राष्ट्रपतिलाई एउटा रैतिको निवेदन

राष्ट्रपति विधा भण्डारी
राष्ट्रपति विधा भण्डारी

सम्मानीय राष्ट्रपति विधा भण्डारी ज्यु,

नमस्ते। हजुरको गाथमा आरामै होला भन्ने कामना गर्दछु र म हजुरको रैती। सार्बजनिक मञ्चमा हजुरलाई पत्र लेख्ने दुस्साहस गर्दछु। आशा छ हजुरले एउटा बुद्धिहीन मुर्ख रैती हो भनेर मलाई माफी गरिदिनु हुनेछ। निकटबाट हजुरलाई भेट्ने र देख्ने सुवर्ण मौका हालसम्म नपाए पनि हजुरको विशाल ह्दयको परिचय मैले पाएको छु। 

महत्वपूर्ण बिषयमा चुप बस्ने र हजुरको पुरानो पार्टीको नेता तथा प्रधानमन्त्री केपी ओलीलाई अफ्ठ्यारो पर्दा मुखबाट अमृत बर्षेको जस्तो सारगर्भित टिप्पणी सुन्दै र पढ्दै आएको हो र हजुरको मिश्री घोलिएको जस्तो स्वर सुन्न पाउनु हामी करिव तीन करोड नेपालीको अहोभाग्य हो।

राष्ट्रपतिको पदमा आसिन भएपछि प्रायः हरेक दिन हुने हजुरको सवारीले महाराजगञ्ज र त्यस आसपासका क्षेत्रका बासिन्दालाई दिएको आनन्दको बारेमा बोलेन भने आन्याय हुन्छ। हजुरको मुहार देख्न पाउँदा सबैले आ–आफ्नो जीवन सफल भएको ठान्नु पर्छ। 

किनकी हजुर भनेको हरेक नेपालीको अभिभावक हो, भलै त्यो कुरा नियममा मात्र किन लागु नहोस! कुराले देश जति लोकतान्त्रिक भए पनि सामाजिक सञ्जालमा हजुरको अलिकति पनि आलोचना भयो भने त्यो व्यक्तिले जेलको बास बस्नु पर्छ। प्रधानमन्त्री ओलीलाई पनि हजुरलाई कसैले केहि भनेको पटक्कै मन पर्दैन भन्ने सुनेको छु। त्यो कति सत्य हो समयक्रमले थाहा हुँदै जानेछ। 

हजुरहरुकै एक जमानाका सहकर्मी राधाकृष्ण मैनालीका अनुसार हजुर हाँसे भने कमरेड ओलीलाई पनि हास्न मन लाग्छ र हजुरको मुख अलिकति भए पनि अँध्यारो भयो भने उहाँलाई पनि रिस उठ्छ। जिन्दगीमा एउटा मात्र भए पनि त्यस्तो आत्मैदेखि स्नेह गर्ने मान्छे पाउनु ठूलो कुरा हो, जो सबैको भाग्यमा हुदैन।

हजुर राष्ट्रपति भएर शितल निवासमा विराजमान हुने बितिकै हजुरलाई नजिकै रहेको प्रहरी तालिम केन्द्र हटाउने इच्छा भयो। कुरा ठिकै हो हजुर जस्तो देशको सर्बोच्च ब्यक्ति सुकला भएको समय कतैबाट पनि छिसिक्क आवाज आउनु भनेको उचित होइन। पंक्तिकारको बिचारमा पनि हजुरको हरेक इच्छाको ध्यान राख्नु देशको कर्तब्य हो। 

प्रहरी तालिम केन्द्रको पूर्वाधार तयार पार्न देशले जे जति लगानी गरेको छ त्यो भनेको हजुरको आरामको अगाडी कुनै मुल्य राख्दैन, किनकी कुनै पनि बस्तु हजुरको आरामको अगाडी तुच्छ हुन।  

देशले जे जति लगानी गरे पनि र त्यो सरकारी सम्पत्ति बालुवामा पानी हाले सरह भए पनि त्यसमा कसैले चुँइक्क बोल्न हुँदैन र कसैले बोले त्यसलाई नेल हथकडी ठोक्नु पर्छ भन्ने बिचारमा मेरो पनि पूर्ण समर्थन छ।

संबिधान दिवस, प्रजातन्त्र दिवस जस्ता राष्ट्रिय पर्वको अवसर पारेर बिभिन्न अपराध गरेर जेल सजाय काटिरहेका कैदीलाई छोडन हजुरलाई जति आनन्द आउँछ, त्यस्तै आनन्द अपराधीलाई पक्राउ गरेर सजाय दिए पिडितको घाउमा अलिकति भए पनि मलम पट्टी लाग्थ्यो भन्ने हेक्का हजुरलाई किन नभएको हो भनेर अच्चम लाग्छ। 

निर्मला पन्त, सम्झना बि क, मुस्कान खातुन जस्ता हाम्रा पिडित चेलीको बारेमा पनि हजुरले यसो बोलिदिएको भए केही राम्रो हुन्थ्यो कि जस्तो पंक्तिकारलाई लागेको हो तर हजुर जस्तो ब्यस्त र सर्बोच्च व्यक्तिले यस्ता झिना मसिना कुरामा अल्झिनु भनेको समयको बर्बादी मात्र हो। 

प्रधानमन्त्री ओली त् निसन्तान भएको कारण उनलाई छोरा–छोरीको महत्व थाहा नहुनु स्वभाविक हो तर हजुर जस्तो दुई वटा छोरीको आमाले पनि कुनै पनि किसिमले वास्ता नगर्नु भनेको चिन्ताजनक हो जस्तो मेरो विचार छ, सायद म गलत छु होला। 

त्यस्तै देश र जनताको फाइदाको लागि आफ्नो ज्यान बाजी राखेर पटक पटक अनसन बस्दै आउनु भएका  डा. गोविन्द केसीको बारेमा पनि हजुरले नबोल्नु रहस्यमय छ। डा. केसीसँग मेडिकल माफियासँग जति धन सम्पती त् छैन तर उनी उच्च नैतिक बल भएका मान्छे हुन। 

पक्कै पनि मेडिकल माफिया जस्ता धनीलाई चिढाएर एउटा गरिब डाक्टरको पक्षमा बोल्नु हजुरलाई सुहाउने कुरा पनि भएन। हजुरले जे विचार गर्नु भएको छ त्यो पक्कै पनि ठिक हो तर मेरो तुच्छ दिमागमा जिज्ञासा आएर मात्र बोल्ने आँट गरेको हुँ, यसलाई अन्यथा नलिनु होला।

पहिले कम्युनिस्ट पार्टीको सदस्य भए पनि राष्ट्रपति भएपछि देशकै अभिभावक हुनपर्नेमा हजुरले राष्ट्रपति निवासलाई प्रधानमन्त्री ओलीको सम्पर्क कार्यालयमा परिवर्तन गरेर निकै राम्रो काम गर्नु भएको छ। 

यसले  प्रधानमन्त्री ओली शितल निवास आउँदा हजुरलाई पनि भेट हुने र आफ्नो काम पनि हुने भयो, प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिको समय बचत हुनु भनेको देशले छिटो कोल्टे मात्र फेर्ने नभई देश पूर्णरुपमा उत्तानो नै पर्ने पक्का छ। 

यसले सम्पूर्ण नेपालीलाई फाइदा नै दिनेछ र नेपालीलाई फाइदा हुनु भनेको समग्रमा देशलाई नै फाइदा हुने हो। यो कोणबाट पनि हजुरलाई इतिहासले धेरै लामो समयसम्म सम्झेर धन्यबाद दिनेछ भन्ने मेरो ठहर छ।

अत हजुरले राष्ट्रपतिको पदमा रहेर देशको अभिभावक बन्न सकेको भए राम्रो हुन्थ्यो तर नेपाल कन्युनिस्ट पार्टीको मात्र अभिभावक हुनु भयो। त्यसमा मात्र मलाई जिज्ञासा लागेको हो। तर हजुर जस्तो दुरदर्शी ब्यक्तिले पक्कै पनि केही राम्रै सोचेर त्यस्तो कदम चालेको हुनुपर्छ। 

हजुरको जस्तो उच्च स्तरको सोच पंक्तिकारलाई नहुने भएको कारण मेरो विचारलाई लिएर यो अकिञ्चनलाई माफ गरिदिनु हुनेछ भन्ने आशा गरेको छु। 

अन्तमा जसरी भए पनि संबिधान संसोधन गरेर आजीवन हजुरलाई नै राष्ट्रपतिको पदमा राख्नु पर्छ भन्ने कुरामा मेरो शत प्रतिशत सहमति छ।

साथै आफूलाई नव महारानी भएको हेर्न रुचाउने हजुरलाई सितल निवासबाट सारेर नारायणहिटी मै विराजमान गराउन पाए झनै सुन्दर हुन्थ्यो तर केही अराजक र मदन भण्डारीको कथित सपना पुरा भएको हेर्न नचाहनेले बिरोध गर्छन् कि भन्ने मात्र डर हो। यद्यपी देशको उज्ज्वल भविश्यको लागि यस्ता कमजोर विरोधीको कुरामा वास्ता गर्नु हुँदैन, एउटा उखानै छ, काग कराउँदै गर्छ पिना सुक्दैगर्छ। हजुरको सुस्वास्थ र सम्वृद्धिको कामनासहित उत्तरोतर प्रगतिको कामना गर्दछु। 

हजुरको रैती
नवीन रायमाझी, हालः अमेरिका

प्रकाशित मिति: : 2020-10-13 11:48:00

प्रतिकृया दिनुहोस्