अति विपन्न दलित परिवारका घर निर्माण

रासस

फिदिम 
सांकेतिक तस्बिर

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ र २ का अति विपन्न ६ घर दलित परिवारको सरकारले घर निर्माण गरिदिएको छ। फाल्गुनन्द एक, नवमीडाँडाका तीन र वडा नं २ इम्बुङका तीन घर विपन्न दलितको जनता आवास कार्यक्रमअन्तर्गत सरकारले घर निर्माण गरिदिएको हो। प्रदेश नं १ को शहरी विकास तथा भवन निर्माण आयोजनाबाट प्रत्येक घर रु तीन लाख ३२ हजार ५०० को लागतमा निर्माणसम्पन्न भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुङ्वाङले जानकारी दिए।

फाल्गुनन्द–१ र २ का अति विपन्न ६ घर दलित परिवारको घर निर्माण भइसकेको अध्यक्ष कुरुङ्वाङले बताए। फाल्गुनन्द–१ नवमीडाँडाका भवानीबहादुर दर्जी, कमलबहादुर दर्जी र पूर्णबहादुर विश्वकर्माको घर निर्माण भएको छ। यस्तै फाल्गुनन्द–२, इम्बुङका मीरा बाग्दश, धनबहादुर दर्जी र धनराज दर्जीको घर निर्माणसम्पन्न भएको हो। सरकारले घर निर्माण गरिदिएपछि विपन्न वर्गका उनीहरु हर्षित भएका छन्। गरिबीकै कारण बस्ने राम्रो घर नभएको र चुहिने छानो भएको घरमा सुत्न, बस्नसमेत ढुक्कले राम्ररी नपाइरहेको बेला सरकारले घर निर्माण गरिदिएर गरिबहरुलाई राहत प्रदान गरेको कमलबहादुर दर्जीकी श्रीमती फूलमाया दर्जीले बताए। उनले भनिन्, 'हाम्रो लागि पनि सरकार छ भन्ने आभास भएको छ, सरकारले घर निर्माण गरिदिएर हाम्रा निम्ति ठूलो राहत प्रदान गरेको छ।' 

सरकारले घर निर्माण गरी दिएपछि विपन्न वर्गका पूर्णबहादुर विश्वकर्मा पनि खुशीले दङ्ग छन्। 'घर बनाउन सक्ने अवस्था थिएन, सरकारले घर निर्माण गरिदिएकाले हामी हर्षित भएका छौँ' उनले भने, 'सरकारले यतिका खर्च गरेर घर निर्माण गरेर हामी गरिबको उद्धार गरेको छ।' यस्तै सरकारले घर निर्माण गरिदिएपछि फाल्गुनन्द–१ का भवानीबहादुर दर्जीले समेत खुशी व्यक्त गरे। उनले भने, 'हामी विपन्नको घर बनाउने अवस्था थिएन, बालबच्चाहरु धेरै, सरकारबाट घर पाइयो, बसियो, आनन्द भयो, एकदम गौरव लागेको छ।'   

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरहरु प्राविधिक मापदण्डबमोजिम नै निर्माणसम्पन्न भएको फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिंङ नेम्वाङले बताए। वडा नं. २ मा निर्माण गरिएका घरहरु गुणस्तरीय सामग्रीको प्रयोग गरी प्रभावकारी ढङ्गले निर्माण गरिएको उनको भनाइ छ।

खानेपानीको महसुल घट्यो

पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ। सुक्खा क्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्यूनतम महसुल घटाइएको हो। यसअघि न्यूनतम महसुल रु ५०० तोकिएको तर त्यसलाई घटाएर न्यूनतम महसुल रु २५० पु¥याइएको छ। तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको सोमबार बैठक बसेर महसुल घटाइएको समितिका महासचिव अमरसिंह थापाले बताए।

महसुल परिमार्जन गर्न यसअघि नै समितिले कार्यादल गठन गरेको थियो। गठित कार्यदलको प्रतिवेदनका आधारमा खानेपानीको महसुल घटाइएको समितिका महासचिव थापाले बताए। तमोर लिफ्ट खानेपानी उपभोग गर्दै आएका उपभोक्ताले तीन हजार लिटर पानी प्रयोग गर्दा रु २५० महसुल बुझाउनुपर्ने हुन्छ। तीन हजारदेखि ६ हजार लिटर पानी प्रयोग गर्दा पुरानै महसुल कायम भएको तर तीन हजारभन्दा कम पानी प्रयोग गर्दा भने रु २५० बुझाउनुपर्ने थापाको भनाइ छ।

सुक्खा क्षेत्रका आर्थिक रुपमा विपन्न र एकल परिवारका लागि यो निणर्यले राहत पुग्ने समितिका कार्यवाहक अध्यक्ष तथा कार्यदलका संयोजक मेघराज निरौलाले बताए। यसअघि महसुल बढी भएको भन्दै जनगुनासो बढ्न थालेपछि कार्यादल गठन गरिएको थियो। विपन्न र एकल परिवारले गुनासो गरेपछि महसुलमा फेरबदल गर्नु परेको निरौलाको भनाइ छ। सो बैठकमा तमोर लिफ्ट उपभोक्ता समितिका पदाधिकारी, निर्माण कम्पनी र खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्राविधिकको उपस्थितिमा बैठक बसेको थियो।
 

प्रकाशित मिति: : 2020-09-15 14:51:15

प्रतिकृया दिनुहोस्