 
                                            
                                        
                                     
                                रामसुर बुढा मगर
 
                                रूकुम पूर्व बाग्लुङ र रोल्पाको हिरनेटा (पाथी हाल्ने), तिलाचन दह, रिगल दह, चमेली खर्क, पूजा खै, दुसे खर्क प्राकृतिक सुन्दरताले भरिएको महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन्।
यी महत्वपूर्ण पर्यटकीय ठाउँहरुको सिमा विवादका कारण पर्यटकीय पूर्वाधारमा लगानी गर्न चुनौती भइरहेको छ। हामी सिमामा पर्ने जिल्लाका जिम्मेवार नेतृत्वमा बसेकाले यस्तो महत्वपूर्ण पर्यटकीय ठाउँलाई सही सदुपयोग गरी समृद्ध समाज निर्माण गर्न लाग्नैपर्ने अहिलेको आवश्यकता छ।
त्यसका लागि हामी सबैले आ-आफ्नो दावी र सोचलाई त्यागी साझा सोच, साझा बुझाई, र साझा योजना बनाएर अगाडि बढ्नु आजको आवश्यकता हो।
यसै कुरालाई मध्यनजर गरर्दै ती महत्वपूर्ण ठाउँहरुको स्थलगत अनुगमन गरेर एउटा साझा सहमतिको लागि प्रतिवेदन तयार पार्यौं। विकास सम्मेलनको आयोजना गरी सो प्रतिवेदन सम्मेलनमा प्रस्तुत गर्ने उदेश्यका साथ मिति २०७७ असोज १७ र १८ गते मेरो नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, लेखा अधिकृत गणेश ओली, आर्कीटेक्चर ईन्जिनियर अजय बुढा मगर, कृषि ना.प्रा. स. शिखर वि.क., वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र पुन , समाजसेवी पृथी बहादुर बुढाको टोली त्यस तर्फ गएका थियौं।
भौगोलिक अवस्था र त्यहाँ देखिएका महत्वपूर्ण पक्ष
१. हिरनेटा ( पाथी हाल्ने ):- यो बाग्लुङ र पूर्वी रूकुमको सिमानामा पर्ने मध्यपहाडी (पुष्पलाल लोकमार्ग)को अति मनोहरम र उच्च स्थानमा रहेको ठाउँ करिब २८०० मि. मा पर्ने भञ्जयाङ हो । यस स्थानबाट प्राकृतिक मनोहर दृश्यादलोकन गर्न ट्रेकिङ् ट्रेलको सुरुवाट विन्दु पनि हो ।
२.  तिलाचन दह :- समुन्द्री सतह देखि ३६०० मिटरमा अवस्थित रोल्पा, बाग्लुङ रूकुम पूर्व जिल्लाको संगमस्थलको रूपमा छ। हिउँद महिनामा करिब ६ महिना हिउँले ढाकिएको हुन्छ भने बाँकी ६ महिना हिउँ हुँदैन। यो समयमा दृष्यावलोकन साथै उच्च पहाडको रमणीय वातावरण लेकाली गुराँस लगायत ६ महिना भरीनै विभिन्न फूलहरुको सुवास लिन सकिन्छ। वर्षादको समयमा गाई, भैसी, भेडा बाख्राका चरण चरी रहेको वेला छुट्टै रमाईलो महशुस गर्न पाइन्छ । यहाँबाट उच्च पहाडको डाँडै डाँडा ट्रेकिङ् गर्दै ऐतिहासिक थवाङ गाउँलगाएत बहुचर्चित धार्मिक स्थल जलजलासम्म पदयात्रा गर्न सकिन्छ।
३. रिगल दह :- यो बाग्लुङ र रूकुम पूर्वको सिमानामा पर्ने समुन्द्र सतहदेखि ३२४६ मिटर उचाईमा रहेको छ। यो दहको नाम मगर खाम भाषामा राखेको पाइन्छ। ‘रि’ भनेको पानी र ‘गल’ भनेको बनिवल हो। बनिवलले पानी खाने दहको रुपमा बुझ्ने गरिन्छ। यो दहबाट बग्ने पानी भेरी नदिको एउटा मुहानको रूपमा रहेको पाइन्छ। यो ठाउँ मध्यपहाडी (पुष्पलाल लोकमार्ग) को हिरनेटा, (पाथी हाल्ने) देखि पैदल २०-३० मिनेटमा पुग्न सकिने भएकोले पर्यटकको सहज पहुँचमा छ। जहाँ दह, लेकाली गुराँसलगायत थुप्रै फूलको दृष्य र वास्ना लिन सकिन्छ।
४. चमेली खर्क, पूजा खैय र दुसे खर्क:- चमेली खर्क ३६३७ मिटर ,पूजाखर्क ३७९० मिटर र दुसे खर्क ३८८९ मिटर उचाईमा रहेको छ। यो बागलुङ र रुकुम पूर्वको सिमानामा पर्ने ठाउँ हो । ६ महिनासम्म हिउँले ढाकेको हुन्छ। यहाँबाट ढोरपाटनको केही उपत्यका, धौलागिरी, पुथा हिमाल देख्न पाइन्छ। नारा सुग, लेकाली गुराँस फूलसहित थुप्रै प्रजातीका फूलहरू ६ महिनासम्म फुलिरहेको हुन्छन्। ६ महिना भरी हिउँ जमीरहनेयहाँ रूखहरु पाईदैन। यी ठाउँहरुमा धार्मिक पूजा पाठ गर्दा प्रयोग हुने लेकाली धुप पाइने गर्छ ।
भेडा, बाख्रा, गाई, भैसी, घोडा, खच्चरडको चरण क्षेत्र भएकोले ती वस्तुहरको चरिरहेको रमाईलो वातावरण देख्न पाइन्छ। यसमध्ये पूजा खैयलाई एउटा दृष्यावलोकन गर्नलाई भ्यू प्वाइन्टको रुपमा विकास गरे पर्यटनको निकै राम्रो सम्भावना वोकेको स्थानको रुपमा लिन सकिन्छ। किनकि मध्यपहाडी सडकदेखि १:३० देखि २ घण्टाको समयमा पैदल यात्राबाट पुग्न सकिन्छ।
अझ वातावरणलाई प्रभाव नपर्ने गरी जंगलको क्षेत्रसम्म सडकको पूर्वाधार बनाउने बाँकी क्षेत्रमा पदमार्ग (ट्रेकिङ्) को पूर्वाधार बनाएमा छोटो समयका लागि जाने पर्यटकका लागि सहज वातावरण वन्ने देखिन्छ। यी ठाउँहरुमा प्राकृतिक चट्टान (रक गार्डेन) जस्तै मनै लोभ्याउने छन्। ती चट्टानमा फुलेको फूल र आफैंमा सेतो रंगले रङ्गिएको पाइन्छ।
५. चौरी खर्क :- चमेली खर्कदेखि पश्चिम श्रृंखलामा रहे मध्ये सबैभन्दा उच्च स्थान करिब ४००० मिटर उचाईमा रहेको चौरी खर्क हो । यो ठाउँ सायद पहिले चौरी गाईको चरण भएकोले यसलाई चौरीखर्क भनिएको हुनसक्छ। यहाँबाट ढोरपाटन उपत्यकाको धेरै जसो भाग देख्न पाइन्छ। माछापछ्रे, धौलागिरी, पुथा , सिस्ने, रोल्पाको जलजला हिमालसमेत देख्न पाइन्छ।
माथि टपमा समथर भूभागको रुपमा फैलिएको क्षेत्र बागलुङ रूकुम पूर्वको भूमे, पुथा उत्तरगंगाको सिमानामा पर्छ। यहाँ भेडी गोठालाहरुको गोठ रहेकोले ठूला भेडी बथान भेटन् सकिन्छ। अलि लामो यात्रा र धेरै दृष्यावलोकन गर्नलाई यो महत्वपूर्ण स्थानको रुपमा लिन सकिन्छ।
६. छैबाङ :- चौरी खर्कसँग केहि तल समथल भूभागमा फैलिएको भूभाग रुकुम पूर्वको भुमे र पुथाउत्तरगंगा गाउँपालिकाको सिमानामा पर्छ। खण्ड खण्डको यति राम्रा चउरहरुमा थरिथरीका फुलहरुका प्रजातीले भरिएको मनोरम दृष्यले भरिपूर्ण स्थान हो।
७.  धार खर्क र नोगोपो :- धार खर्क (३८०० मिटर) र नोगोपो (३६०० मिटर) उचाईमा रहेको भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको सिमानामा पर्छ। ‘नोगोपो’ मगर खाम भाषाबाट राखिएको नाम हो। "नो" भनेको लसुन "पो" भनेको ठाउँ अर्थात लसुनको ठाउँ , त्यहाँ वन लसुन प्रसस्त पाइन्छ। 
लेकाली चमेली गुराँसकोलगायत विभिन्न प्रजातीको फूलहरुले ढाकिएको रमणीय ठाउँ हो। यो ठाउँमा जेठ मसान्तको दिन लुकुम गाउँकाले भूम्या पूजाको दिन फूल टिप्न जाने गर्छन्। हिरनेटा (पाथी हाल्ने) ठाउँबाट पदमार्ग (ट्रेकिङ् ट्रेल) सुरु गरेमा ३ दिनको यात्रामा लुकुम वा उपल्लो सेरा पुग्न सकिन्छ।
साझा धारणाका लागि मेरा विचार
१. हामी सवैको पहिलो प्रयास सिमाना विवादको दिगो तरिकाले समाधानको लागि सकरात्मक सोच तयार गरौं। यसरी सकारात्मक सोचमा पुग्यौं भने निम्न विकल्पहरुको आधारमा सहमतिमा पुग्न सकिन्छ ।
* प्रकृतिलाई सिमाना साध मानेर पानी दालो कायम गर्ने गरी सहमतिमा पुग्न सकिन्छ। यो पहिलो उत्तम सहमति बन्न सक्छ र यसले दिर्घकालिन समाधान बनाउन सकिन्छ।
* यदि हामी पहिलो सहमतिको आधारमा सहमति हुन नसके विवादित क्षेत्रलाई साझा लगानी गर्ने र त्यसबाट आउने सम्पूर्ण आमदानी एउटा संयन्त्र बनाई सो संयन्त्रको कोषमा जम्मा गरी प्राकृतिक स्रोत वा सहमतिको आधारमा वितरण गर्ने।
* पहिलो र दोस्रो विकल्पमा समेत सहमति नभएमा तेस्रो विकल्प भनेको विवादित क्षेत्रलाई कसैले पनि प्रयोग नगरी विवाद नभएको क्षेत्रदेखि आ-आफूले उपभोग गर्ने। यो आर्थिक समृद्बिका दृष्टिकोणले घातक निर्णय हो। हामी जस्तो सचेत नागरिकका हिसावले हामी आफैंलाई घाटा हुने निर्णयमा पुग्नु हुँदैन।
२. हाम्रो सिमा विवाद समाधान भए पनि रुकुम (पूर्व) बाग्लुङ र रोल्पा जिल्ला भित्रको सम्बन्धित स्थानीय तहबीच अन्तरस्थानीय तहको साझेदारी लागानी र त्यसबाट प्राप्त हुने लाभको वितरणको लागी सुमधुर सम्बन्ध कायम गर्न आवश्यकता छ।
३. प्राकृतिक सम्पदाले भरिपूर्ण मनोरम क्षेत्रलाई मध्यनजर गरी पर्यटन क्षेत्रको पूर्वाधार प्रचार प्रसार गरेमा मनग्य आम्दानी हुने देखिन्छ। यसलाई सम्बन्धित स्थानीय तहबिच साझेदारी लगानी तथा विकासका लागि एउटा सम्मेलनको आयोजना गरौं , त्यसबाट हामीले साझा सहमति बनाउन आवश्यक्ता छ। किनकि पर्यटन भेग सिमानामा जोडिएकाले एउटै प्याकेजमा राखेर योजना बनाउँदा झन प्रभावकारी र पूर्णता हुन्छ। यस क्षेत्रबाट आउने आम्दानीका क्षेत्रमा दर र दाइरामा सहमति भई आ-आफ्नो स्थानीय तहमा ऐन, बनाई जाँदा संविधानको धारा ५७ अनुसूची ८ (४) ले दिएको पर्यटन र व्यवसाय शुल्कबाट थुप्रै लाभ लिन सकिन्छ।
४. यसरी अन्तरपालिका साझेदारी लगानीका लागि विकास सम्मेलनबाट एउटा संयन्त्र बनाई सोही संयन्त्रको कोषमा जम्मा गर्ने। यसरी जम्मा हुने कोषलाई प्राकृतिक सम्पदा अर्थात भ्यू र पोइन्टको आधारमा लाभ वितरण गर्नुपर्छ। हामीसँग आफैं प्राकृतिक (नेचुरल) भ्यू प्वाइन्टहरू छन् जहाँबाट थुप्रै रमणीय दृश्यहरु देख्न सकिन्छ। ती भूगोलका हिसावले एउटाको क्षेत्रमा भ्यू प्वाइन्ट अर्कोको क्षेत्रमा देखिने भुदृश्य हुन सक्छन्। ती दुई वटा पक्ष एक अर्काको पुरकको रुपमा काम गर्छन्।
५. त्यसैले विवाद होईन आंशिक क्षेत्रमा होइन बृहत क्षेत्रलाई समेट्ने गरी प्याकेजमा योजना बनाई अगाडि बढ्न सकेमा मात्र हामी सबैको हितमा छ। आ-आफ्नो सोच र आंसिक योजनाले कसैको हितमा काम गर्दैन।
 
अपेक्षित उपलब्धि:-
१. पर्यटन पूर्वाधार र प्रचार प्रसार गरेमा आन्तरिक र वाह्य पर्यटक बढ्न गई व्यवसायिक क्षेत्रको विस्तार भएको हुनेछ।
२. जनताको आयस्तर वृद्बि हुनेछ। स्थानीय सरकारको आम्दानी बढ्नेछ।
३. अन्तरपालिका साझेदारी लगानीले पारस्परीक सम्बन्धमा थप मजबुत हुनेछ।
४. हाम्रो साँस्कृतिक संरक्षणको महत्व बढ्नेछ।
५. देश विदेशमा हाम्रो क्षेत्रको पहिचान दिनसक्ने छौं।
लेखक भुमे गाउँपालिकाका अध्यक्ष हुन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया