कोरोना संक्रमितको मृत्यु भएपछि धादिङ सदरमुकाममा लकडाउन

सदरमुकामकै सिरानबजारका होटल व्यवसायीको मृत्यु पछि कोरोना संक्रमण पुष्टिभएपछि जिल्ला सदरमुकाम पुनः लकडाउन गरिएको छ।

नीलकण्ठ नगरपालिका १४ छाप निवासी ३९ वर्षीय व्यवसायी बस चालेक समेत थिए। 

कमलपित्त लगायत रोगको उपचार गराइ रहेका उनलाई आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पताल काठमाडौंमा भर्ना भएका थिए। मंगलबार उनको कोरोनाका कारण अस्पतालमै मृत्यु भएको हो। 

लकडाउन खुकुलो भएपछि उनी दैनिक जसो धादिङ काठमाडौं सिमाना खत्री पौवासम्म यात्रु ओसार्ने गरेका थिए।

सेनाको टोलीले शव व्यवस्थापन गरेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले बताए।

बुधबार बिहान बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितीको बैठकले सदरमुकाम लकडाउन गर्ने निर्णय गरेको हो।

एक हप्ताको अवधीमा धादिङ सदरमुकाममा ५ जना र जिल्लाका अन्य स्थानमा १० जनालाई कोरोना संक्रमण देखिएपछि जिल्ला सदरमुकाम एक हप्ताका लागि पूर्ण बन्द गर्ने निर्णय भएको प्रमख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

भदौ ३ गतेसम्मका लागि अत्यावसकीय सेवा बाहेक सेवाग्राहीको भीड हुने अन्य सबै सार्वजनिक सेवाहरु बन्द गर्ने निर्णय गरिएको उनले बताए।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा २५ जना कोरोना संक्रमित देखिएको छ। ती मध्ये जिल्लाको आइसोलेसनमा १२ जना मात्रै रहेका र अन्य १३ जना राजधानीतिरै उपचार गराइरहेको छन्।

प्रकाशित मिति: : 2020-08-12 18:59:56

प्रतिकृया दिनुहोस्