सुनसरीमा दुई ट्राफिक प्रहरीसहित थप ६८ जनामा कोरोना संक्रमण

सुनसरीमा मंगलबार दुई ट्राफिक प्रहरीसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

धरान उपमहानगर क्षेत्रमा ३३ जना, इटहरी उपमहानगर क्षेत्रमा १८ जना र दुहवी नगरपालिका क्षेत्रमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये कतिपयलाई होम आइसोलेसनमा र अधिकांशलाई मोरङको गोठगाउँ, इटहरीको रंगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको इनरुवास्थित स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले बताए।

संक्रमितमध्ये धरान ८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय र २७ वर्षीय पुरुष ट्राफिक प्रहरी, बीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ वर्षीया एक युवतीलाई पनि संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य कार्यालयको अनुसार हालसम्म १ हजार ५ सय ३१ जना संक्रमित पुष्टि भएका छन् भने ८ सय ७७ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-09-22 14:23:30

प्रतिकृया दिनुहोस्