‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की:ट्रम्पले भने–वाइडेन राष्ट्रपति भएको भए २ करोड मान्छे मारिन्थेँ, वाइडेनले भने– सटअप!

संजोग आचार्य

न्युयोर्क

अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन र डेमाक्र्याट उम्मेदवारबीच भएको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ मा डोनाल्ड ट्रम्प र जो वाइडेनबीच आरोप–प्रत्यारोपको शृंखला सुरु भएको छ।

ओहायोको क्लिभल्याण्डमा ९० मिनेट भएको डिबेटमा दोस्रो कार्यकालका लागि उठिरहेका रिपब्लिकनका उम्मेदवार राष्ट्रपति ट्रम्पले वाइडेनमाथि गम्भीर आरोप लगाउँदै भने, ‘आजको दिन (वाइडेन) राष्ट्रपति भएको भए देशमा कोरोनाको कारण २० करोड मानिसले ज्यान गुमाइसकेको हुन्थे।’

ट्रम्पको उक्त भनाईप्रति लक्षित गर्दै वाइडेनले देशकै सबैभन्दा बढी झुटो बोल्ने व्यक्तिको उपमा वर्तमान राष्ट्रपतिलाई थमाए।

फक्स न्युजका एंकर क्रिस वालेसले ‘मोडरेटर’ को भूमिका निर्वाह गरेको ‘प्रेसिडेन्सियल डिबेट’ स्थानीय समयअनुसार राती साढे आठ बजेदेखि सुरु भएको थियो। वालेसले सन् २०१६ को डिबेटमा पनि ‘मोडरेटर’ को भूमिका निर्वाह गरेका थिए। यतिबेला ट्रम्पको प्रतिस्पर्धी हिलारी क्लिन्टन थिइन्।

दोस्रो डिबेट १५ अक्टुबर र तेस्रो २२ अक्टुबरमा हुनेछ। राष्ट्रपतिको चुनाव भने ३ नोभेम्बरमा हुँदैछ। निर्वाचनअघि राष्ट्रपतिका उम्मेदवारले डिबेटमा भाग लिने परम्परा १६४ वर्ष पुरानो हो।

कुन मुद्दामा कसले के भने?

मुद्दा– सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको विवाद

वाइडेनः चुनाव आउन एक महिनाको समय बाँकी रहेको अवस्थामा न्यायाधीस नियुक्त गर्ने ट्रम्पको नियत ठिक छैन। ट्रम्प सरकारले परम्परालाई ध्यानमा राख्दै नयाँ न्यायाधीस एमी कोने बेरेटको नियुक्तिलाई स्थगित गर्नुपर्ने छ। यो प्रस्तावमाथि अमेरिकी जनतालाई प्रश्न गर्ने अधिकार छ। हामीले चुनावको नतिजा कुर्नुपर्ने छ।

ट्रम्पः राष्ट्रपति भएको नाताले मसँग सर्वोच्च अदालतमा न्यायाधीस नियुक्त गर्ने अधिकार सुरक्षित छ। चुनावसँग यसको कुनै सम्बन्ध छैन। वाइडेनले यो कुरा बिर्सिरहेका छन्, नियुक्तिको टुँगो सिनेटबाट हुने गर्छ। हामीले पनि यसको पालना गर्नुपर्ने हुन्छ। यसपालि हामीसँग बहुमत छ। तपाई यो किन बिर्सिनु हुन्छ, चार वर्षअघि सिनेटका बहुमत प्राप्त नेता मिच म्याकडोनेलले सर्वोच्च अदालतमा मेरिक गारल्याण्डको नियुक्तिलाई खारेज गरेका थिए। त्यतिबेला तपाईकै पार्टीका नेता बाराक ओबामा राष्ट्रपति थिए।

(डिबेटकै बीचमा दुई उम्मेदवारबीच समान्य विवाद भएको थियो।) डिबेटमा वाइडेन केही बोलिरहेका थिए। ट्रम्पले रोक्ने प्रयास गरेपछि वाइडेन भड्किए। उनले भने, ‘सटअप म्यान।’ चुप लाग्नुहोस्। वाइडेनले सर्वोच्च अदालतमा एमी कोने बेरेटको नियुक्तिको सिफारिसलाई लिएर ट्रम्पलाई घेर्ने प्रयास गरेका थिए। तर, यति नै बेला ट्रम्पले बाराक ओबामाको कार्यकालमा भएको घटना याद दिलाउन खोजेका थिए।

मुद्दा– कोरोना भाइरस

वाइडेनः अमेरिका जस्तो विकसित राष्ट्रमा दुई लाख मानिस महामारीको सिकार बन्नु भनेको लाजमर्दो कुरा हो। राष्ट्रपति ट्रम्प र उनको प्रशासनसँग कोरोनाविरूद्ध लड्ने कुनै ठोस योजना थिएन। फेब्रुअरीसम्म उहाँलाई थाहा पनि थिएन, यो कति गम्भीर महामारी हो भनेर। उहाँ महामारी लुकाउन चाहनुहुन्थ्यो। म राष्ट्रपति भएको भए, स्वास्थ्यमा खटिएका कर्मचारी तथा जनता दुबैलाई बचाउँथे।

ट्रम्पः मैले सुरुदेखि नै भनिरहेको छु, कोरोना चीनबाट आयातीत भाइरस हो। यसमा गल्ती के छ? देशका प्रायः गर्भनरले मेरो कुराको समर्थन गरेका छन्। उहाँहरू मैले राम्रो काम गरेको भन्छन्। यसमा तपाईको पार्टी, सरकार र गर्भनर पनि समावेश छन्। तपाई यो तथ्यलाई नबिर्सिनु होला, केही साताभित्र हामी भ्याक्सिन बजारमा ल्याउँदै छौं। अहिले मर्नेको संख्यामा कमि आएको छ। म चुनौतिका साथ भन्न चाहन्छु– यो अवस्थामा यदी तपाई राष्ट्रपति भएको भए यति पनि हुँदैन्थ्यो। २० करोड मानिस मरिसक्थें।

(डिबेटकै क्रममा ट्रम्पले वाइडेनतर्फ इसारा गर्दै भने, ‘उहाँ (वाइडेन) यति ठूलो मास्क लगाउनु हुन्छ, त्यति ठूलो मास्क लगाएको मान्छे अहिलेसम्म मैले अरुलाई देखेको छैन।’

ट्रम्पको ब्यंगप्रति ‘मोडरेटर’ वालेसले प्रश्न गरे, ‘राष्ट्रपति ज्यू तपाई मास्क किन लगाउनु हुन्न? तपाईको स्वास्थ्य अधिकारी पनि यही सल्लाह दिन्छन्।’

वालेसको यो प्रश्नमा ट्रम्पले भने, ‘म मास्क नै लगाउँदिन भन्ने होइन। जब आवश्यक पर्छ, त्यतिबेला लगाउँछु। मानिसहरू मैले ठूलो सभा गरे भनेर प्रश्न गर्छन। अब भन्नुस्, मैले इन्डोर सभा वा कार्यक्रम गरेको भए अवस्था के हुन्थ्यो? हामीले सुरक्षालाई ध्यानमा राखेर सभा गरेका छौं। मानिसलाई थाहा छ, म के गरिरहेको छु र के भनिरहेको छु भनेर। यसैले पनि मानिसहरू मलाई पुनः राष्ट्रपति छनोट गर्न ब्यग्र छन्।)

मुद्दा– आयकर

(डिबेटकै बीचमा आयकरको मुद्दा पनि उठेको थियो। राष्ट्रपति ट्रम्पमाथि १० वर्षदेखि ट्याक्स नतिरेको अरोप लाग्ने गरेको छ। तर, ट्रम्पले ट्याक्सको रूपमा आफूले लाखौं रकम तिरेको दावी गरे। उनले यसको अडिट पनि चलिरहेको बताए। उनले अडिट रिपोर्ट सार्वजनिक भएपछि सबैलाई सत्य कुरा थाहा हुने बताए। वाइडेन भने केही रक्षात्मक देखिए। उनले ट्रम्पको कार्यकालमा अर्थव्यवस्था चौपट भएको आरोप लगाए।)

मुद्दा–अर्थव्यवस्था

वाइडेनः महामारीको बेला ट्रम्प जस्ता अर्बपतिको व्यापारमा धेरै फाइदा भयो। सबैलाई थाहा हुनुपर्छ, हाम्रा राष्ट्रपतिले महामारीको बेला कसरी फाइदा उठाए। उनले ट्याक्स मात्र ७५० डलर तिरेका छन्। अखबारले पनि यो रिपोर्ट प्रकासित गरिरहेको छ। देशको अर्थव्यवस्था चौपट भयो। हामी सबैले ध्यान दिनुपर्ने कुरा हो, कोभिड–१९ महामारीबाट छुटकारा नपाउँदासम्म आर्थिक अवस्थामा सुधार हुनेछैन।

ट्रम्पः मैले कहिले भनिन्, बजार बन्द गरौं। देश ठप्प पारौं। यदी तपाई राष्ट्रपति भएको भए, पुरै देश बन्द गर्नुहुन्थ्यो। हामीले महामारीको अवस्थामा पनि अर्थतन्त्रलाई राम्रोसँग सम्हाल्यौं। यसको ज्वलन्त उदाहरण तपाईहरूले हेर्नसक्नु हुन्छ। तपाईहरू देश बन्द गर्नेभन्नु हुन्थ्यो। मलाई यस्तो कुरा गर्ने व्यक्ति मन पर्देन, जसले महामारीको नाममा देशको सबै कुरा बन्द होस् भन्ने चाहना राख्छ। हामी महामारीसँग पनि लडिरहेका छौं, अर्थतन्त्रमा पनि सुधार भइरहेको छ। 

मुद्दा– जातीय विभेद

वाइडेनः ट्रम्पको कार्यकालमा जातीय विभेद बढेर गयो। उहाँ द्धेष फैलाउने राजनीति गर्नुहुन्छ। उहाँले देशलाई जातीय आधारमा बाँड्ने प्रयास गर्नुभयो। हामीले यो बिर्सिएका छैनौं उहाँले २०१७ मा गोरा जातिलाई उन्नत देखाउन एउटा सभाको आयोजना गर्नुभयो। उहाँको भाषणमा जातीय विभाजनको गन्ध आउँछ। जर्ज फ्लोयडको निधनपछि व्हाइट हाउस बाहिर विरोध प्रदर्शन र हिंसा भएको थियो। राष्ट्रपति यतिबेला चर्चमा फोटो खिच्न मस्त हुनुहुन्थ्यो। उहाँले काला जातिका अमेरिकीहरूका लागि केही गर्नुभएन। 

ट्रम्पः तपाई काला जाति माथि राजनीति किन गरिरहनु भएको छ। मेरो कार्यकालमा सबैभन्दा बढी जेलबाट काला जातिका मानिस छुटेका छन्। तपाईको सरकारले त प्रयोग मात्र गर्यो। कुनै शब्द बोल्न नहुने हुन्छ। तपाई कमजोर मानसिकताको परिचय दिइरहनु भएको छ। वाइडेनको सोच नै खराब छ। हामीले देशमा सबैलाई समानताको अधिकार दिन कदम उठाएका छौं। केही व्यक्ति (वाइडेनतर्फ इसारा गर्दै) मानिसलाई भडकाउने अभियानमा छन्, आफ्नो राजनीतिक महत्वकाक्षा पूर्ति गर्न। म यो हुन दिन्न।

(बीचमा वाइडेनले रोक्दै भने, ‘तपाई आफैं जातीय भेदभावको कट्टर समर्थक हुनुहुन्छ।

वाइडेनको कुरा काट्दै ट्रम्पले भने, ‘ओबामाको कार्यकालमा तपाई उपराष्ट्रपति हुनुहन्थ्यो। यतिबेला सबैभन्दा बढी जातीय विभाजन भयो। तपाई त काला जातिको कुरा पनि सुन्नुहुन्थेन।’)

मुद्दा– आन्तरिक सुरक्षा

अमेरिकामा पछिल्लो समय जातीय दंगा भड्किएपछि डेमोक्रेटिक पार्टी र वाइडेनले काला जातिको भोट प्राप्त गर्न पुलिसको बजेट रोक्न माग गरेका थिए। तर, डिबेटको क्रममा वाइडेन आफ्नो भनाईबाट पछि हटे। 

वाइडेनः म प्रहरीको बजेट बन्द गर्ने कुरालाई समर्थन गर्दिन। मेरा समर्थकले पनि यो कुरा कहिले भनेका छैनन। हामी पुलिसको सुधारको समर्थन गर्छौ। पुलिसलाई अझैं बजेटको जरुरी छ। हिंसामा संलग्न दोषीले सजाय पाउनुपर्छ। हाम्रा राष्ट्रपति पुटिनको कठपुतली भए। तपाईले हाम्रो सहिद सैनिकलाई पराजित योद्धा भन्नुभयो।

ट्रम्पः साँचो कुरा सबैको अगाडि छ। केही महिनाअघि डेमोक्रेटहरूले गरेको भाषण वा बयानलाई फर्केर हेर्दा सबै छर्लङ हुन्छ। हिंसाको पछाडि लेफ्ट विङ (डेमोक्र्याट) को हाथ छ। राइट विङ अर्थात गोरा जातिमाथि हिंसा भड्काएको आरोप लगाउनु भनेको मुद्दालाई अन्यत्र मोड्न खोज्नु हो।

मुद्दा– मौसम परिवर्तन

वाइडेनः मौसम परिवर्तनको मुद्दामा तपाईसँग के योजना छ? कार्बन उत्सर्जनलाई तपाईले कसरी हल गर्नसक्नु हुन्छ? ग्रीन एनर्जी र योसँग जोडिएको रोजगारको विषयमा तपाईको के विचार छ? म ‘पेरिस क्लाइमेट एग्रीमेन्ट’ लागु गर्ने कुरामा सहमत छु। तपाईले त यो सम्झौंतालाई तोडिसक्नु भएको छ।

ट्रम्पः सबै कुरा मानिसको नियन्त्रणमा हुँदैन। म मौसम परिवर्तनको मुद्दामा नयाँ सम्झौंता गर्नु चाहन्छु। मानिस एउटा सीमासम्म मात्र यो मुद्दामा काम गर्न सक्छ। हामी हावालाई अझ स्वास्थ्यकर बनाउने अभियानमा काम गर्नसक्छौं। हामीले वनको व्यवस्थापनमा सुधार ल्याउनु पर्छ। जसका कारण जंगलमा आगो नलागोस्।

मुद्दा– मतदान

वाइडेनः राष्ट्रपतिले आम जनतालाई मतदान गर्नबाट डर देखाइरहनु भएको छ। उहाँ भनिरहनु भएको छ, ‘मेल’ बाट मतदान गर्दा धोका हुनसक्छ। उहाँ चाहनुहुन्छ, मानिसले मतदान नै नगरुन्। हामी चाहन्छौं, धेरैभन्दा धेरै व्यक्तिले मतदान गरुन्। ट्रम्प पराजित भए भने उनले कुर्सी छोड्नै पर्छ।

ट्रम्पः मैले मतदानको विषयमा जुन चिन्ता व्यक्त गरे, यसको समर्थन एफबीआईका निर्देशकले पनि गरेका छन्। यसपालि नसोचेको घटना हुनसक्छ। जुन पहिले कहिल्यै भएको थिएन। हामीलाई केही महिनासम्म चुनावको नतिजा नै थाहा नहुन सक्छ। सर्वोच्च अदालतले हार र जितको फैसला गर्नुपर्ने अवस्था पनि आउन सक्छ। यदी एमी कोने बेरेट सर्वोच्च अदालतको न्यायाधीस नियुक्त हुन्छिन् भने अदालतबाट जित–हारको निर्णय हुँदा हाम्रो पक्षमा ६–३ को अवस्था बन्न सक्छ।

प्रकाशित मिति: : 2020-09-30 15:01:14

प्रतिकृया दिनुहोस्