गुगलको सर्भिस डाउन हुँदा १ सय ८० करोड प्रयोगकर्ता प्रभावित

विश्वको ठूलो टेक कम्पनी गुगलको सर्भिस डाउन भएको छ। यसका कारण सबैभन्दा ठूलो समस्या जिमेल, गुगल ड्राइभ र युट्युबमा देखिएको छ। 

जिमेल र गुगल ड्राइभमा फाइल एटेच भइरहेको छैन भने युट्युबमा भिडियो अपलोड गर्न समस्या भइरहेको छ। 

गुगलको कूल ६ सर्भिसमा समस्या देखिएको हो। जिमेल, ड्राइभ र युट्युबबाहेक गुगल मिट, गुगल भ्वाईस र गुगल डक्समा पनि समस्या भेटिएको छ। डेस्कटप र ऐप्समा पनि युजर्सहरूले केही समस्या भेटेका छन्। 

प्रयोगकर्ताहरूबाट समस्याको जानकारी पाएपछि गुगलको प्राविधिक टोली समस्यालाई ठिक गर्ने अभियानमा जुटेको छ।

गुगलमा देखिएको समस्याको विषयमा एक घण्टाभित्रै हजारौं युजर्सले ट्विटरमार्फत जानकारी दिएका थिए। 

इन्टरनेटमा निगरानी राख्ने डाउनडिटेक्टर वेभसाइटका अनुसार जिमेलमा २० अगस्टको बिहान ९ बजे समस्या आएको थियो। यतिबेला फाइल एटेच गर्न ६२ प्रतिशत समस्या देखिएको थियो। 

यस्तै, २७ प्रतिशत लग–इन र १० प्रतिशत म्यासेज रिसिभमा समस्या देखिएको थियो। युट्युबमा भने १९ अगस्टमा समस्या देखिएको थियो। 

यसमा अपलोडिङको समस्या ५१ प्रतिशत, भिडियो हेर्न ४२ प्रतिशत तथा वेभ साइट खोल्ने समस्या २४ प्रतिशत देखिएको थियो। 

गुगलमा सबैभन्दा ठूलो समस्या नै ८४ प्रतिशत लग–इनमा देखिएको थियो। गुगल ड्राइभमा ७६ प्रतिशत फाइल सिङ भइरहेको थिएन। 

विश्वभरि जिमेलको करिब १ सय ८० करोड प्रयोगकर्ता छन्। गुगलसँग २०२० मा इमेल सर्भिसको ४३ प्रतिशत मार्केट शेयर छ। 

यस्तै, २७ प्रतिशत मानिस फोन र इमेल गर्छन। इमेलका लागि ७५ प्रतिशतभन्दा बढी मानिस फोनको प्रयोग गर्छन। २०२० मा अहिलेसम्म हरेक दिन ३०६ दशमलव ४ बिलियन इमेल प्रयोग भएको छ।

प्रकाशित मिति: : 2020-08-20 19:44:50

प्रतिकृया दिनुहोस्