आइतबार, ०३ अगस्ट २०२५

१२ वर्षीया बालिका सम्झना कामीको हत्यारा राजेन्द्र बोहरा भएको दावी

News Image
• • •

जिल्ला प्रहरी कार्यालय बझाङले १२ बर्षीया बालिका सम्झना कामीका हत्यारा पत्ता लागेको जनाएको छ। 

प्रहरीले प्रेस विज्ञप्तीमार्फत हत्यारा बालिकाकै गाउँ मष्टा गाउँपालिका–२, खिकालाका २० बर्षीय राजेन्द्र बोहरा भएको दाबी गरेको हो। सम्झनाको बलात्कार पछि हत्या गरिएको थियो।

घटना भएकै दिन राजेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले बोहराको अपराधीक पृष्ठभूमि (क्राइम हिस्ट्री) पनि केलाएको छ। उनको विगत कोट्याउदै जाँदा राजेन्द्र श्रृङखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको प्रहरीले जनाएको छ।

 गत साउन २६ गते मात्रै खिकाला गाउँकै अर्को एक जना १३ वर्षीय दलित बालिकालाई बलात्कार गरेको घटना अनुसन्धानका क्रममा बाहिरिएको थियो। उनले साँझ ५ बजेको समयमा स्थानीय धनचडी बोहराको घट्ट भित्र पिठो पिस्न लागेकी ती बालिकालाई जवरजस्ती करणी गरेकोबारे आइतबार मात्रै जाहेरी आएको डिएसपी रुपक खडकाले बताए।

५ कक्षामा अध्ययनरत ती बालिकाले घटनाको तीन दिनपछि मात्रै बलात्कार बारे आफ्नी भाउजुलाई सुनाएकी थिइन। घटनाका बारेमा थाहा पाएपछि बालिकाका दाजु–भाउजुले राजेन्द्रका आमाबाबुसहित ‘पञ्चायत’मा मिलाएका थिए।

चरेस, मदिरा जस्ता नसालु पदार्थ सेवन गर्ने र समूहमा भन्दा एक्लै बस्न र हिडडुल गर्न रुचाउने राजेन्द्रले यसअघि पनि थुप्रै चोरी र लुटपाटका घटना घटाएको स्थानीय बताउछन्। 

बालिकाहरुलाई लक्षित गरेर उनीहरुले लगाएका गहना खोस्ने, कोही नभएको मौका पारेर घर पसल चोरी गर्नेलगायत दर्जनौ घटना यसअघि गाउँमै मिलाइएका थिए।

लगातार चोरी, लुट्पाट र बलात्कार जस्ता घटनामा संलग्न भएको थाहा पाउदा पनि परिवारले राजेन्द्रलाई पुल्पुल्याएर राखेको स्थानीयले बताए। 

‘घटना भएको थाहा पाउने वित्तिकै उनका बाबु विरबहादुर पीडितको घरमा पुगेर आफ्ना छोराबाट अव यस्तो गल्ती नहुने भन्दै सानोतिनो जरिवाना तिराएर घटना सामसुम पार्न लगाउथे,’ एक स्थानीयले भने, ‘राजेन्द्रले लुट्पाट, चोरी र बलात्कारका घटना बढी जसो दलित समुदायमा घटाएका थिए।’ गैरदलितको डरका कारणले दलितहरु उनको अन्याय सहन बाध्य थिए।

मंगलबार, आश्विन १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)