बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने बताएका छन्।

६ पटकका बालोन डि’ओर विजेता मेसीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ। तर उनले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन्। 

मेसीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए।

तर सामान्य अवस्थामा मे महिनामै सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो। यससँगै मेसीका अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिँदै क्लबलाई सम्झौता रद्द गर्न आग्रह गरेका छन्। 

मेसीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाममा लेखेका छन्। उनले स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै क्लबलाई पत्र पठाएका थिए। 

मेसीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका छन्। यस विषयमा छलफल गर्न बार्सिलोनाले क्लबको आकस्मिक बैठक डाकेको छ।

यस्तो छ मेसीको पत्र

‘यो पत्रको माध्यमबाट, म, लिओनल आन्द्रेस मेसी कुचीटिनी, आइडी नम्बर (...........) बाट, अनुरोध गर्दछुकी क्लबसँग रहेको मेरो व्यावसायिक सम्झौता रद्द होस्। सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रदान गरेको छ।

मेरो व्यक्तिगत विकास र व्यावसायिक सम्बन्ध विकासका लागि क्लबले यहाँको बसाईभर दिएको अवसरप्रति म आभारी छु।

मैले यहाँ प्राविधिक र व्यक्तित्व विकासमा धेरै कुरा सिक्ने अवसर पाएँ। अहिले व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु। मलाई आशा छ क्लब व्यवस्थापनले सहज रुपमा समन्वय गर्नेछ।’

पछिल्लो पटक मेसीलाई अनुबन्ध गर्न इन्टर मिलान, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) इच्छुक देखिएका छन्। यस्तैमा म्यानचेस्टर युनाइेटडले पनि चासो देखाएको छ।  

यसअघि पूर्व प्रशिक्षक एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेसीको सम्बन्ध राम्रो रहन सकेको थिएन। यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो। 

पछिल्लोपल्ट च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेसीले अन्यत्र कल्बमा जाने कुरा खुलाएका थिए।च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेसी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ।

मेसीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको छलफलमा बार्सिलोनामा आफ्नो भविष्य नरहेको प्रष्ट पारेका थिए। क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेसीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएको बुझिएको छ। यद्यपी कोम्यान भने उनलाई मनाउन लागि परेका छन्। 

‘मलाई थाहा छैन, मैले सहमत गर्न सक्छु कि सक्दिन तर मैले उनीसँग कुरा गर्न आवश्यक छ। उनी टिमका कप्तान हुन्। उनीसँग सम्झौता अझै बाँकी छ। उनलाई टिममा हेर्न चाहन्छु,’ कोम्यानले भनेका थिए।

उनले यसअघि भनेका थिए, ‘उनी प्ले मेकर हुन, उनले टोलीलाई जिताउँछन्। उनले आफ्नो क्षमता र स्तरलाई सधै देखाएका छन्। म त्यसका लागि सधै खुसी रहनेछु।प्रशिक्षकको रुपमा म काम गर्न चाहन्छु।’

तर ३३ वर्षीय मेसीले आफ्नाे भविष्य अरु कल्बमा रहेकाे बताइसकेका छन्। यदि मेसीले क्लब छाडे उनीबाट आयआर्जन गरेका उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्छ। मेसी मात्रै होइन लुइस स्वारेज, भिडाल, इभान रकिटिचलयगायतका खेलाडी बार्सिलोनाले बेच्न चाहेको छ।

तर मेसीको स्तरको खेलाडी जति नै रकम तिरेर पाउन गाह्रो हुने बार्सिलोनाले बुझेको छ। यसको बिकल्पमा नेयमार पनि छन्। तर उनलाई बार्सिलोना नफर्काउने कल्बले संकेत दिसकेको छ।

बार्सिलोनामा नेयमार रहँदा मेसीसँग उनको साझेदारी उत्कृष्ट थियो। मेसीले २०१७ मा बार्सिलोना छाडेका नेयमारलाई पुनः फर्काउन आग्रह गरेका थिए। तर नेयमारलाई क्लबमा फर्काउन नसक्दा मेसीले आक्रोश पोखेका थिए।

यता बार्सिलोनका अध्यक्ष जोसेप मारिया बर्टोमेउले यसअघि मेसी मेसी क्लबको लागि प्रोजेक्टको पिल्लर भएकाे भन्दै आफ्नो खेल करियर क्याटलान क्लबमै अन्त्य गर्ने बताएका थिए।

बार्तोमेउले भनेका थिए, ‘उनको सम्झौता सन् २०२१ सम्मको छ। तर मेसी आफ्नो खेल जीवन नै बार्सिलोनामा अन्त्य गर्न चाहन्छन्। उनले यो कुरा धेरै पटक भनेका छन्।’

बर्टोमेउले आगामी मार्चमा क्लबको नेतृत्वका लागि पुन निर्वाचन लड्दैछन्। उनी पुन अध्यक्षमा चुनिन चाहन्छन्। मेसीको बहिर्गमनले उनको नेतृत्वलाई अफठ्यारो पर्न सक्ने अनुमान गरिएको छ।

उनले मेसीका बुवासँग पनि लगातार कुरा गरिरहेकाे बताएका थिए।

‘मेसीसँग मैले लगातार कुरा गरिरहेको छु र उनको बुवासँग पनि। उनी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन्। कोएम्यानको नयाँ रणनीतिमा उनी नहुने कुरै हुँदैन,’ बार्तोमेउले भनेका थिए।

प्रकाशित मिति: : 2020-08-26 07:39:46

प्रतिकृया दिनुहोस्