परराष्ट्र सेवाबाट पहिलो मुख्य–सचिव, ‘विदेशका अनुभवी बैरागीलाई देश हाँक्ने जिम्मा’

‘निजामती प्रशासनलाई अनुशासित र नतिजामुखी बनाउन, संघीयताको प्रभावकारी कार्यान्वयन गर्न र विकासका बाधक बनेका कानूनी र प्रशासनिक झमेलाहरु हटाउन तपाईंको मुख्यसचिवको कार्यकाल सार्थक बनोस् । शुभकामना।’

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमार्फत् नवनियुक्त मुख्य–सचिव शङ्करदास बैरागीलाई दिएको शुभकामना हो यो । पोखरेलको उक्त शुभकामना सन्देशभित्र उनलाई नयाँ मुख्यमन्त्रीको जिम्मेवारी बोध गराएको देखिन्छ ।

देश संघीय संरचनामा गएपछिको पहिलो निर्वाचित सरकारले बनाएको मुख्य सचिव हुन् बैरागी । अनि पोखरेल पनि आफ्नो प्रदेशको पहिलो मुख्यमन्त्री हुन् । मुख्यमन्त्री भएको साढे दुई वर्ष बित्दा पोखरेलले देखेका र भोगेका अनुभवका आधारमा उक्त झमेला हटाउन शुभकामना दिएका हुन् ।

परराष्ट्र सेवाबाट निजामति सेवाको सर्वोच्च पद ‘मुख्य–सचिव’ हुने पहिलो प्रशासक हुन्– बैरागी । उनी नेपालका २५सौँ मुख्य सचिव हुन् । ०४४ सालमा नायव सुब्बाका रूपमा प्रवेश गरी यसअघि उनले बिताएको सरकारी सेवाको ३३ वर्ष पहिलेको कूटनीतिक समूह र हालको परराष्ट्र सेवामा हो । अब भने सिंगै देशको नागरिक प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।लोकतान्त्रिक व्यवस्थामा उनले देशको निजामति मात्र होइन, प्रहरी र जंगी प्रशासनको समेत नेतृत्व गर्नुपर्ने छ ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलाई मुख्य–सचिव बढुवा गरेपछि सार्वजनिक प्रशासन क्षेत्रमा उनको सफल नेतृत्वबारे आशंका र टिप्पणी सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयमा छ महिना कामु सचिव, करिव दुई वर्ष निमित्त–सचिव र त्यसपछि पाँच वर्ष सचिव भएर काम गरिसकेका छन् । उनीसँग विदेशी कूटनीतिक  नियोगमा राजदूतसमेत भएर काम गरिसकेको अनुभव छ तर देशको ‘ग्रास रूट’ मा काम गरेको अनुभव छैन, जुन विगतका गृह र अर्थमन्त्रालयमा रहेर काम गरेका मुख्य–सचिव जस्तो प्रशासन हाँकेको अनुभव छैन । त्यसैले मुख्य–सचिव ‘विदेश चलाउने नभई देश चलाउने’ पद भन्दै उनको सफलताबारे आशंका र टिप्प्णी गर्न थालिएको छ ।

०४४ सालमा नायव सुब्बाका रुपमा सरकारी सेवा प्रवेश गरेका उनी  २०७२ असोज २४ गते परराष्ट्र सचिव भएका थिए, जुन पाँच वर्ष पूरा हुन नौ दिन मात्र बाँकी थियो । अब उनी स्थायी सरकार भनिने निजामति सेवाकाे सर्वोच्च पदमा पुगेका छन् । स्थानीय तहदेखि सचिवसमेतको नेतृत्व गर्ने छन् । गाउँपालिकासचिवदेखि मन्त्रालयका सचिवले  झेल्ने समस्या समेत उनले बुझ्नुपर्ने छ। मन्त्रिपरिषद्को सदस्य सचिवको हैसियतमा काम गर्ने छन् । 

नेपाल सरकारको २५ औँ मुख्य–सचिव हुने अवसर पाएका ‘बैरागी’ परराष्ट्र सेवाबाट हुने पहिलो मुख्य सचिव हुन् । परराष्ट्र सेवामा विदेशस्थित नियोगमा खटिएका समेत गरी नायव–सुब्बादेखि सचिवसम्म जम्मा २९१ जना कर्मचारी दरबन्दी छ, जसमध्ये १६ जना सहसचिव छन् । उनी यही समूहभित्र सीमित रहेर रमाए– विगत ३३ वर्ष ।

अब उनको काँधमा करिब ७० हजार निजामति कर्मचारीको मात्र नेतृत्व गर्ने होइन, त्यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब एक लाख १५ हजार प्रहरी र एक लाख हाराहारीमा रहेको नेपाली सेनाको समेत नेतृत्व गर्ने जिम्मा थपिएको छ । ‘नागरिक शासन’ मा सेना, प्रहरी सबैको नेतृत्व नागरिक प्रशासनले गर्ने गर्दछ । यो बैरागीको चुनौती हो ।

विदेशको अनुभव, देशको जिम्मा !

नवनियुक्त मुख्यसचिव ‘बैरागी’मा शिक्षाको कमी छैन । राजदूत र विदेशी नियोगका काम गरेको अनुभव पनि छ तर देशको ‘ग्रास रूट’ मा काम गरेको अनुभव छैन । उनले ‘देशको वैदेशिक मामिला’ मा त निकै अनुभव हासिल गरेका छन् तर संघीय संरचनाको भर्खरै अभ्यास गरिरहेको देशको अहिलेको अवस्थामा स्थानीय तह र जिल्ला तहमा काम नगर्दाको अनुभव अवश्य खड्कने छ । जुन यसअघि गृह र अर्थ मन्त्रालयमा लामो समय बिताएका मुख्य सचिवमा हुने गर्थ्यो ।

०४७ सालको ‘प्रशासन सुधार आयोग’ को सदस्य–सचिव भएर काम गरिसकेका पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेल परराष्ट्र सेवाबाट मुख्य सचिव बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भएको अधिकार दुरुपयोग गरी गलत परम्पराको थालनी गरेको आरोप लगाउँछन् ।

‘परराष्ट्र सेवाकाले बाहिरकालाई चाहिँ परराष्ट्र सेवामा आउन नदिने, अनि उनीहरु आएर मुख्य सचिव बन्दा अरु सेवाकालाई के असर पर्छ ? यो एकदमै गलत परम्परा सुरु गरे’, डा. ढुङ्गेलले बिएल नेपाली सेवासँग भने, ‘उहाँलाई मुख्य सचिव दिनु नै थियो भने परराष्ट्र मन्त्रालयमै मुख्य सचिव बनाएर राखिदिएको भए हुन्थ्यो, जुन हिन्दुस्तानमा पनि गर्छन् । प्रधानमन्त्रीले एकदमै नचाहिने काम गर्नुभो । उहाँलाई भएको अधिकारको दुरुपयोग गर्नुभयो।’

नेपालको निजामति प्रशासनमा अरु सेवाका कर्मचारीलाई परराष्ट्र सेवामा जान दिइँदैन । त्यसैले परराष्ट्र सचिव बन्न सहसचिव भएको पाँच वर्ष पुगेका प्रशासक परराष्ट्र सेवामा नहुँदा शङ्करदास बैरागीले दुई वर्षभन्दा लामो समय कामु र निमित्त सचिव भएर चलाएका थिए ।

अरु सेवाका विशिष्ट सेवाका कर्मचारी हुँदाहुँदै पनि बैरागीलाई छ महिनासम्म कामु र त्यसपछि निमित्त–सचिवको जिम्मेवारी दिएर परराष्ट्र सेवाको नेतृत्व गराइएको थियो । हाल संसद्मा विचाराधीन रहेको संघीय निजामति ऐनमा अरु सेवालाई पनि खुल्ला गर्ने प्रावधान राखिए पनि त्यो अझै पारित भएको छैन ।

पूर्वसचिव डा. ढुङ्गेल ०५५ तिर आफूहरुमध्ये कसैलाई  परराष्ट्रमा जाने कुरा हुँदा परराष्ट्र कर्मचारीले विरोध गरेर रोकेको स्मरण गर्दै भन्छन्, ‘त्यसबेला परराष्ट्र बेग्लै हो भनेका थिए । अहिले प्रधानमन्त्रीले डिक्टेटरसिप चलाएर जे मनलाग्छ, त्यही गरिदिने ?’

मुख्य सचिवलाई देशको समग्र विषयवस्तु स्थानीयदेखि माथिसम्मका विषयवस्तुको ज्ञान हुनु आवश्यक रहेको बताउँदै ढुङ्गेलले भने, ‘हामी हिजो आलोचना गर्थ्यौँ– मुख्य सचिवले बुझ्दै बुझ्दैनन् भनेर । यसमा पनि यो सानो समूहको ल्याएर यो गलत गर्नुभो ।’

चीनका लागि पूर्वराजदूत एवम् पूर्व मुख्यसचिव लीलामणि पौडेलले यसअघि परराष्ट्र सेवाबाट मुख्य सचिव बनाएको आफूलाई जानकारी नभएको बताए । परराष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने सरकारी निर्णयको समर्थन गर्दै उनले बिएल नेपाली सेवासँग भने, ‘कानूनी रुपले बन्देज छैन, एक । विगतमा पनि सानो समूहबाट ठूलो समूहमा ल्याएको छ । कानूनबाट दुई–तीन जना नै भएका छन् । कानूनबाट हुन्छ भने परराष्ट्रबाट मुख्य सचिव बनाइनु हुँदैन भन्न मिल्दैन ।’

को हुन् बैरागी ?

पर्वत जिल्लाका स्थायी बासिन्दा हुन्, बैरागी । पराराष्ट्रका एक कर्मचारीले दिएको जानकारी अनुसार, उनको अष्ट्रेलियामा रहेका छोराको थर ‘खनाल’ लेखिएको छ । त्यसैले ‘बैरागी’ दशनामी समुदायका नभएको उनको दाबी छ ।

बैरागी २०७१ सालमा २०७१ सालमा स्वीट्जरल्याण्डको जेनेभाबाट स्थायी प्रतिनिधि र राजदूतको जिम्मा त्यागेर परराष्ट्र मन्त्रालय फर्किए । त्यसलगत्तै कामु सचिव भएपछि उनी परराष्ट्र सेवाका नेतृत्वमा देखिएका थिए । सचिव अर्जुनबहादुर थापा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (‘सार्क’) को महासचिव बनेर गएपछि रिक्त परराष्ट्र सचिवको भूमिका निभाउन उनी बीचैमा जेनेभाबाट फर्किएका थिए । त्यसबेला उनको सचिव बन्न योग्यता पुगेकै थिएन ।

परराष्ट्र मन्त्रालयको वेवसाइटमा राखिएको उनको ‘बायोग्राफी’ अनुसार, १९६६ जनवरी २६ मा जन्मेका हुन्, जो ५५ वर्ष भए । उमेरका कारण उनी पूरै कार्यकाल मुख्यसचिव हुन पाउने छन् । परराष्ट्र सेवामा झण्डै ३३ वर्ष बिताएका छन्। वैरागीले सहसचिव भएको पाँच वर्ष नपुगेका कारण सन् २०१४ फेव्रुअरीदेखि २०१५ अक्टोबर १० सम्म निमित्त र कामु सचिव भई काम गरे । त्यसअघि सन् २०१२ फेव्रुअरी देखि २०१३ नोभेम्बरसम्म जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमा स्थायी प्रतिनिधि तथा राजदूत भएर काम गरे । 

नोभेम्वर २००९ देखि फेव्रुअरी २०१२ सम्म अमेरिकाको न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा उप–स्थायी प्रतिनिधि भएर काम गरेका थिए वैरागीले । उनले नयाँदिल्लीस्थित नेपाली दूतावासमा सन् १९९५ अगष्टदेखि १९९८ मेसम्म फस्ट सेक्रेटरीको काम गरे। २००० अप्रिलदेखि २००४ जुनसम्म युरोपेली युनियनका लागि नेपाली नियोगको उपनियोग प्रमुख, २००७ मार्चदेखि २००९ सेप्टेम्बरसम्म अष्ट्रेलियास्थित नेपाली दूतावासमा नियोग उपप्रमुखको जिम्मेवारी सम्हालेका थिए।

वैरागीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर, फ्री युनिभर्सिटी अफ ब्रसेल्सबाट युरोपियन इन्टिग्रेसन् एण्ड डेभलपमेन्टमा मास्टर्स ९२००२० र त्रिविबाट कानुन विषयमा स्नात्तक तह ९१९८९० सम्म अध्ययन गरेका छन्।

प्रकाशित मिति: : 2020-10-01 22:55:00

प्रतिकृया दिनुहोस्