
बिएल संवाददाता
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोओल मेसीका लागि आफ्नो अफर स्पष्ट गरेको छ।
सिटीले अनुबन्धको लागि क्याटलान क्लब बार्सिलोना समक्ष तीन खेलाडी र ८९.५ मिलियन युरो अफर गरेको स्पेनिस मिडियाले दाबि गरेका छन्।
समाचारमा जनाइएअनुसार सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ।
गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको ठाउँमा लैजान यसअघि पनि प्रयास गरेकाे थियाे। तर सफल हुन सकेकाे छैन।
मिडिया रिपोर्टमा मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ। सिटीको शर्तहरु बार्सिलाेनाले स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेसीको पुनर्मिलन पनि हुनेछ।
ग्वार्डिओलाले बार्सिलोनामा मेसीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए। गुग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा क्लबले लगातार सफलता हात पर्नुका साथै मेसीले आफूलाई विश्व स्तरीय खेलाडीको रुपमा स्थापित गरेका थिए।
त्यसबेला मेसीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए। स्पोर्ट्स मेलको अनुसार प्रशिक्षक पेप र मेसी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए। यता मेसीका पिता सम्झौताबारे छलफल गर्नका लागि म्यानचेस्टर आइपुगेका छन्।
मेसीले पेपसँग छलफलपछि नै बार्सिलोना समक्ष आग्रह पत्र पठाएको बुझिएको छ। सिटीले मेसी आउने खण्डमा सिल्भालाई बार्सिलोना पठाउन आनाकानी गर्ने छैन। यता बार्सिलोनालाई पनि सिल्भाको आगमनले दिर्घकालिन समाधान हुने देखिन्छ।
यसैबीच स्पेनमा बार्सिलोनाका अध्यक्ष जेसेप मारियाले मेसीले सार्बजनिक रुपमा आफुसँग समस्या भएका कारणले बार्सिलोना छोड्न खोजेको बताएमा आफुले राजीनामा गर्न प्रस्ताव गरेको समेत बताइएको छ।
मेसीको समग्र प्रकरणका बीच अहिलेसम्म मेसीले बार्सिलोना छोड्ने सम्भावना बढी भएको र जाने क्लब म्यानचेस्टर सिटी लगभग तय नै भएको दाबि विभिन्न मिडिया रिपोर्टमा गरिएको छ।
अगुएरोले गरे मेसी सिटी आउने संकेत
बुधबार इन्स्टाग्राममा फरवार्ड सर्जियो अगुएरोले मेसी सिटी आउने संकेत दिएका छन्। यसअघि ‘सर्जियो अगुएरो १०’ युजरनेम राखेका उनले आफ्नो नामबाट ‘१०’ नम्बर हटाएर ‘सर्जियो अगुएरो’ मात्र राखेका छन्। यसले पनि अगुएरोले मेसीलाई १० नम्बर जर्सी दिन खोजेको बुझिएको छ।
यता मेसी सिटीमा आउनुको पछाडी आफ्नो बाल्यकालदेखिका साथी अगुएरोसँगको सम्बन्ध पनि महत्त्वपूर्ण पाटो रहेको बुझिएको छ।
हाल मेसीले सामाजिक संजाल इन्स्टाग्राममा ४ क्लबलाई मात्र फलो गर्दै आएका छन्। त्यसमा बार्सिलोना र बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइजसँगै म्यानचेस्टर सिटी र चेल्सी रहेको छ। मिडिया रिपाेर्ट अनुसार मेसीले पछिल्लो केहि दिनमा चेल्सी र सिटीलाई फलो गर्न थालेका हुन्।
३ वर्षे सम्झौता प्रस्ताव
सिटीले मेसीलाई उनको इच्छाअनुसार नै ३ वर्षको सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ। मेसीले बार्सिलोनामा प्राप्त गर्दै आएको तलबलाई सिटीले पनि प्रदान गर्न सक्ने बताइसकेको छ।
यसका साथै सम्झौतापछि सिटीको स्वामित्व रहेको अमरिकी क्लब न्युयोर्क सिटी एफसीबाट एमएलएसमा खेल्ने विकल्प पनि मेसीलाई दिइनेछ।
बार्सिलोना र ६ पटकका बालोन डि’ओर विजेता मेसीबीच सम्झौता अनुसार हरेक सिजनको अन्त्यपछि मेसीले चाहेको खण्डमा कुनै रकम नतिरी क्लब छाड्न पाउने प्रावधान रहेको थियो।
सम्झौता २०२१ सम्म रहेको छ। तर उनले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन्।
मेसीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए।
तर सामान्य अवस्थामा मे महिनामै सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो। यससँगै मेसीका अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिँदै क्लबलाई सम्झौता रद्द गर्न आग्रह गरेका छन्।
मेसीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाममा लेखेका छन्। उनले स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै क्लबलाई पत्र पठाएका थिए। मेसीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका छन्।
लगत्तै ग्वार्डिओलाले बार्सिलोनाको अवस्थाका बारेमा जान्नका लागि मेसीसँग कुरा गरेको बताइएको छ।
कल्ब छाड्न यस्ताे छ विकल्प
बार्सिलोनाले मेसीकाे रिलिज क्लज ७ सय मिलिय युरो तोकेको छ। सम्झौताको अन्तिम वर्षमा रहेपनि मेसीलाई क्लबको सहमतिबिना अनुबन्ध गर्न ७ सय मिलिय युरो तोकेको हो
७ सय मिलियन युरो तिर्न सफल भए बार्सिलोनाको अनुमति बेगर पनि मेसीले क्लब छाड्न पाउने स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ।
बार्सिलोनाले राखेको रिलिज क्लज २०१७ मा ब्राजिली नेयमारले पाएको विश्व कीर्तिमानी ट्रान्सफर रकमभन्दा तीन गुणा बढी हो।
तर कुनैपनि क्लबले रिलिज क्लजको पूरा रकम तिर्ने सम्भावना छैन। विकल्पमा सबै क्लबले मेसीसँग व्यक्तिगत सम्झौता गरेर अर्को वर्ष फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गर्न सक्छन्।
यदि मेसीले क्लब छाडे उनीबाट आयआर्जन गरेका उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्छ। मेसी मात्रै होइन लुइस स्वारेज, भिडाल, इभान रकिटिचलयगायतका खेलाडी बार्सिलोनाले बेच्न चाहेको छ।
तर मेसीको स्तरको खेलाडी जति नै रकम तिरेर पाउन गाह्रो हुने बार्सिलोनाले बुझेको छ। यसको बिकल्पमा नेयमार पनि छन्। तर उनलाई बार्सिलोना नफर्काउने कल्बले संकेत दिसकेको छ।
बार्सिलोनामा नेयमार रहँदा मेसीसँग उनको साझेदारी उत्कृष्ट थियो। मेसीले २०१७ मा बार्सिलोना छाडेका नेयमारलाई पुनः फर्काउन आग्रह गरेका थिए। तर नेयमारलाई क्लबमा फर्काउन नसक्दा मेसीले आक्रोश पोखेका थिए।
अर्को विकल्प मेसीले आफ्नो दावी सहि भनेर सम्झौता तोड्दै सिटीसँग अनुबन्ध गर्ने। तर यो विकल्प प्रयोग गर्दा बार्सिलोनाले मेसीमाथि सम्झौता तोडेको भन्दै अदालतमा मुद्दा हाल्न पाउँछ।
विगतमा पनि मेसी र क्लबबीच सम्झौतालाई लिएर समस्या आउने गरेको थियो। यसअघि पनि पूर्व प्रशिक्षक एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेसीको सम्बन्ध राम्रो रहन सकेको थिएन। यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो।
याे पनि
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
हामी नेपाली सोझा कि मूर्ख?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया