले खुला हृदयले थबाङस्थित उनको घरमा स्वागत गरेको सम्झना ताजै छ।

बुढासँग समसामयीक र थबाङको ऐतिहासिक विषयमा गफिएका प्रोफेसर टर्वरले बुढामगरको मृत्युको खबर सुन्ने बित्तिकै मलाई इमेल लेखे,‘उहाँ जस्तो ऐतिहासिक पुरूषलाई भेट्न र अन्तर्वार्ता लिन पाउनु मेरो लागि अविश्वसनीय सौभाग्य हो, हार्दिक श्रद्धाञ्जली, क्रान्तिका अभिवावकलाई।’
थबाङ पुग्ने प्रायः कम्युनिस्ट नेता र अनगन्ति स्वदेशी तथा विदेशी शोधकर्ताका लागि बुढामगर विकिपिडिया नै थिए। माओवादी जनयुद्व र शान्ति प्रक्रियाका सुक्ष्म अध्येता त्रिविका द्वन्द्व, शान्ति र विकास विभागका उपप्राध्यापक चिरन्जीवी भण्डारीले बुढामगरलाई त्यागी, संघर्षशील र शान्तिप्रिय कम्युनिष्ट नेताको रूपमा स्मरण गर्छन्।

‘थबाङीको सामुहिक एकता र पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन बर्मनको निकै ठूलो भूमिका छ।  उनी थबाङका जिउँदो इतिहास थिए’, भण्डारी स्मरण गर्छन्। 
लामो समयदेखि रोल्पालाई आधार क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सञ्चारकर्मी काशीराम डाँगीका अनुसार बुढामगर सधै साधारण, मौलिक एवं साझा ब्यक्तित्व भए पनि उच्च विचारका धनी भएको स्मरण गर्छन्। बुढामगरको निधनले मुलुकले एक उच्च नैतिकतासहितको परम्परानै अन्त्य भएको डाँगीले बताए। बाचुन्जेल सबै कम्युनिष्टप्रति समान सद्भाव राख्दै एकताको पक्षमा विचार राख्ने बुढाको योगदानलाई उच्च कदर गर्दै पछिल्लो पुस्ताका राजनीतिकर्मीले उनीबाट पाठ सिक्नपर्ने हुन्छ।

सामान्य किसान परिवारमा जन्मे हुर्केको उनको पुर्ख्यौली पेशा भेडापालन थियो। भेडी गोठ लिएर थबाङका डाँडाकाँडा बन जंगलहुँदै रूकुम, डोल्पा र दाङसम्म भेडा चराउन भीर पखेरा र बेसी चहारे।

सानैदेखि हक्की स्वभावका उनी गोठाला हिँड्ने क्रममा चरी चरनको निहुँमा कृष्ण झाँक्री मुखियासँग झगडा हुँदा २०१२ सालमा जेल परे।

वर्मनसहित सात जनालाई प्युठान गारड (हतियार भण्डारण)मा थुन्छ। कारागारमा मोहनविक्रम सिंह खगुलाल गुरुङ, हेमराज शर्मा र रुमबहादुरसँग भेट हुन्छ। जेलबाट छुटेर सबै थबाङ पुग्छन्। बुढा र झाँक्री दुवै पक्षका ती–तीनजना प्रतिनिधि राखेर १०१३ सालमा किसान संघ संगठन बनाउँछन्। एक वर्षपछि नेकपाको सेल कमिटी खोल्छन्। त्यसपछि २०१५ को पहिलो संसदीय चुनावमा नेकपा उम्मेदवार खगुलाल गुरूङलाई थबाङले एकछापे भोट हाल्छ ।

यसैबिच वर्मनलाई गाउँलेले मुखिया चुन्छ। पञ्चायतको स्थानीय चुनावमा वर्मन थबाङका प्रधानपञ्च बन्छन्। जनमतसंग्रहमा थबाङले सबै भोट बहुदललाई हाल्छ। लामो समय मुखिया हुँदै प्रधानपञ्चसमेत भएका उनले समग्र थबाङी जनतालाई नेतृत्व गरे। ‘शान्ति सुरक्षा’ मुद्दामा वर्मन २०३७ मा जेल पर्छन्।  

२७ महिने जेल बसाइमै प्रधानपञ्च पद सकिन्छ। २०३८ सालको चुनावमा थबाङले बहिष्कार गर्‍यो। यसरी उनको नेतृत्वमा थबाङ सधै राज्य सत्ताको विरूद्ध उभियो।

२०४८ सालको संसदीय चुनावमा रोल्पा १ बाट संयुक्त जनमोर्चा नेपालको तर्फबाट वर्मन उम्मेदवार बन्छन्।  उनले रोल्पाका चर्चित राप्रपा नेता तथा पञ्चायतका मन्त्री बालाराम घर्तीमगरलाई हराउँदै पहिलोपटक सांसद निर्वाचित हुन्छन्। रोल्पा २ बाट वर्मनकै पार्टीका कृष्णबहादुर महरा चुनिन्छन्।

जीवनभर सरल र सादगी जीवन बिताएका बुढामगर सांसद बनेर सिंहदरबार छिर्दासम्म परम्परागत स्थानीय मगर भेषभुषा कछाड, गाडो र चप्पल लगाउन छुटाएनन्।

एक दिन उनको पोशाक देखेर सुरूमा सिंहदरबार गेटमै रोकिएको थियो। तर उनले आफूले आफ्नो मौलिक पोसाक नछोड्ने जिकिर गरेपछि कसैले रोक्के हिम्मत गरेन।

प्रतिनिधि सभामा राजा विरेन्द्र सवारी हुँदाको प्रसंग उनलाई नजिकबाट चिन्ने रोल्पाका पूर्वमाओवादी कमाण्डर तथा नेकपा नेता सुक बहादुर रोकाले स्मरण गर्छन्- एकदिन संसद् सचिवालयका कर्मचारीले वर्मनलाई  माननीयज्यू, राजाको सम्बोधन हुने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोसाक लगाएर आउनुपर्‍यो, भनेछन्। त्यतिबेला वर्मनले आफ्नो लुगा हेर्दै जवाफ दिएछन्, ‘यो के अराष्ट्रिय भयो? बरू संसद् नआ भने नआउने म । यो कुन देशको हो र अराष्ट्रिय भयो?  राजा आउने भन्दैमा आफूले आफ्नो मौलिक पोसाक नछोड्ने जिकिर गरेछन्। वर्मन मौलिक पोसाक अर्थात् रोल्पाली मगर पहिरनमै संसद् पुग्छन् । सम्बोधनको दिन राजा वीरेन्द्र संसद् पुग्छन् । अघिल्लो पंक्तिमा बसेको उनलाई राजाले कछाडमा देख्दा निकै बेर नियालेर मुसुक्क हाँसेका थिए।

त्यस दिन सांसद मात्र नभई राजाको भाषण सुन्न अरू पनि आएका थिए। त्यतिबेला राजालाई भन्दा पनि उनलाई हेर्ने मान्छे धेरै थिए।

सांसद हुनेबित्तिकै आफूले टेकेको धर्ती र वेशभूषा कहिल्यै भुल्न हुन्न भन्ने उनको मान्यता थियो।

यसअघि सुर्खेतमा राजालाई भेट्दा पनि यही पोसाकमा भेटेको भन्दै उनले तीन वर्ष रोल्पाली मौलिक पोसाकमा सिंहदरबार गए। कछाड र चप्पलमै सधैँ संसद्‍ गएँका उनले आफ्नो पोसाक नै यही भएको भन्दै किन अरू खोज्ने भनेर अड्डी दिए। रोल्पाजस्तो विकट ठाउँकाले लगाउने कपडाबारे जानकारीको लागि पनि उनले कहिल्यै अरू कपडा लगाएनन्।

विसं २०५२ को सशस्त्र युद्वमा उमेरको हिसाबले त्यति सक्रिय नभए पनि जनयुद्ध भर एक अभिभावकको रुपमा माओवादी पार्टीलाई समर्थन गरेको नेता सुक बहादुर बताउँछन्।

बृहत शान्ति पुनर्स्थापना पछि राजनीतिमा उनको क्रियाशीलता पातलियो।

२०६४ को पहिलो संविधान सभा चुनावमा थबाङले एकछापे भोट नेकपा (माओवादी) लाई दिएर जितायो।

ग्वाले संगठन बनाएर मुखिया कृष्णबहादुर झाँक्रीविरुद्ध सुरू गरेको थबाङ विद्रोह आजसम्म जारी छ। मोहनविक्रम सिंह नेतृत्वको पार्टी फुट्दा थबाङ विद्रोही मोहन वैद्य नेतृत्वको नेकपा (मशाल)साथ उभिन्छ। जनयुद्ध गर्ने नेकपा (माओवादी)मा लाग्छ। २०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा वैद्यकै बहिष्कारमा लागेर थबाङले शून्य भोट गर्छ।

पञ्चायतकालकै बेला रोल्पामा कम्युनिष्ट पार्टीको विजारोपण र संगठन निर्माण गरेकोले नेता बुढामगरलाई आदर्श नेता मान्ने गर्दछन्। 'उनी जीवनभर एक सच्चा र निस्ठावान कम्युनिष्ट भएर बाँचे,’ नेता रोका सम्झन्छन्।

गत वर्ष ज्योति सिंह दाइ र म उहाँलाई भेट्न कुसुन्तीस्थित उनकी छोरीको घर पुगेका थियौं। उमेरले नेटो काटेको वृद्ध बर्मन बुढामगर शारीरिक रूपमा गलेको देखिन्थे। तर उही जोस जाँगरले हामीसँग निकैबेर भलाकुसारी गरे।

पार्टी फुटेको र तितर वितर भएकोमा असन्तुष्ट र चिन्तित थिए। उनले थबाङी जनता र युवालाई एक ढिका भएर  शान्ति र विकासमा अगाडि बढ्न सन्देश दिएका थिए।

अन्याय, अत्याचार र वर्ग संघर्षको लडाईँमा सधै अविचलित भइ लड्ने कम्युनिस्ट योद्दा बुढामगरले क्यान्सरसँगको लडाइ हारे। उपचारका क्रममा ९० वर्षको उमेरमा २०७७, साउन ७ गते बुधबार बिहान ४.३० बजे ललितपुरस्थित पाटन अस्पतालमा अन्तिम सास लिए।

उनको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढा नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्दा भएको बताउँछन्।

‘सामन्तवाद विरोधी मुक्तियुद्वमा बुढामगर जहिले पनि अग्रमोर्चामा रहनुभयो। उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक सङ्घर्षका प्रेरणादायी अभिभावक गुमाएको छ’, अध्यक्ष दाहालले विज्ञप्तिमार्फत भनेका छन्।

त्यस्तै थबाङ निवासी स्थानीय वुद्धिजिवी ग्रिस पुन समाजिक सञ्जालमा लेख्छन्,‘रोल्पाको कम्युनिष्ट आन्दोलनको जिउँदो इतिहास, टुट फुट र विभाजन हैन, सधै एकताको पक्षपाती, थबाङको शैक्षिक इतिहासको सचेत पहलकर्ता हाम्रो कुशल अभिभावक क. बर्मन बुढाको दुःखद निधनले मर्माहत भएको छु।’

उनको भौतिक शरीरले यस धर्तिबाट विश्राम लिएको छ , तर थबाङको इतिहासमा बर्मन बुढामगरलाई युग युगसम्म आउने पुस्ताले सम्झिरहनेछ। थबाङी जनताले सुख दुःखमा साथ दिने एक असल अभिभावक गुमायो।

अलबिदा, बर्मन बुढामगर बा !

गत साल २०७६ फाल्गुन २१ गते बर्मन बुढामगरसँग हामीले गरेको ‍कुराकानीको सम्पादीत श्रव्य दृश्य (भिडियो)

प्रकाशित मिति: : 2020-08-03 20:41:00

प्रतिकृया दिनुहोस्