कुलमान घिसिङलाई रामकुमारी झाँक्रीको आग्रह– ‘नेकपामा आउनुस्, सँगै लडौँला’ (अन्तर्वार्ता, भिडियाे)

नेकपा केन्द्रीय सदस्य हुन्– रामकुमारी झाँक्री । उनी सडक आन्दोलनबाट स्थापित भएकी युवा नेतृ हुन् । ०६३ को जनआन्दोलनका बेला अनेरास्ववियूकी अध्यक्ष थिइन् । अहिले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य छिन् । उनी संसद्को अर्थ समितिकी सदस्य पनि हुन् । 

कुनै पनि विषयमा खुला अभिव्यक्ति दिएर जनमत सिर्जना गर्नु उनको स्वभाव हो । दैनिक २१ घन्टासम्मको लोडसेडिङ हटाएर जनताको विश्वास जितेका व्यवस्थापक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति सरकारले गरेको छैन । कुलमानको पक्षमा सडकमा जुलुश निस्केको छ । सत्तापक्षकी सांसद् झाँक्री पनि घिसिङको पुनर्नियुक्तिको पक्षमा छिन् । 

कुराकानीका क्रममा झाँक्रीले कुलमानलाई पुनर्नियुक्ति गर्न कानून बाधक रहेको भन्ने सरकारको प्रवक्ताको तर्कलाई अस्वीकार गरिन् । भनिन्, ‘उनी टीम लिडर थिए । उनको परिणाम जम्मै टीम वर्क हो । उनी इमान्दार भए । मैले आज कुलमानको इमान्दारिताको कदर गर्नुपर्छ भनेको हुँ ।’ 
पुनर्नियुक्ति नगर्दा कुलमानलाई लाभ भएको बताउँदै उनले भनिन्, ‘त्यसको जोखिम नेकपालाई छ । यदि भोलि अर्को कार्यकारी निर्देशक आएर फेरि लोडसेडिङ सुरु भयो त्यसको मूल्य नेकपालाई महंगो पर्ने छ ।’

पुनर्नियुक्ति भएन भने यत्तिको जनविश्वास जितेका कुलमानलाई राजनीतिमा आउन आग्रह गर्दै भनिन्, ‘तपाईंसँग यत्रो जनमत छ, नेकपामा आउनुस्, सँगै लडौँला ।’ कुलमान घिसिङको बहिर्गमनबाट पर्नसक्ने प्रभावबारे नेकपा नेतृ रामकुमारी झाँक्रीसँग माधव ढुङ्गेलले गरेको संवाद ।


कुलमान घिसिङ जनताले विश्रवास गरेको एक जना व्यवस्थापक। उहाँ नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक २१ घन्टासम्मको लोडसेडिङ थियो, जुन उहाँको नियुक्तिपछि चामत्कारिक हिसाबले अन्त्य भयो । उहाँको एक कार्यकाल पूरा भएको छ  तर तपाईंकै पार्टीको सरकारले पुनर्नियुक्ति गरेको छैन । जनताले भने उनलाई हटाएको बुझेका छन् । त्यसैले कुलमानको नियुक्तिको माग गर्दै सडकमा जुलुश निस्केको छ । यसलाई कसरी लिनुभएको छ ?

सबैभन्दा पहिले त सरकारको स्वामित्वमा भएको नेपाल विद्युत प्राधिकरणको एक जना व्यवस्थापकको पक्षमा जुन जनमत छ, त्यो जनमत प्राप्त गर्न सक्नुभएकोमा म उहाँ (कुलमान घिसिङ) लाई हार्दिक बधाई दिन्छु । धेरै कम मान्छेलाई समाजले चाहन्छ– तपाईंले अझै हाम्रो निम्ति काम गर्नुहोस् भनेर । उसले गरेको कामको यस्तो बिम्ब बन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ उसले समाधान दिनसक्छ भनेर मान्छेले पछ्याइरहेका हुन्छन् । 
चिलिमे जलविद्युत आयोजनादेखि नै उहाँ राम्रो म्यानेजर हो भन्ने एक खालको छवि दिनुभएको थियो । त्यहाँ पनि उहाँको कार्यकाल थपिएन । 
पछि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आएर उहाँले धेरै राम्रो काम गर्नुभयो । विद्युत प्राधिकरण घाटामा थियो । डरलाग्दो लोडसेडिङ थियो । अनियमितता र भ्रष्टाचार थियो । 

जनताले थाहा पाउने मूल विषय त ‘असंभव’ भनिएको लोडसेडिङ अन्त्य गरेर नेपालीको घर उज्यालो बनाउनु थियो, हैन ? 

२४ घन्टाको दिनमा २१ घन्टा लोडसेडिङ हुन्थ्यो । त्यो तीन घण्टामा पानी तान्ने कि ‘इन्भर्टर’ चार्ज गर्ने कि बत्ती बाल्ने ? बिजुली थियो भन्ने पनि भएन । 
त्यसमा कति विजुली उत्पादन भएर थपियो होला, कति भारतबाट ल्याइयो होला । विद्युतलाई मूल प्रवाहीकरण गरेर आयो होला । त्यसको व्यवस्थापन त ठूलो कुरा रहेछ नि त ? उहाँले जुन व्यवस्थापन कुशलतापूर्वक गर्नुभयो, मान्छेले सम्झन्छन् । 

हाम्रो बानेश्वर क्षेत्रमा शनिबार राति १२ बजेतिरबाट बत्ती थिएन । म तीन बजे उठ्दा पनि बत्ती थिएन । त्यो पानी आउने समय थियो । पछि साढे ७ बजे हाराहारीमा बत्ती आएको थियो । फेरि बत्ती गयो । 

वडा सदस्यको घर पनि मेरोसँगै छ । प्रदेश सांसद्को घर पनि सँगै छ । मलाईभन्दा पहिला उहाँहरुलाई खोज्नुहुन्छ– स्थानीयले । तर, आज बिहानै मात्र पनि मलाई यत्ति धेरै फोन आयो– ‘लोडसेडिङ अघोषित हिसाबले सुरु गरेको हो कि क्या हो ?’ भनेर । कुलमानजी जानुभो, बत्ती जान थाल्यो भन्ने मानक बन्यो ।

धेरै कल फोन आएपछि मैले ‘नो लाइट’ मा फोन गरेँ । कर्मचारीले यस्तो नराम्रो ‘रेस्पोन्स’ गर्नुहुन्छ– ‘आइहाल्छ नि बत्ती’ भनेर फोन ढ्याक्क राख्नुहुन्छ । एकपटक फेसबुक स्ट्याटस पनि लेखेँ । फेरि हटाइदिएँ, अति नै होला भनेर । यस्तो हालत छ । 

एकजना प्रमुख कार्यकारी आउँछन्, जान्छन् तर संस्थाको ‘सिस्टम’ त आफ्नो हिसाबले चलिरहनुपर्ने होइन ?

एउटा व्यवस्थापक आउने र जाने निरन्तरको प्रक्रिया हो । अस्थायी मामिला हो तर कुलमान घिसिङले नै किन विश्वास जित्नुभयो ? त्यहाँको खराब व्यवस्थापनको कारण जनतालाई जुन अन्धकारमा राख्ने काम भएको थियो, त्योबाट उज्यालोको आभाष दिनुभो । कसैले त गर्छ नि भन्ने विश्वास दिएको भएर उहाँको पक्षमा जनमत थियो । पुनर्नियुक्ति दिएको भए सरकारकै विश्वसनीयता बढ्थ्यो । 

हामी अहिले बत्ती बाल्ने मात्रको कुरा गरिरहेका छौँ । जीवनका लागि बिजुली प्रयोग गर्ने भन्ने त कुरो छैन । उपयोगिताको पनि कुरो छैन । बिजुलीको एउटा स्तरीयताको कुरा छैन । 

हाम्रा विद्युतीय उपकरणको कुनै ‘स्ट्याण्डर’ छैन । जुन पायो, त्यही चलाएका छौँ । त्यो भएर हाम्रो असुरक्षा ज्यादा छ । १०–२० वाट बिजुली बाल्ने कुरालाई मान्छेले यत्ति महत्वपूर्ण ठान्ने अवस्था हाम्रो दुर्भाग्य हो । 

 

उहाँको बहिर्गमनमा धेरै मान्छेले चिन्ता व्यक्त गर्नुभएको छ । अघि तपाईंले भन्नुभएजस्तै उहाँ आफ्नो कार्यकाल पूरा गरेर जानुभएको हो । राम्रो काम गरेर स्याबासी पाएर गएको हो । उहाँलाई पुनर्नियुक्ति नगर्दा कारवाही गरेको हो कि जस्तो अनुभूति आम मान्छेले गर्नुभएको छ । उहाँमाथि यति धेरै विश्वास छ कि उहाँबाहेक अरु आयो भने हामी फेरि ‘लोडसेडिङ’मा जान्छौँ कि भन्ने पर्‍यो । 

बिजुली भनेको त बत्ती बल्यो, उज्यालो हुन्छ । निभ्यो, अँध्यारो हुन्छ । यसको बीचमा कुनै ‘ग्रे लाइन’ नै भएन नि, त्यसले हो ?

दाउरा भए पो लिप्को मरे पनि कोइला हुन्छ । बिजुलीमा बीचको ठाउँ छैन । कि शुन्य हो, कि १०० हो । हाम्रो ग्रामीण क्षेत्रमा विद्युतीकरण पनि भइरहेको छ । त्यसले गर्दा माग बढ्दै जाने, उत्पादन नहुने, वितरण प्रणाली व्यवस्थित नगरेर ‘लोड म्यानेजमेन्ट’ मा असफलता हात लाग्ने संभावना छ । उहाँको पुनर्नियुक्ति कथम्कदाचित भएन भने कार्यकारी प्रमुख गतिलो आएन र ऊ कुनै प्रलोभनमा परेर जनतालाई धोका दियो भने लोडसेडिङ फेरि निश्चित छ । 

अहिले पनि हामीसँग बिजुली छेलोखेलो छैन । सानातिना दुई–चार मेगावाट बिजुली उत्पादन गरेको पनि ट्रान्समिशन लाइनको अभावका कारण आउन सकेको छैन । त्यो जम्मै कारणले गर्दा कथम्कदाचित लोडसेडिङ भयो भने  ‘सिम्बोलिक’ हिसाबले लोडसेडिङको विकल्प कुलमान घिसिङ भन्ने त हुने नै भयो । त्यस कारण सरकारका लागि धेरै ठूलो चुनौती छ । 

‘ट्रान्समिशन’का धेरै काम अहिले पनि बाँकी छन् । बिजुली उत्पादनमा पनि धेरै काम बाँकी छन् । खाली बिजुली बाल्नेसँग कुलमान घिसिङलाई यत्ति धेरै जनताले विश्वास गर्नु भोलि आउने कार्यकारी निर्देशकलाई ठूलो चुनौती हो । यो स्वयम् सरकारका लागि पनि चुनौती हो । 

नयाँ कार्यकारी निर्देशकको कार्यकालभित्रै अहिले भएको भन्दा झण्डै दोब्बर बिजुली थपिने तयारी छ । यसमा जनताको अर्बौ रुपैयाँ लगानी भएको छ । राम्रो व्यवस्थापक भएन भने सरकार पनि र लगानीकर्ता पनि मारमा हुने अवस्थामा कुलमानजस्तो ‘टेस्टेड’ र अनुभवी कार्यकारी निर्देशक नै कम जोखिमपूर्ण हुन सक्दैनथ्यो भन्ने तपाईंको भनाइ हो तर सरकारका प्रवक्ताले पुनर्नियुक्तिका लागि कानूनी बाधाको कुरा गर्नुभएको छ, होइन ? 

सरकारको प्रवक्ताले भन्नुभो, ‘उहाँलाई नियुक्त गर्न नसकेको हाम्रो कानूनी अप्ठेरोले हो । उहाँसँग हामी ‘बायस’ छैनौँ ।’  एकातिर यस्तो भन्ने, अर्कोतिर व्यक्तिले ठीकै गरिरहेको छ भनेर जनतालाई विश्वास जगाइरहने ! यसबाट त्यसपछि आउने मान्छेबारे समाजले पूर्वधारणा बनाउँछ । जनताले पूर्वधारणा बनाएजस्तै मान्छे आयो भने सरकारको लागि धेरै महङ्गो पर्छ । 

अहिले साह्रै राम्रो काम भएको थियो, कमजोरी नै थिएन भन्ने होइन । कुलमान घिसिङका पनि काम गर्दा तमाम कमजोरी भए पनि होलान् । उहाँले गर्न बाँकी पनि धेरै होला । चार वर्षमा सबै गर्न संभव पनि नहोला । जनताले पत्याएको अँध्यारा दिनहरुलाई उज्यालो बनाइदिए भनेर न हो । 
ठूला–ठूला आयोजनाहरु एउटा कार्यकारी अधिकृतले मात्रै ‘डिल’ गर्ने, गराउने भन्ने कुरा पनि छैन । राजनीति र बिचौलियाहरुले एकदमै गिजोलेको डरलाग्दो अवस्था छ । 

कुलमानले जनताको हितमा इमान्दार भएर काम गर्दाको प्रतिफल त सरकारबाट नपाए पनि सडकबाट पाएका छन् हैन ?

कुलमान घिसिङको लागि त एकदमै राम्रो भयो । एक जना विद्युत प्राधिकरणमा जागिर खाएको मान्छेलाई सडकमा हजारौँ मान्छे उत्रेर ‘कुलमान चाहिन्छ’ भन्ने अवस्था उहाँका लागि सुखद् कुरा हो । अझ म जुन पार्टी (नेकपा) मा छु, त्यो पार्टी र सरकारका लागि यो महंगो हो । अब उहाँसँग तुलना गर्दा उहाँभन्दा धेरै राम्रो काम गर्ने मान्छे आएन भने त्यसको ‘पे–ब्याक’ मेरो पार्टीलाई महंगो पर्छ । 

त्यस कारण कुलमान घिसिङ सर, तपाईंलाई धेरै बधाई ! तपाईंसँग यत्रो जनमत छ, राजनीतिमै आउनुस् । म उहाँलाई यही आग्रह गर्छु । राजनीतिमा पनि सानो पार्टी बनाएर आफ्नै जिन्दगीमा संभव छैन । 

पुष्पलालले ००६ सालमा स्थापना गरेको पार्टीले बल्ल बहुमतको सरकार बनाएका छौँ–७१ वर्षपछि । नेपालीको औषत आयु ७१–७२ वर्ष छ । त्यसैले आफैँ पार्टी बनाएर बहुमत ल्याएर सरकार चलाएर आफ्नै जीवनकालमा तरक्की गर्न सकिँदैन । यहीँ बनिबनाऊ पार्टी छ– आउनुस् । तपाईंका लागि छाड्न म तयार छु । म महिलातर्फको समावेशीबाट खुलामा उठेको थिएँ– केन्द्रीय सदस्य । म तपाईंका लागि पार्टीमा म वातावरण बनाउँछु– आउनुस् हाम्रो पार्टीमा । 

तपाईंले हाम्रो पार्टीमा आउनुस् भन्ने त एउटा पाटो होला ।  राम्रो डाक्टर उपचारका लागि, राम्रो व्यवस्थापक व्यवस्थापन गर्न, राजनीतिज्ञ राजनीतिका लागि हो । कुलमानजीजस्ता मान्छेले आफ्नै फिल्डमा काम गर्नुपर्छ, देश बनाउनुपर्छ भन्ने होइन ? तपाईंको आह्वानले उहाँमा राजनीतिक महत्वाकांक्षा थप्दैन ? 

उहाँले समाजमा जे विश्वास आर्जन गर्नुभयो । विश्वास भन्ने चिज कस्तो हुन्छ भने आफ्नो वास्तविकतालाई जब मान्छेले थाहा पाउँदैन भने अलौकिक शक्ति छ भनेर मान्छे बाँच्छ । हाम्रो समाजमा कोरोना महामारीको संकट छ । यस्तो अवस्थामा राम्रो काम गर्ने मान्छेले आशा सिर्जना गरेको छ । यो आशाका लागि पनि तपाईं राजनीति नै गर्न चाहनुहुन्छ भने हाम्रै पार्टीमा आउनुस् । 

कुलमान घिसिङको सम्पूर्ण क्षमता लोडसेडिङ अन्त्य गर्ने मात्र होइन, योभन्दा धेरै क्षमता छ । त्यसको प्रयोग अर्को कार्यकाल पनि यहीँ राखेर गरौँ भन्ने आम नागरिकको विश्वास देखियो । सरकारको चाहिँ दिने जति दिए, अब केही दिन सक्दैनन् भन्ने जस्तो देखियो, होइन त ?

कुलमान घिसिङ खासमा क्षमताभन्दा बढी इमान्दार हो । एउटा इमान्दार मान्छेका प्रति मान्छेले विश्वास गरेका हुन्छन् । क्षमता त ‘टीम वर्क’ ले आर्जन गर्छ । म एक्लैले केही पनि तरक्की गर्दिनँ । मसँग १० जना मान्छेको टीम बनाएँ भने टीमले आर्जन गर्ने विश्वासले क्षमता आर्जन गर्छ । एउटै मान्छेले तरक्की गर्न संभव छैन । 

त्यसैले, चन्द्रमामा निल आर्म स्ट्रङ जाँदा उनीसँग पनि अरु मान्छे थिए । ‘नासा’मा बसेर अरुले काम गरिरहेका थिए होलान् । उनी टीम लिडर मात्र थिए । त्यो हुनाले यो जम्मै टीम वर्क हो । एउटा पात्रलाई अगाडि लगाएर जाने हो । त्यो पात्र इमान्दार भइदियो । मैले आज कुलमानको इमान्दारिताको कदर गर्नुपर्छ भनेको हुँ । 

उहाँको कार्यकालमा विद्युत प्राधिकरणमा भ्रष्टाचार भएन होला, सबै म भन्दिनँ । नराम्रा काम भए होला, भ्रष्टाचार पनि भयो होला । नोक्सानमा गएको विद्युत प्राधिकरणले नाफा कमायो । उहाँभन्दा अघिको कार्यकारी निर्देशकले डेडिकेटेड फिडरबाट उद्योगहरुलाई दिएको बिजुलीको बिल मात्र ९ अर्बभन्दा बढी छ । मिनाहा गर्न फाइल बोकेर हिँडेका थिए । त्यो अहिलेसम्म भएको छैन । 

टीमको नेतृत्व गर्ने एउटा मात्र मान्छे इमान्दार भइदियो भने उसको टीममा काम गर्ने बेइमानलाई त्यसो गर्ने छुट हुन्न । उहाँले आफू इमान्दार भएर उभिएर टीम परिचालन गरेर ‘कलेक्टिभ’ टीम वर्कबाट काम गर्नु भो, त्यसको सफलता हो । कुलमान एक्लैको त्यत्रो चमत्कार होइन । उहाँ पनि मान्छे हो । रिस, राग, लोभ, द्वेष सबै चिज हुन्छ । टीम वर्क भएपछि हामीले योभन्दा धेरै गर्नुपर्छ भनेर विश्वास जितेरै यो काम गर्नुभएको जस्तो लाग्छ । 

उहाँको योभन्दा धेरै क्षमता र उपयोगिता छ भने योभन्दा ठूलो जिम्मेवारी दिऊँ । नत्र यहीँ इच्छुक हुनुहुन्छ, अर्काे एक कार्यकाल जिम्मेवारी दिऊ ?
सरकारका प्रवक्ताले नियमावलिमा मिलेन भनेको कुरो त गफै हो । उहाँहरुले यती र ओम्नी समूहलाई ठेक्का दिन नियमावलि संशोधन गर्नु हुन्छ । सार्वजनिक खरिद नियमावलि वर्षमा ११ पटक संशोधन हुन्छ । अस्ति सार्वजनिक खरिद ऐनले ‘साइट क्लियरेन्स’ नभएको ठाउँमा ठेक्का दिन नपाउने भन्ने ठाउँमा दिएको रेलको ठेक्का पछि क्यान्सिल भयो । 

गर्न हुने/नहुने चिज चाहिँ सबै गर्ने ? एउटा मान्छेले काम गरिरहेको छ, जनताले काम गर्न देऊ उसले हामीलाई  विश्वास र सेवा दिएको छ भनेर भन्दा कानूनले मिल्दैन भन्ने जत्तिको झूठ कुरा अर्को केही पनि होइन । 

त्यसैले उहाँको ढोका पूर्णतः बन्द भएको होइन होला । फेरि पनि कार्यकारी निर्देशक बनाएको छैन, उहाँलाई नै काम गर्न दिँदा राम्रो होला । चुनौती फेरि कुलमानजीलाई छ– उहाँले योभन्दा धेरै ‘कलेक्टिभ’ हिसाबले काम गर्नुपर्ने छ । 

भएन भने पनि जिन्दगी सकिएको छैन । तपाईंका जति मान्छे छन्, ती सहित आउनुस् राजनीतिमा । राजनीतिमा पनि यहाँ धेरै व्यवस्थापकीय काम पनि छ । खराबहरुलाई किनारा लगाउन पनि व्यवस्थापकको खाँचो छ । राजनीतिमा भएका बिचौलियाको अन्त्यका लागि पनि त लड्नु छ । तपाईं–हामी भएर यहाँ पो लड्न सकिन्छ कि भन्ने आश छ । 

हेर्नुहोस् भिडियो
 

प्रकाशित मिति: : 2020-09-20 12:58:00

प्रतिकृया दिनुहोस्