राष्ट्रकवि घिमिरेको निधनले नेपाली भाषी दुःखी, दार्जीलिङका सांसदले भने,‘नेपाली भाषाका लागि अपुरणीय क्षति’

राष्ट्रकवि माधव घिमिरेको निधन सम्पूर्ण नेपाली भाषीका लागि अपुरणीय क्षति भएको भारतीय सांसद राजु विष्टले बताएका छन्। 

उनले बुधबार राष्ट्रकविको निधनप्रति गहिरो शोक जनाउँदै नेपालभित्र बसोबास गर्ने नेपाली मात्र नभई विश्वभरि फैलिएका सम्पूर्ण नेपाली तथा नेपाली भाषीका लागि कल्पना गर्न नसकिने क्षति भएको बताए। 

दार्जीलिङ लोकसभाबाट सांसद रहेका विष्ट भारतमा छरिएर बसेका नेपाली भाषीको हकहितका लागि आवाज उठाउँदै आइरहेका छन्। 

उनले हालै मात्र गोर्खाली सेनामा कार्यरत नेपाली तथा नेपाली भाषीको छोराछोरी पढ्ने स्कुल तथा कलेजको स्त्तोरोन्नतीका लागि भारत सरकारसँग माग गरेका थिए। 

विष्ट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को टिकटबाट लोकसभामा सांसद चुनिएका हुन्। 

उनले आफ्नो सोसल मिडियामा पनि घिमिरेको निधनप्रति दुःख जनाउँदै लेखेका छन्, ‘प्रेमलाई जीवनको मुख्य उपलब्धि मान्ने हाम्रा कविवरलाई प्रेमपूर्ण श्रद्धाञ्जली एवम नमन।’

राष्ट्रकवि घिमिरेको निधन १ सय १ वर्षको उमेरमा मंगलबार साँझ काठमाडौंमा भएको थियो।

प्रकाशित मिति: : 2020-08-19 18:39:00

प्रतिकृया दिनुहोस्