सोमबार, ११ अगस्ट २०२५

त्रिनगर–गौरीफन्टा नाका: भारत जाने पास बनाउने नाममा ठगी, एकजना पक्राउ

News Image
• • •

भारत जाने पास बनाइदिने भन्दै नेपालीहरुबाट रकम असुल गरेको आरोपमा प्रहरीले त्रिनगर–गौरीफन्टा नाकाबाट एकजनालाई नियन्त्रणमा लिएको छ। 

अछामको मंगलसेन २ स्थायी घर भई कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय कमल बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बोहराले भारत जाने नेपालीहरुलाई नक्कली कागज बनाई रकम असुल्ने गरेको प्रहरीले जनाएको छ। 

उनले भारत जाने पास बनाई दिने भन्दै मंगलबार सल्यानका उम्मर खत्रीबाट आठ सय, कैलालीको भजनी नगरपालिका १ का कृष्ण बोहरा र नन्दकला बोहराबाट एक हजार आठ सय गरी दुई हजार छ सय भारतीय रुपैयाँ लिएको पाइएको छ।

यसअघि पनि नक्कली कागज बनाएको आशंकामा डोकेबजारस्थित प्रहरीले उनलाई नियन्त्रणमा लिएर कैलाली प्रहरीको जिम्मा लगाएको थियो। 

तर प्रहरी नियन्त्रणबाट छुटेका बोहराले पुनः डोकेबजार क्षेत्रमा गइ नेपालीहरुबाट रकम असुल्दै गरेको भेटिएपछि कञ्चनपुर प्रहरीले पुनः नियन्त्रणमा लिएको हो। 

उनलाई अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवबस्तीमा राखेर अनुसन्धान भइरहेको छ भने बोहराले असुल गरेको रकम प्रहरीले सम्बन्धी व्यक्तिलाई फिर्ता समेत गराएको छ।

प्रहरीले ठगिएका व्यक्तिसँग बोहराका बारेमा सोधपुछ गर्दै छ।

कोरोना संक्रमण को जोखिमका कारण भारत–भारत दुबैतर्फका सुरक्षाकर्मीले नाकामा कडाई गरेका छन्। नेपाली पक्षले नागरिकताका आधारमा नेपाल प्रवेश गराएको छ। 

भारतीय पक्षले भारतीय आधार कार्ड र रासन कार्ड नभएका नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको छ। 

त्यहि मौका छोपि अहिले सीमानाकामा नक्कली कागज बनाएर नेपालीहरुसँग रकम असुल्ने गरेको पाइएको छ।

बुधबार, आश्विन १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)