ट्रम्पको स्वास्थ्य अवस्था र अमेरिकी चुनावको भविष्य?

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकाको बहुप्रतिक्षित राष्ट्रपतीय चुनाव आउन ठिक ३४ दिन बाँकी रहँदा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प कोभिड–१९ बाट थला परेका छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको चुनावमा उठेका ट्रम्पको कोरोना पोेजेटिभ देखिनुले विश्वभरि थुप्रै अड्कलबाजी सुरु भएको छ। 

ट्रम्प हाल मेरील्याण्डको वाल्टर रिड अस्पतालमा भर्ना छन्। उनी बिरामी छन् भने स्वास लिन केही गाह्रो भइरहेको व्हाइट हाउसको विज्ञप्तीमा जनाइएको छ। अस्पतालबाट फर्किएपछि उनले ‘क्वारेन्टाइन’ को नियम पछ्याउनु पर्नेछ। यस्तो अवस्थामा चुनावको माहौल के होला? यतिबेला सबैको मनमा उठेको प्रश्न नै यही हो।

तर, ट्रम्पका सहयोगीहरूले आफ्नो उम्मेदवार स्वास्थ्य लाभ गरिरहेको अवस्थामा चुनाव प्रचार अभियान नरोकिने स्पष्ट पारेका छन्। समय तालिका अनुरूप ट्रम्पलाई चुनाव प्रचारका लागि मिनेसोेटा, पेनसिल्भेनिया, भर्जिनिया, जर्जिया, फ्लोरिडा र नर्थ क्यारोलिना पुग्नुपर्ने थियो। यस विषयमा पार्टीको कुनै आधिकारीक धारणा बाहिर आएको छैन। 

यसअघि ट्रम्पले जतिपनि चुनावी अभियानमा सहभागिता जनाए, ती सबै आफ्नो परिवार र सिनियर अधिकारीको सहयोगमा गरेका थिए। तर यतिबेला उनको परिवार र ती सबै सिनियर अधिकारीहरू ‘क्वारेन्टाइन’ मा बस्न विवश छन्। यसले पक्कै पनि उनको अभियानलाई ठूलो घाँटा लाग्ने देखिन्छ। 

दोस्रो ‘प्रेसिडेन्सिय डिबेट’ १५ अक्टुबरमा फ्लोरिडाको मियामी टाउन हलमा निश्चित थियो। यसमा सर्वसाधारणको प्रश्नको उत्तर दिने तालिका पनि तय गरिएको थियो। तर, राष्ट्रपति ट्रम्प कोरोनाका कारण अस्पताल भर्ना भएपछि ‘प्रेसिडेन्सियल डिबेट’ को आयोजना हुन्छ कि हुँदैन? यसमा पनि प्रश्न खडा भएको छ। 

अमेरिकाबाट प्रकाशित केही पत्रपत्रिकाले भिडियो कन्फ्रेन्सिङको सहयोगले ‘डिबेट’ लाई निरन्तरता दिने तयारी भइरहेको बताएका छन्। तर, यो ट्रम्पको स्वास्थ्यमा निर्भर पर्नेछ। उनी ९० मिनेटसम्म अस्पतालबाट प्रत्यक्ष–प्रसारणमा उपलब्ध हुन्छन् कि हुँदैनन्? उनलाई स्वास्थ्यले कतिको साथ दिन्छ? यसले सबै कुरा निक्यौंल गर्नेछ। 

अहिले अमेरिकामा चुनावको मिति सार्ने कुरामा पनि गाईगुई चलिरहेको छ। तर, मुखैमा आएको चुनावको मिति फेरबदल गर्न सोचेजति सहज पक्कै छैन। यसका लागि कांग्रेस (संसद) को दुबै सदनबाट विधेयक पास गर्नुपर्नेछ। रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटमा यसलाई पास गर्न ट्रम्प सरकारलाई खासै अफ्ठेरो नपर्ला तर डेमोक्रेटिक पार्टीको बाहुल्य रहेको हाउस अफ रिप्रिजेन्टेटिभबाट मिति लम्ब्याउनु फलामको च्युरा चपाएसरह हुनेछ। 

फेरि केही राज्यमा ‘अर्ली भोटिङ’ को सुविधा सुरु भइसकेको छ। यसअन्तर्गत मतदान केन्द्रसम्म पुगेर भोट गर्न नसक्ने मतदाताललाई चुनावभन्दा अघि नै भोट गर्ने अधिकार केही राज्यले उपलब्ध गराएको छ। 

ट्रम्प आफ्नो चार वर्षे शाषनकालमा कोरोनाले निम्त्याएको महामारी, यसबाट उत्पन्न आर्थिक मन्दी, काला जातिका नागरिक जर्ज फ्लोयडमाथि प्रहरीको बर्बर हत्याको विरोध जस्ता कारणले चौतर्फी घेरिएका छन्। यस्तो अवस्थामा रिपब्लिकन पार्टीका उम्मेदवार जो वाइडेन तोकिएको समयमै चुनाव गर्ने पक्षमा देखिन्छन्। 

चुनाव अघिसम्म ट्रम्पले कोरोनालाई खासै महत्व दिएका थिएनन्। उनी सार्वजनिक समारोहमा दुई पल्ट मात्र मास्क लगाएर उपस्थित भएका थिए। उनले मास्क लगाएको विषयलाई लिएर वाइडेनको थुुप्रै ठाउँमा मजाक पनि उडाएका थिए। तर, चुनावको मुखमा आफै कोरोनाबाट ढल्न पुगेपछि चुनावी अंकगणितमा पनि यसले ठूलो महत्व राख्ने बताइएको छ। 

ट्रम्प हाल ७४ वर्षमा प्रवेश गरिसकेका छन्। त्यसैले उनी तुरुन्त स्वास्थ्य लाभ गरेर चुनावी माहौलमा फर्किहाल्छन् भन्ने कुरामा पनि आशंका व्यक्त गरिएको छ। 

तर, अमेरिकाको एउटा रोचक विगत के पनि छ भने– राष्ट्रियस्तरमा आएको विपतमा सबै अमेरिकी जनता राष्ट्रपतिको पक्षमा उभिने गरेका छन्। ट्रम्प र उनको प्रशासनविरूद्ध कोरोना भाइरसको संक्रमणलाई लिएर यसअघि तिखो प्रश्न उठ्ने गरेको थियो। तर, अब यो अवस्था सहानुभूतिमा परिवर्तन हुनसक्ने सम्भावना उत्तिकै छ। 

कोरोनाको सहानुभूति ट्रम्पतर्फ नझुकोस् भनेर होला वाइडेनले संयमित प्रतिक्रिया दिएका छन्। उनले ट्रम्पसँग वैचारिक मतभेद भएपनि कोरोनाविरूद्धको लडाईंमा आफू उनको परिवारसँग रहेको बताएका छन्। 

ट्रम्प चुनाव अघिसम्म गम्भीर बिरामी भएको खण्डमा राजनीतिक रूपमा के–कस्तो अवस्था बन्न सक्छ? यस विषयमा पनि अमेरिकामा गम्भीर बहस हुन थालेको छ। अमेरिकी संविधानको २५ औं धारामा यदी अमेरिकी राष्ट्रपतिको कार्यकालकै अवधिमा मृत्यु भए, राजीनामा गरें वा गम्भीर बिरामी परें उनको स्थानमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने नियम लागु गरिएको छ। सन् १९६३ मा पूर्व राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि अमेरिकी कांग्रेसबाट यो बिल पारित गरिएको थियो। 

अमेरिकी संविधानको २५ औं धाराको उपधारा ३ मा ट्रम्पको स्वास्थ्य अवस्था अहिले निकै गम्भीर बने उपराष्ट्रपति माइक पेन्स अस्थायी राष्ट्रपति नियुक्त हुनेछन्। 

प्रकाशित मिति: : 2020-10-04 09:05:18

प्रतिकृया दिनुहोस्