राखेपका नवनियुक्त बोर्ड सदस्यले लिए शपथ

राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

त्रिपुरेश्वरस्थित राखेपको हलमा सोमबार ६ जना बोर्ड सदस्यलाई युवा तथा खेलकुदमन्त्री तथा राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ खुवाएका हुन्।

नयाँ ऐनअनुसार बोर्डमा नियुक्त भएका रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठले शपथ लिएका हुन्।

रानाभाट र निराला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट सदस्य मनोनित भएका हुन्। यता अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ राष्ट्रिय खेल संघको सिफारिसमा मनोनित भएका हुन्।

यस्तै परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी गोविन्दप्रसाद भट्टराईलाई बोर्ड सदस्यमा मनोनयन गरिएको हो।

मन्त्री विश्वकर्माले साउन १५ गते विभिन्न क्षेत्रबाट ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका थिए। त्यसको दुई साताभन्दा लामो समयपछि मात्रै उनीहरुले शपथ लिएका हुन्।

बोर्ड सदस्यहरुलाई शपथ गराएपछि मन्त्री विश्वकर्माले बाँकी सदस्यहरु पनि नियुक्त गर्ने र बोर्डले पूर्णता पाउने बताए। 

नयाँ खेलकुद ऐनअनुसार राखेप ३७ सदस्यीय हुनेछ। जसमा नेपाल सरकार क्याबिनेटले पनि ९ सदस्य मनोनयन गर्नेछ।

प्रकाशित मिति: : 2020-08-17 17:34:51

प्रतिकृया दिनुहोस्