आर्थिक अभावले उपचारमा समस्या

रासस

कावासोती
सांकेतिक तस्बिर

आर्थिक अभावका कारण  हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ। 

पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला परेकी छन्। 

दुई वर्षअघि पाठेघरमा क्यान्सर भएको थाहा पाएपछि चिकित्सकले उपचारका क्रममा पाठेघर फालिदिएका  थिए। त्यसपछि दुई पटक किमो चढाइएको थियो। शुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब रु १० लाख खर्च भएको उनका श्रीमान् सन्तबहादुर नेपालीले बताए। पहिलो पटक निःशुल्क किमो चढाएकोमा दोस्रोपटक वडा नम्बर ४ को संयोजनमा आर्थिक सङ्कलन गरी उपचार गरिएको श्रीमान् सन्तबहादुरले बताए।

श्रीमतीको उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको जग्गासमेत बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ। अहिले सम्पत्तिका नाममा सानो घर रहेको र त्यो पनि बैंकमा धितो रहेको उनले दुखेसो पोखे। 

वडा सदस्य नेपालीलाई फेरि पनि किमो चढाउनुपर्ने र त्यसका लागि पैसा नभएपछि उनी बिस्तरामा थलिएकी छन्। दई महिनाअघि सन्तबहादुर स्वयं बिरामी परेका थिए। उनलाई अल्सर र पित्तथैलीमा समस्या देखिएपछि बल्लतल्ल उपचार गराएकोमा अहिले पुनः श्रीमतीलाई समस्या देखिएपछि यो परिवार समस्यामा परेको छ। पन्ध्र दिनदेखि ओछ्यानमा श्रीमती थलिएपछि श्रीमान् सन्तबहादुरले हेरचाह गर्दै आएका छन्। तर उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन भने सकेका छैनन् ।

वडा कार्यालयबाट यसअघि पनि आवश्यक सहयोगका लागि समन्वय गरेको र अहिले पनि सहयोग सङ्कलनका लागि आवश्यक समन्वय गरको हुप्सेकोट–४, का वडाध्यक्ष रोशन थापाले बताए। श्रीमान्  सन्तबहादुरले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन्। सहयोगका लागि सुमित्रा नेपालीको नाममा एनसीसी  बैंक हुप्सेकोट शाखामा रहेको खाता नम्बर इ ०००५३२४२५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ। वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनका श्रीमानको मोवाईल नम्बर  ९८०५४५३५८५ मा  सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन्। 

प्रकाशित मिति: : 2020-09-07 09:35:24

प्रतिकृया दिनुहोस्