महामारीको बेला पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गरेको छ

ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँ, धादिङका स्थायीबासी ३४ वर्षे युवा पर्यटन व्यवसायी कृष्ण बहादुर सुवेदीलाई अघिल्ला वर्षमा यतिबेला फुर्सद हुन्न थियो।

नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशकसमेत रहेका सुवेदीलाई यो समय पर्यटक घुमाउन र व्यवस्थापन गर्न हम्मे हम्मे पर्थ्यो।

तर पछिल्लो ६ महिना यता अफिस बन्द गरेर आरामले बसिरहेका छन् सुवेदी। विश्वव्यापी कोरोना महामारीसँगै उनी फुर्सदिला भएका छन्।

२०५८ साल जेठमा आफ्नै दाजुको पदयात्रा कम्पनीमार्फत ट्रेकिङ भरियाको रूपमा पर्यटन क्षेत्रमा होमिएका सुवेदी सहायक गाइडहुँदै २०६२ सालदेखि टुर लिडर र गाइड भए।

यसरी टुर गाइडका रूपमा पर्यटक घुमाउन थालेको १२ वर्षको अवधिमा उनले धेरै कुरा सिके। व्यवस्थापनदेखि हरेक गतिविधिमा चलाख उनले २०७३ सालमा आफ्नै कम्पनी खोल्ने निर्णय लिए। नेपाल क्लाइम्बिङ एडभेञ्चर कम्पनी खोलेर मालिक बने।

२०५५ सालमा गाउँदेखि माध्यमिक शिक्षा हाँशिल गर्न काठमाडौं आएका उनी एसएलसी दिएर फुर्सदमा थिए। त्यहीँ बेला १० दिन ट्रेकिङ भरिया भएर लाङ्गटाङ पदयात्रा जाने अवसर जुट्यो। ट्रेक जानु अघि नै जापानिज पाहुनाले घडी उपहार दिएको उनलाई सम्झना ताजै छ। त्यतिबेला उनको दैनिक ज्याला ३०० थियो। पहिलो काम, १० दिनमै उनले तीन हजार कमाए त्यसको केही रकम खानामा खर्च भयो। साथमा जापनिज पाहुलाने घडी उपहार दिएर उनको प्रसंशा गरे।

त्यहीँ १० दिनको पदयात्रापछि उनलाई यो क्षेत्रले मोहित बनायो। २०५८ साल जेठदेखि उनी नियमित पर्यटन क्षेत्रमा संलग्न छन्।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेकोले निकै उत्साहित सुवेदीलाई कोरोना भाइरसको महामारीले स्तब्ध बनायो। यद्यपी उनले सिजनको सुरूवातमा २-३ पदयात्री ग्रुपलाई घुमाएर ल्याए। त्यसपछि विश्वभर महामारी फैलिएको भन्दै विभिन्न देशले बन्दाबन्दी लगाउन सुरू गर्‍यो र अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडान रद्द गर्न थाले। केही समयपछि नेपाल सरकारले पनि सम्भावित महामारी रोकथाम र नियन्त्रण  गर्न भन्दै मार्च २४ तारिख, २०२० (११ चैत, २०७६) बाट देशैभरी लकडाउन गर्‍यो। 

सुरूमा एक साताका लागि लगाइएको लकडाउन प्रकोप र संक्रमितको संख्या बढेसँगै लम्बियो। यसबाट पहिलेनै नेपाल घुम्न आउने भनेर पाहुनाले गरेका सबै बुकिङ रद्द भए। ‘लकडाउन लम्बिँदै गएपछि बसन्त ऋतुमा आउने अधिकांश पाहुनालाई शरद ऋतुका लागि सार्न लगाएँ’, बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘वसन्त ऋतु लकडाउनमै बित्यो। म जस्ता हजारौं पर्यटन व्यवसायीको व्यापार चौपट भयो।’

लाखौं पर्यटन मजदुरको काम सुक्यो, उनीहरू बेरोजगार भए। त्यो सँगै ठमेलका सयौं ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी, ट्रेकिङ सामाग्री पसल, होटेल, रेस्टुरेन्ट, ह्याण्डीक्राफ्ट, क्यूरियो पसललगायत पर्यटनसँग सम्बन्धित व्यवसायीको व्यापार ठप्प भयो, आम्दानी नकारात्मक तिर गयो।

इतिहास हेर्दा नेपालको पर्यटन क्षेत्रमा उकाली ओराली चलिरहेकै हो। लामो समयको राजनीतिक अस्थिरताले पनि पर्यटन व्यवसायमा असर पारेको थियो। २०५८ सालमा उनी पर्यटनमा क्षेत्रमा प्रवेश गर्दा देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो। १० वर्षे द्वन्द्वले पर्यटन क्षेत्रमा प्रभाव पारेको थियो तर पनि  नेपालाई माया गर्ने पर्यटक आइरहन्थे।

पदयात्राको क्रममा पर्यटकसँग तत्कालिन माओवादीले चन्दा संकलन गर्थे, नदिए थुन्ने पनि गर्थे। एकपटक तत्कालिन माओवादी कमान्डर विप्लवको नेतृत्वमा म्याग्दीको घोरेपानीमा पदयात्रीसँग जबरजस्ती चन्दा असुली भइरहेको थियो। त्यसक्रममा उनीसँगै पदयात्रामा गएका स्वीस नागरिकले माओवादीजस्तो हतियारको राजनीति गर्ने गुरिल्लालाई चन्दा नदिन भन्दै अश्वीकार गर्दै त्यहाँबाट भागेका थिए। तर गाइड गएका सुवेदी उनीहरूको निशानामा परे।

उनलाई त्यहाँका माओवादी सेनाले कब्जामा लिए। १-२ घण्टा केरकार गर्दै त्रासमा राखे। पछि नशिहत दिएर आइन्दा गल्ती नदोहोर्‍याउने सर्तमा उनी छुटे।

युद्वकालमा माओवादी र राज्य दुवै तर्फबाट थुप्रै अफ्ठ्यारा भोगे पनि प्राकृतिक छटाहरुले अद्भुत सुन्दर हिमाली पदयात्राले उनलाई मोहित नै बनाइराख्यो, पेशा परिवर्तन गर्ने सोच कहिल्यै आएन।

‘बन्द हड्ताल भइरहन्थ्यो। तर पनि पर्यटन गतिविधि चलिरहेको थियो’, उनी स्मरण गर्छन्, ‘यसरी ठप्प कहिले पनि भएन।’

२०७२ सालको महाभूकम्पले फेरि एकपल्ट नेपाल हल्लायो र नेपालको पर्यटन पनि। लाखौँ नागरिक घरविहिन भए, कयौं महिना त्रिपालमा रात बिताउन बाध्य भए। तर वसन्त ऋतुमा धक्का लागेको पर्यटन व्यवसाय केही महिनामै सुचारू भयो। लगत्तैको शरद ऋतुमा नेपालको पर्यटन व्यवसायमा चहलपहल बढ्यो।

भूकम्पीय राहत र सहयोगको रुपमा विदेशी पर्यटकहरु नेपाल आउन थाले। ‘भूकम्पले हाम्रो पर्यटनलाई २-३ महिना गाह्रो बनाए पनि, पछि सुचारू भयो, असर त्यति लामो समयसम्म भोग्न परेन’, उनले भने। 

माओवादी द्वन्द्व, राजनीतिक अस्थिरता र भूकम्पजस्ता घटनाले सुस्ताएको पर्यटन क्षेत्र त्यसपछिका वर्षहरू निरन्तर उकालो लाग्न थाल्यो। ‘२०७४ देखि २०७६ सालसम्म नेपालको पर्यटन इतिहासको स्वर्णीम युग हो। यी वर्षहरुमा नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या १० लाख भन्दा माथि नै रहे। पर्यटक आगमन संख्याले पर्यटन व्यवसायीहरु निकै उत्साहित थिए। देशको पर्यटन क्षेत्र निकै सुधारोन्मुख देखिएकोले होटल र रेस्टुरेन्टमा करोडौं लगानी गरे’,उनले भने।

सरकारले पनि नेपाल भ्रमण वर्ष-२०२० घोषणा गरेकोले पर्यटन व्यवसायी आ-आफ्नो तरिकाले प्रचारप्रसार र तयारीमा लागेका थिए। ‘हामी पनि भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई अझ स्तरीय सेवा दिने तयारी गरिरहेका थियौं। तर कसैले नसोचेको नयाँ वर्षको सुरुवातसँगै कोरोना भाइरस पनि सुनिन थाल्यो,’ उनले भने, ‘पहिला पहिलाको सार्स र इबोला जस्तै होला, केही दिनमा मत्थर होला भनेर त्यति वास्ता भएन। तर यसको प्रकोप  एसिया, यूरोप, अमेरिका, अस्ट्रेलियाहुदैँ विश्वभर फैलिदै गयो र झन झन संक्रमितको संख्या थपिदै गयो। अन्तत: नेपालमा पनि भाइरस संक्रमणको समाचार आयो। मानव गतिविधी, हिँडडुल, व्यापार व्यवसाय ठप्प हुँदै गयो। आज भोली भन्दै दिन, हप्ता हुँदै महिनौ बितिसक्यो। असोज कात्तिकको पर्यटकीय  मौसम पनि सुरू भयो जुन त्यतिकै बित्ने जस्तो छ।’

सुवेदीका अनुसार यहीँ अवस्था लम्विदै गए झन्डै २ दशक व्यतित गरेको पर्यटन क्षेत्रबाट पलायन हुने दिन आउनेछ। पर्यटन क्षेत्र धराशायी हुने दिन नआउला भन्न सकिदैन। 

'सरकार पर्यटन क्षेत्रप्रति उदासिन छ,' उनले सरकारप्रति गुनासो राखे, ‘सरकार आजसम्म मुकदर्शक भएर बसेको छ। विदेशमा सरकारले व्यावसायीलाई, राहत प्याकेज बाँडेका छन्। व्यापार व्यवसाय धराशायी हुनबाट जोगाउन न्यूनतम ब्याजदरमा बैकिङ क्षेत्रसँग समन्वय गरेर राहत तथा आर्थिक प्याकेज दिएका छन्। तर हाम्रो सरकार खाली लकडाउन, निषेधाज्ञामा मात्र व्यस्त छ। कुनै ठोस योजना र रणनीति बनाएको देखिदैन।’

सरकारले भर्खरै आन्तरिक उडान, छोटो र लामो दूरीको यातायात चलाउने निर्णय गरेको छ। विदेशी पर्यटकको लागि पदयात्रा र पर्वतारोहण खुला गरेको सुन्नमा आएको छ। पर्यटकहरूको लागि केही आवश्यक दिशानिर्देशहरू जस्तै आगमनमा (पीसीआर) परीक्षण नतिजा ७२ घण्टा अगाडिको हुनुपर्ने, नेपालमा सरकारले नियुक्त गरेको अस्पताल र क्लिनिकहरूबाट अर्को पीसीआर परीक्षण गर्नुपर्ने, होटेलहरूमा १४ दिन (काठमाडौँमा ७ र बाहिर ७ दिन) क्वारेन्टाइन बस्न पर्ने  र कोविड - १९ ट्राभल बिमा चाहिने बताएको छ।

‘हामी पर्यटन व्यवसायी सरकारको निर्णयवाट खुशी भए पनि झण्झटिलो प्रक्रियाले पर्यटकहरु नेपालमा तुरुन्त आउनेमा शंका छ,’ उनले भने, ‘जबसम्म नेपाल सरकारले विश्व जगतमा नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश दिँदैन र भिसालगायत भ्रमण मापदण्डमा प्रकियागत सहजीकरण गर्दैन यो सिजन पनि पर्यटक बिना बित्ने निश्चित छ।’

अब सरकारले एक कदम अगाडि बढेर मापदण्ड पालना गराएर सबै व्यापार व्यवसाय र मानव गतिविधि खोल्न दिनुपर्ने उनले सुझाए। पर्यटन क्षेत्रका व्यवसायी र मजदुरको मनोबल उच्च बनाउन सरकारले तत्कालै सहुलियत ऋण जस्ता आर्थिक प्याकेज दिनुपर्छ र कर छुट तथा अशुलीको समय सीमा बढाउन पर्ने उनको भनाई छ।

६ महिना यसरी नै बित्यो, केही कमाएको जोगाएको पैसा पनि सकिदै गयो। 'जेनतेन ऋणधन साथीभाइसँग सरसापटीमा चलेका छौं। यसरी कति दिनसम्म चल्ने हो!’, उनले भने, ‘आशा गरौं, राम्रा दिनहरु पक्कै आउनेछन्। विकसित राष्ट्रले यो वर्षको अन्त्यसम्म खोपको पनि आविस्कार गर्लान्। सन् २०२१ को सुरुवातसँगै भाइरस संक्रमणदर बिस्तारै साम्य पक्कै हुनेछ, त्यसपछि अवश्य पनि राम्रा दिनहरु आउनेछ।’

अझै पनि आशावादी रहेका उनले सन् २०२१ - २०२२ पक्कै पनि चुनौतिका वर्षहरू हुनेमा ढुक्क छन्।

प्रस्तुतिः सुरेन्द्र राना (घुमफिरे)

प्रकाशित मिति: : 2020-09-21 14:29:00

प्रतिकृया दिनुहोस्