कोरोना बढेपछि इटालीमा ३१ जनवरीसम्म आपतकाल लागु, बाहिर हिँड्दा अनिवार्य मास्क

रमेश राज बाँस्तोला

लिस्बन (पोर्चुगल)

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को चेतावनीका बाबजुद बजारलाई केही खुकुलो बनाएको इटालीले यसको नराम्रो परिणाम भोग्ने सम्भावना बढेको छ। 

यसैको परिणाम स्वरुप स्वास्थ्य मन्त्री रोबेर्टो स्पेरेन्जाले ३१ जनवरीसम्मका लागि देशमा आपतकालको घोषणा गरेका छन्। 

दुई महिनाअघि इटालीमा कोरोना संक्रमितको संख्या घटेपछि ‘लकडाउन’ लाई फितलो बनाइएको थियो। तर, अहिले कोरोना संक्रमणको घटना ह्वात्त बढेको छ। 

दुई महिनाअघि इटालीमा कोरोनाका कारण मर्नेको संख्या ३३ हजार थियो। अहिले यो बढेर ३६ हजार ३० पुगेको छ। 

जुन र जुलाईमा कोरोना नियन्त्रणमा आएको भन्दै सरकारले बजार खुला गर्ने निर्णय गरेको थियो। यतिबेला डब्ल्यूएचओले कुनै पनि बेला दोस्रो चरणमा कोरोना फैलिनसक्ने भन्दै इटाली सरकारलाई सतर्क रहन आवहान गरेको थियो। 

अहिले इटालीमा ३४ सय ८७ जना मानिस अस्पतालमा भर्ना भएको र यसमा ३ सय २३ जना आईसीयूमा रहेको इटालीबाट प्रकासित समाचारले बताएको छ। 

दुई महिनाअघि इटालीमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय थियो। अहिले त्यो बढेर ६० हजारको हाराहारीमा पुगेको छ। 

देशका बिग्रदो कोरोनाको अवस्थालाई हेरेर सरकारले घरबाट बाहिर निस्किँदा मास्कलाई अनिवार्य गरेको छ। यस्तै सामाजिक दूरीलाई कडासँग पालना गर्न आग्रह गरेको छ। 

सरकारले यसअघि १५ अक्टुबरसम्मका लागि आपतकाल लागु गरेको थियो। तर, अब यसलाई अर्को वर्षको ३१ जनवरीसम्मका लागि लम्बाएको छ। 

स्वास्थ्य मन्त्री स्पेरान्जाले भनेका छन्, ‘इटालीले दोस्रो चरणको लहरमा राम्रो नियन्त्रण बनाएको छ। तर, हामी कुनै भ्रममा छैनौं।’ उनले सबै जनतामाझ राष्ट्रिय संकल्पका रूपमा सरकारी निर्णयको पालना गर्न आग्रह गरेका छन्।
 
सरकारको यो निर्णयको विपक्षीले विरोध जनाएका छन्। तर, कोरोनाबाट आफ्नो जनतालाई बचाउन अर्को कुनै उपाय नभएको मन्त्री स्पेरेन्जाले स्पष्ट पारेका छन्। उनले आपतकालअन्तर्गत कोरोनाको विषयमा निर्णय गर्न संसदबाट स्विकृति लिइरहनु नपर्ने बताएका छन्। 

गत फेब्रुअरीमा डब्ल्यूएचओको चेतावनीका बाबजुद ‘लकडाउन’ को नियम लागु नगर्दा इटालीको अवस्था भयाभह बन्न पुगेको थियो। 

इटालीमा हालसम्म ३ लाख ३० हजार मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। 

जसमा २ लाख ३४ हजार पूर्ण रूपमा ढिक भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-10-07 06:51:26

प्रतिकृया दिनुहोस्