बार्सिलोनाले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेको खण्डमा अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा गर्न सक्ने संकेत गरेका छन्।
मेसीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष बार्टोमेउको नाममा लेखेका थिए। उनले स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै क्लबलाई पत्र पठाएका थिए। मेसीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका छन्।
६ पटकका बालोन डि’ओर विजेता मेसीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ। तर उनले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन्।
बर्टोमेउले आगामी मार्चमा क्लबको नेतृत्वका लागि पुनः निर्वाचन लड्दैछन्। उनी पुन अध्यक्षमा चुनिन चाहन्छन्। मेसीको बहिर्गमनले उनको नेतृत्वलाई अप्ठ्यारो पर्न सक्ने अनुमान गरिएको छ। उनले मेसीका बुवासँग पनि लगातार कुरा गरिरहेको बताएका थिए।
मेसीले बार्सिलोना छाड्ने आफ्नो इच्छा प्रष्ट परे पनि उनी अर्को क्लबमा जाने विषय अझै तय भैसकेको छैन। सम्झौता अनुसार भने उनको रिलिज क्लज ७ सय मिलियन रहेको छ। उनका बारेमा टुंगो लाग्न अझै केहि समय लाग्ने देखिन्छ।
मेसीले सार्वजनिक रुपमै क्लबमा बस्ने घोषणा गरेको खण्डमा बार्टोमेउले पदबाट अलग हुने बताइएको छ। मेसीले पत्र पठाएपछि क्लब बोर्डको आकस्मिक बैठक बसेको थियो। उक्त बैठकमा विभिन्न कोणबाट छलफल हुँदा बार्टोमेउको राजिनामाबारे पनि चर्चा भएको थियो। बार्टोमेउले त्यसबेला केहि समय मागेका थिए।
बार्सिलोनाका नयाँ खेलकुद निर्देशक रामोस प्लानेसले मेसीलाई क्लबमै राख्नका लागि प्रयास गरिने बताएका थिए। अध्यक्ष बोर्टेमेउ मेसीसँग कुरा गरेर उनलाई मनाउने प्रयास गर्ने पक्षमा छन्। तर अर्जेन्टिनी सुपर स्टारको भने उनलाई भेट्ने कुनै योजना नभएको बताइएको छ।
मेसीले क्लब छाड्ने इच्छा व्यक्त गरेपछि बार्टोमेउमाथि बोर्डको अविश्वास बढेको बताइएको छ। यसअघि पनि बार्टोमेउ र मेसीबीच विभिन्न प्रसंगमा मतभेद रहेको बताइएको थियो। प्रशिक्षक भालभेर्डे बर्खास्त, नेयमार अनुबन्धन, ग्रिजमनको सम्झौता लगायत विषयमा यी दुईबीच सहमति हुन सकेको थिएन।
मेसी बार्सिलोनाको प्रशिक्षणमा सामेल हुने
आइतबार खेलाडीहरुको पिसिआर टेष्टमा मेसी पनि समावेश हुने बताइएको छ। सोमबारबाट क्लबको प्रशिक्षण सुरु हुनेछ। कोम्यानको त्यो पहिलो प्रशिक्षण सत्र हुनेछ।
आफ्नो विषयमा टुंगो लाग्नुअघि सम्म सबै विषय सामान्य देखाउनका लागि पनि मेसीले प्रशिक्षणमा भाग लिने बताइएको छ।
बार्सिलोनासँगको उनको बाध्यात्मक खालको सम्झौता छ। क्लबले नचाहँदा पनि मेसीले क्लब छोडे उनलाई कानुनी कारवाहीसम्म हुन सक्छ।