यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, याे प्रवृत्ति बदल्नुपर्‍याे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई विरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका हुन्। 

‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध। कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध’,  प्रधानमन्त्रीले भने, ‘महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न। जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने पनि बताए। 

उनले भने, ‘कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ।’

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लकडाउन गर्ने, नगर्ने कुरा समुदयमा संक्रमणको स्तर हेरेर निर्धारण हुनुपर्ने बताए। ‘हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडाइ गर्नुपर्ने भन्दै मुख छोपेर हिँड्न बानी पार्नुपर्छ,’उनले भने।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले सुझाव लिने क्रममा अब प्रतिदिन १८ हजार जनासम्मको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिइएको छ।

हालसम्म चार लाख जनाको पीसीआर टेस्ट भएको जानकारी समेत सरकारले दिएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग परामर्श गरिरहेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेका छन्।

कोरोना भाइरसको वर्तमान वस्तुस्थिति सम्बन्धमा विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्श गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-08-04 13:18:38

प्रतिकृया दिनुहोस्