सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका सह–इञ्चार्ज हुन– यामलाल कँडेल । उनी सो प्रदेशको प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघि उनी साविक नेकपा एमालेका पोलिटब्युरो सदस्य थिए ।
०४९ सालको स्थानीय निर्वाचनमा सुर्खेत सदरमुकाम रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए उनी, जतिबेला नगरपालिकाका १२ मध्ये ३ वटा वडा मात्र एमालेले जितेको थियो । उनी लोकप्रिय भएकै कारण शिक्षकबाट राजीनामा गराएर एमालेले चुनाव लडाएको थियो।
दुई वर्षपछि नै ०५१ सालको मध्यावधि निर्वाचनमा मेयरबाट राजीनामा गरेर उनी प्रतिनिधिसमा चुनाव लडे । त्यहाँ पनि जिते । कँडेल ०५५ सालमा पर्यटनमन्त्री समेत भए ।
०५६ सालको चुनावमा मालेबाट लड्दा हारेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले देशभरिबाट ३३ सीट मात्र जित्दा पनि विजयी भएका थिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने पार्टीभित्रैको विद्रोही उम्मेद्वार उठेका कारण उनी पराजित भए ।
०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी प्रदेशसभामा लडे । सबैको अनुमान थियो– कँडेल मुख्यमन्त्री बन्ने छन् । ४० मध्ये २० सीट जितेको नेकपा संसदीय दलको नेता पनि चुनिए। दलको बैठकले निर्णय पनि गर्यो– प्रदेशको नेतृत्व अरुलाई दिन सकिन्न भनेर । तर, केन्द्रमा एमाले–माओवादी भागवण्डामा उक्त प्रदेश माओवादीको भागमा पर्यो । १३ सीट मात्र जितेको माओवादीले ‘अल्पमत सरकार’ गठन गर्ने भयो– प्रदेशमा । महेन्द्रबहादुर शाही मुख्यमन्त्री भए ।
५० प्रतिशत सीट एक्लै रहेको एमाले माओवादीको मुख्यमन्त्री स्वीकार्न बाध्य भयो । माओवादीसँग पार्टी एकतापछि पनि प्रदेश सरकारले निरन्तरता पायो । सरकारको काम–कारवाहीप्रति सुरुदेखि नै असन्तुष्ट थिए– कँडेल । दुई वर्ष आठ महिना उनको नेतृत्वमा पार्टीभित्रका केपी शर्मा ओली, माधवकुमार नेपाल र साविक माओवादीका तीन जनासमेत गरी १८ जना प्रदेश–सांसद्ले गत साता संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरे ।
प्रस्ताव प्रक्रियामा प्रवेश नगर्दै नेपाल समूहले मन्त्री खाने गरी अविश्वासबाट पछि हट्ने निर्णय गर्यो । भोलिपल्टै पार्टीका दुई जना अध्यक्षले पार्टीको नेकपाको प्रदेश कमिटी र संसदीय दलका पदाधिकारीलाई ‘अविश्वास प्रस्ताव यथास्थितिमा राखी दुई दिनभित्र नेकपा केन्द्रीय कार्यालयमा हाजिर हुन’ पत्र लेखे । त्यसै अनुसार कँडेल पनि काठमाडौं आएका छन् । अध्यक्षद्वय प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग सामूहिक रुपमा र एक्लै पनि त्यसबारे छलफल गरिरहेका छन् ।
नेकपाको कर्णाली प्रदेशसभा संसदीय दलमा अविश्वास प्रस्ताव विचाराधीन छ तर नेपाल पक्षका सदस्यहरुले मुख्यमन्त्री शाहीसँग मन्त्री पाउने शर्तमा अविश्वास फिर्ता लिने सहमति गरिसकेका छन् । कुराकानीका क्रममा नेता कँडेलले अविश्वास प्रस्ताव ल्याउन नेपाल समूह कति सक्रिय थियो भन्ने पनि भेद खोले । नेकपाभित्र कर्णाली प्रदेशमा देखा परेको समस्यामा केन्द्रित रहेर प्रदेश सहइञ्चार्ज यामलाल कँडेलसँग माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता:
कर्णाली प्रदेशको नेकपा संसदीय दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध तपाईंको अगुवाईमा अविश्वास प्रस्ताव दर्ता भएको छ । त्यहाँको खास समस्या के हो ? किन यस्तो अवस्था आयो ?
आन्तरिक प्रयत्नपछि पनि प्रदेश सरकारको काम–कारवाही सकारात्मक रूपले अगाडि नबढेपछि संसद्भित्र रहेका नेकपाका ३२ जना सदस्यमध्ये १८ जनाले दलभित्र संसदीय दलको नेताप्रति अविश्वास पेश गर्यौँ ।
अविश्वास प्रस्ताव सबैलाई थाहा दिएर वा अनुमति लिएर गरिने व्यवस्था हो भन्ने मैले बुझेको छैन । यो सधैँभरि प्रयोग पनि हुँदैन । खास–खास अवस्थामा स्वाभाविक गतिबाट सुधार गर्न नसकिने अवस्था निर्माण भयो भने त्यति बेला प्रयोग गर्न गरिएको वैधानिक व्यवस्था हो ।
अविश्वास प्रस्ताव दर्ता गर्नुको कारण चाहिँ के हो ?
प्रदेश सरकार बनेको अढाई वर्ष भयो । हामीले दल, प्रदेशसभा र पार्टीका बैठकमार्फत् त्यहाँ भएका काम–कारवाहीलाई नेकपाको सकारात्मक प्रभाव पार्ने गरी, जनताको जीवनस्तर उठाउने गरी र विकास–निर्माणलाई गति दिने गरी हुन नसकेपछि जनप्रतिनिधिका नाताले सबै सदस्यहरुसँग छलफल गर्यौँ ।
नेकपाभित्र पक्षधरता छ । पक्षधरतालाई तोडेर विषयलाई प्रधान ठान्यौँ । जतिसुकै प्रतिकूलता आए पनि आफूले गरेको निर्णयमा अगाडि बढ्ने अठोट गर्यौँ । जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न अविश्वास प्रस्ताव अघि बढायौँ ।
वैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको रोहबरमा प्रमुख सचेतकलाई अविश्वासको प्रस्ताव बुझाउने व्यवस्था छ । अविश्वासको प्रस्ताव बुझाइसकेपछि त्यो विषय छिनोफानो नहुँदासम्म संसदीय दलको नेताले बैठकको अध्यक्षता गर्ने अवस्थाबाट पनि बञ्चित हुने नैतिक बन्धनमा बाँधिन्छ ।
अविश्वास प्रस्ताव बुझाउँदा पनि मैले उहाँलाई भनेँ, ‘मुख्यमन्त्रीज्यू, हामीले प्रयत्न गर्यौँ । सकारात्मक परिणाम आउन सकेन । त्यस कारण हामी यो अवस्थामा पुगेका छौँ । यसलाई सरल, सहज, स्वाभाविक ढंगले लिनुहोला ।’
अविश्वास प्रस्तावको कागज बुझाउनुअघि मैले भनेको थिएँ, ‘तपाईंको केही भन्नु छ कि ?’ उहाँले केही भन्नु भएन ।
अविश्वास प्रस्ताव पेश गरेपछि त्यसलाई वार्ता र संवादका माध्यमबाट पहलकद्मी लिनुपर्ने जिम्मेवारी संसदीय दलको नेता नै हुनुपथ्र्यो । तर, उहाँले आजसम्म पनि मसँग कुनै छलफल गर्नु भएन ।
अविश्वास प्रस्ताव पेश भएपछि अविलम्ब बैठकको आयोजना गर्नुपर्थ्यो । बैठकमा आफूलाई लगाएका आरोप सुन्ने र आफ्ना कुरा भनेर फेरि विश्वासको मत लिने आँट गर्नैपर्थ्यो ।
मैले यही सोचेको थिएँ तर उहाँ कसको सल्लाहबाट गर्नुभयो, थाहा भएन । व्यक्तिगत रुपले उहाँले त्यस्तो काम गर्नुभयो जस्तो लाग्दैन ।
प्रधानमन्त्रीकै रोहबरमा मुख्यमन्त्रीकै अगाडि मैले अहिले तपाईंलाई भनेका कुरा भनेँ । अनुहार हेर्दा, अवस्था हेर्दा मुख्यमन्त्रीका नाममा गरिएका काम–कारवाही उहाँले नै गर्नुभएको भन्ने मलाई विश्वास लाग्दैन । उहाँले नभन्दासम्म उहाँका नाममा गरिएका काम–कारवाही मैले अरुलाई खोज्न जान त सक्दिनँ । उहाँले नै त्यसको जिम्मेवारी लिनुपर्ने हुन्छ ।
दुई दिनपछि हठात् कसको सल्लाहबाट हो, साधारण अवस्थामा भएको दलको नेताजस्तो गरी प्रमुख सचेतक हटाउनुभयो । जसलाई हामीले अविश्वास प्रस्ताव बुझाएका थियौँ, उहाँलाई ‘फायर’ गर्ने काम भयो । संवादको ढोकातिर होइन, समस्यालाई जटिलतातिर लैजाने काम गर्नुभो ।
अविश्वास प्रस्तावबारे छलफल नहुँदै तपाईंलगायत नेकपाको प्रदेश–कमिटी र संसदीय दलका पदाधिकारी सबै काठमाडौं आउनुभयो । किन रहेछ काठमाडौं झिकाएको ?
उहाँ हठात अर्को पाटोमा गइसकेपछि पनि हामी संयमित नै भयौँ । कोही माननीय सदस्यहरु डग्मगाउनु भएन । त्यो कसैले लाए–अह्राएर गरिएको काम थिएन । अढाई वर्षसम्म जनप्रतिनिधि भएर प्रदेश सरकारका काम–कारवाहीको हालत देखेका थियौँ ।
निकट भविष्यमा चुनाव हुँदै छ । सो परीक्षामा फेल हुने प्रवल संभावना छ । त्यस्तो अवस्थामा हामीले त्यो मात्र विकल्प देख्यौँ । यस्तो अवस्थामा अविश्वास दर्तापछि माथिको पनि अलिकति ध्यानाकर्षण भयो ।
अरुलाई पनि त्यस्तो चिठी लेख्नुभयो होला, मेरा नाममा पनि सम्बोधन गरेर दुई अध्यक्षले सही गरेको चिठी प्राप्त गरेँ । त्यसमा लेखिएको छ– ‘कर्णाली प्रदेशसभाको समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यसलाई यथास्थानमा राखी छलफलका लागि केन्द्रीय कार्यालयमा आउनू ।’ यो सूचनाका आधारमा म काठमाडौँ आइपुगेको छु ।
अब अविश्वासको प्रस्ताव चाहिँ के भयो ?
चिठीकै भाषा छ– यथास्थानमा राख्नू । प्रस्ताव ज्यूँकात्यू छ । संवाद गर्ने ठाउँ बदलियो । सुर्खेतबाट काठमाडौं आइयो । सांसद्हरुका बीचमा छलफल गर्नुको सट्टा दुवै अध्यक्ष अर्थात् पार्टीका नेताहरुसँग छलफल गर्ने अवस्थामा पुग्यो ।
प्रदेशका समस्याबारे प्रदेशसभा संसदीय दलमा छलफल नै गर्न नदिई दुई अध्यक्षले तत्काल काठमाडौं डाक्नु संघीयताको मर्मविपरीत भएन ?
मैले त्यसरी लिन्न । दलीय व्यवस्था छ । एउटै पार्टीको परिवार छ । निर्णय हामीले नै गर्ने हो । उहाँहरु (अध्यक्षद्वय) ले के निर्णय गर्नुहुन्छ ? मभन्दा बढी जिम्मेवार हुनुहुन्छ ।
तल जसले संवाद र समन्वय गर्नुपर्ने हो, उहाँ ‘हायर एण्ड फायर’ को बाटोमा गएपछि संवाद हुनसक्ने स्थिति भएन । अहिलेको चरणसम्म यसलाई मैले अविभावकको रुपमा लिएको छु । तपाईंले भन्नुभएको अवस्थामा पुगेको मैले बुझेको छैन ।
अविश्वास प्रस्ताव दर्ता गर्नेमध्ये १८ जनामध्ये वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना सदस्यहरुले थप तीन मन्त्री र सचेतक पाउने गरी अविश्वास फिर्ता लिने सहमति गरेका छन् । केन्द्रीय सचिवालयको विवादकै विस्तारित स्वरुप कर्णालीमा देखा पर्यो । केन्द्रमा आफैँ पदको झगडा गरिरहेका नेताले तपाईंहरुलाई चाहिँ के भन्नु भयो ?
मैले भनेँ नि ! यो अचानक आएको होइन । प्रक्रियामा हामी पहिलोपटक सामेल भएका हौँ । हाम्रो छलफलमा प्रदेशसभामा रहेका हस्ताक्षरकर्ता सबै माननीय सदस्य सामेल हुनुहुन्थ्यो ।
विषयका हिसाबले मैले चार जना नेताहरू– दुई अध्यक्ष, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भनेँ । उहाँहरुले असहमति जनाएको जस्तो देखिनँ ।
हाम्रो पार्टीमा आफूलाई लागेको कुरा स्पष्टसँग भन्नेको संख्या क्रमशः घट्दै छ । कार्यकर्ता ठानेर आफ्ना कुरा राख्नेको संख्या घट्दै छ, भक्तजनहरुको संख्या क्रमशः बढेजस्तो लाग्छ । नेतृत्व पनि भक्तजन बनाउने अभियानमा लागेजस्तो लाग्छ । म एउटा कम्युनिष्ट पार्टीमा लागेको हुँ । म उहाँहरुलाई यथोचित श्रद्धा र सम्मान गर्न चाहन्छु । म कार्यकर्ता हुँ, जनप्रतिनिधि पनि हुँ।
मन्त्रीको आश्वासनकै भरमा सांसद्हरुले यसरी कुरो फेर्लान् भन्ने तपाईंलाई लागेको थिएन ?
मैले त्यस्तो कुराकानी गर्दा तपाईंहरुलाई अचम्म लाग्न सक्छ– त्यो कागज बुझाउनुभन्दा अगाडि अठारै जना माननीय सदस्यहरुलाई दलको बैठकमा बोलाएँ । त्यति बेलासम्म क–कसले सही गरे भन्ने सबैलाई थाहा थिएन ।
मैले भनेँ, ‘सही गर्ने यति भइयो । अब यो बुझाउने हो । बुझाएपछि सार्वजनिक हुन्छ । जो–जोसँग बढी जोडिएका छौँ, तिनको बढी ध्यान जान्छ । तपाईंहरु प्रभावित हुने हो भने अझै केही बितेको छैन, पछि हटौँ ।’
त्यो बुझाउनुभन्दा अघि दलमा एक घण्टा बैठक गर्दा मैले भनेको थिएँ, ‘बुझाइएको छैन । मलाई र तपाईंलाई मात्र थाहा छ । अझै पनि यी–यी कुराहरु आउनसक्छन्, ब्याक हुने हो भने हुनुस् है, समय छ ।’ उहाँहरुले भन्नुभो– होइन । हामीले लगेर बुझायौँ ।बुझाएपछि सबै पत्रकार साथीहरुलाई बोलाइएको थियो । मैले भनेँ, ‘पत्रकार साथीहरु, तपाईंले मलाई चिन्नुभएको छ । पटक–पटक ‘मुख्यमन्त्री को ?’ भनेर समाचार लेख्नुभएको छ ।
यसचोटी त दर्ता गर्यो भनेर पनि समाचार छाप्नुहोला । अन्तको अभ्यास नकारात्मक छ । अन्त लुकाउने, फकाउने, हप्काउने कुरा छ । त्यस कारण तपाईंहरुका अगाडि हामी १८ जना साक्षात्कार हुनका निम्ति यहाँ उपस्थित भएका हौँ । लुकाएर होइन है, सही गर्नेहरु एकै ठाउँमा भेला भएर हाम्रो अगाडि त उभिएका थिएँ भनेर साक्षी बक्नुपर्छ । साक्षी राख्नका लागि साक्षात्कार गर्न उपस्थित भएका छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डजीसँग पनि बैठक गरिसक्नुभो । त्यहाँको समस्याबारे आफ्नो धारणा प्रष्टसँग राख्नुभयो होला नि !
मैले सम्माननीय प्रधानमन्त्रीजीको अगाडि पनि भनेँ । विनम्रतापूर्वक भन्न चाहन्छु– अविश्वासको प्रस्ताव पेश गरिसकेपछि नेपाली राजनीतिमा रहेको ‘देउवा शैली’लाई समेत उछिनेर पद–प्रतिष्ठाको वितरण गर्ने काम मुख्यमन्त्रीले कसको सल्लाहमा किन गर्नुभएको हो ? मैले त त्यो बाटो रोजेको छैन ।
म विनम्रतापूर्वक अनुरोध र आग्रह गर्न चाहन्छु– विषय यस्तो बलवान हुन्छ, विषयलाई समाउन सकिएन भने भक्तजनको संख्या बढ्छ । त्यस कारण मैले पनि तपाईंले भनेजस्तै समाचार बाहिर आएको पढिरहेको छु । औपचारिक रुपमा कसैले पनि फिर्ता लिएको छैन ।
अविश्वास पेश गर्ने र मन्त्री पाउने भएपछि फिर्ता लिने कार्यले नेकपाका सांसद्लाई जनताबीच अनुहार देखाउन गाह्रो हुँदैन ?
पार्टीको सांसद्लाई उसको मान–सम्मान, प्रतिष्ठामाथि नेतृत्वले ‘डिमोरलाइज’ गर्ने हो भने उहाँले आगामी दिनमा कसरी नेतृत्व गर्न सक्नुहुन्छ ? कसरी मुख देखाउने ? जनतालाई पार्टीप्रति कसरी आकर्षित गर्न सक्नुहुन्छ ? त्यो काम किन नेताहरुले सचेतनतापूर्वक गरिराख्नुभएको छ ? के त्यस्तै पार्टी बनाउन खोजेको हो ? के पद–प्रतिष्ठा बाँड्ने हो भने बाँकी किन मान्छे किन यसमा लाग्ने ?
मै मुख्यमन्त्री बन्ने एउटा मात्र उद्देश्य थियो भने मैले भेलामा पनि भनेको थिएँ– विषयमा हामी साझा छौँ । केपी ओलीतिर लाग्ने त्यता लाग्ने, माधव नेपालका नेपालतिरै लाग्ने, प्रचण्डनिकट उतै लाग्ने हो । महाधिवेशन आउँदा त्यसमा पनि छलफल गरौँला ।
फेरि पनि भन्छु– मसँग १८ जनालाई दिने के चिज छ र ? मानिलिऊँ– अविश्वास अघि बढ्दै जाँदा भोलि जिम्मेवारी मेरो काँधमा पनि आयो भने दिनसक्ने ठाउँ छ र ? त्यस कारण म इमान्दारीपूर्वक भन्छु– मैले आजसम्म साथीहरुको बीचमा विषयलाई मात्र छलफल गराइरहेको छु । पात्रका बारेमा केही छलफल गरेका छैनौँ । मान्छेले अनुमान त लगाइरहेका छन्– भयो भने को होला ?
प्रदेशसभाको सबैभन्दा 'सिनियर' नेता, हिजो एमाले संसदीय दलको नेता भइसकेको मान्छे भएकाले स्वाभाविक रुपमा तपाईं मुख्यमन्त्री होइन र ?
त्यो तपसिलको कुरा हो । हिजो अध्यक्ष प्रचण्डजीले पनि छलफल गर्दा भन्नुभो– ‘विषयमा त सहमत रहेछन्, नेतामा त तपाईंलाई मान्दा रहेनछन् नि त ?’
‘हो, मान्दैनन् होला । पात्र त तपाईं पनि सर्वस्वीकार्य हुनुहुन्न । म पनि छैन त ! विषयमा हामी सामेल भएका छौँ’, मैले पनि भनेँ ।
अविश्वास प्रस्तावपछि तपाईं लगायतले उठाउनुपर्ने विषय यो होला– नेकपाको दुईतिहाई बहुमत छ, अढाई वर्ष बितिसक्यो । खोई आर्थिक सुशासन ? खोई जनताको जीवनस्तरमा सुधार ? खोई विकास ? नेकपाको सभासद्, पार्टीको सहइञ्चार्ज भएर पनि के हेरेर बसिरहेको ? यसो भनेर प्रश्न सोध्नुहोला भन्ने ठाउँमा तपाईंहरुले उठाउनुपर्ने कुरा मैले उठाउँदा ‘मुख्यमन्त्रीका निम्ति ?’ भन्ने अवस्था छ । जबसम्म यो अवस्था बदलिन्न, तबसम्म हुँदैन ।
अगाडि बढ्दा कोही न कोहीले जिम्मेवारी त लिनुपर्छ नि ! पदलाई केन्द्र भागमा लिएर अगाडि बढेको भए ती माननीय सदस्य मेरो पछाडि लाग्नुपर्ने कारण के छ र ? म त सामान्य मान्छे हुँ ।
राम्रो हुँदा हुँदै पनि किन सोधिनस् भनेर पार्टी नेतृत्वले चित्त दुखाउनु, नसोधी किन गरेको भन्नुलाई म अन्यथा ठान्दिनँ ।
तपाईंले वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा यो विषयमा भन्नुभयो होला । उहाँले के भन्नुभयो ?
मैले चार जना नेताहरुलाई भेट्दा नेताअनुकूलको कुरा गरेको छैन । माधव कमरेडलाई एउटा, वामदेवलाई एउटा, प्रचण्डलाई अर्को, प्रधानमन्त्रीलाई अर्को भनेको छैन ।
मैले किन माधव कमरेडलाई भेट्न किन जरुरी ठानेँ भन्दा यो अभियानमा माधव कमरेडसँग जोडिएका माननीय सदस्यहरु र सबै नेता–कार्यकर्ता सामेल हुनुभयो । मैले नेतालाई नभेटी यो कुरा भन्यो भने असमझदारी उत्पन्न हुनसक्छ ।
मैले माधव कमरेडलाई भेटेर भनेँ, ‘कमरेड, यो म के देख्दैछु ? तपाईं (पक्ष) का माननीय सदस्यहरु मात्र होइन, त्यो क्षेत्रका सबै नेता प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुनुहुन्छ । माननीय चन्द्रबहादुर शाहीलाई लिएर मेरो घरमा जाने त पार्टी केन्द्रीय सदस्य निरज आचार्य हो त ।’
उहाँले भन्नुभो, ‘ए, हो र ?’
‘हो त !’, मैले भने, ‘निरज आचार्य मात्र होइन, मैले तपाईंलाई नाम दिनुपर्छ भने भनिदिन्छु– सबै नेताहरु सामेल छन् । पूर्व एमाले मात्र होइन, अहिलेको सत्ताबाट पालितपोषितबाहेक पूर्वमाओवादीको पनि मनोविज्ञानको प्रतिविम्व हो यो । हामी जनप्रतिनिधि हौँ । त्यसबाट हामी मुक्त हुन सक्दैनौँ ।’
निरजजीसँग त म खुला प्रतिवाद गर्न पनि तयार छु । हामी तीन जनाको सल्लाह भयो– अब दुई दिनभित्र गर्ने भनेर । उहाँसँग सम्बन्धित माननीय चन्द्रबहादुर शाहीले बोलाउनुपर्ने माननीय एउटा कालिकोट हुनुहुन्थ्यो, एउटा रुकुम । उहाँले भन्नुभयो– ‘किन ढिला गरेको ?’ त्योभन्दा अरु पनि कुरा भएका छन् ।
म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु– माधव कमरेडसँग सम्बन्धित पार्टीका, जनसंगठनका, पेशागत संगठनका केन्द्रीय तहदेखि तलसम्मका नेताहरु यो अभियानमा सामेल हुनुहुन्छ । तर, यहाँ केपी ओलीले गराएको भनेर भनिन्छ । माधव कमरेडलाई थाहा थियो त म भन्दिनँ तर समूहगत रुपमा कसैलाई थाहा थियो भने निरज आचार्यलाई त थाहा थियो ।
सुरु गरेको पनि थाहा थियो । मलाई उहाँले टेलिफोन गर्नुभएको थियो । मैले किन ढाँट्ने ? सुरु भएको छ भनेँ । उहाँलाई कहिले बुझाउँछन् भन्ने पनि थाहा थियो । उहाँले सोध्नुभो, मैले सीधै भनेँ ।
त्यति मात्र होइन, एउटै पार्टीमा छौँ । निरजजी पनि कार्यकर्तै हो । आजका युवक हुन् । यत्ति जोखिम उठाउन सक्दैनन् भने मुलुक हाँक्ने, परिवर्तन गर्छु भन्दा कसले पत्याउन सक्छ ? उनको त्यसैमा भलो छ भने मेरो भन्नु केही पनि छैन ।
०५२ सालपछि भन्ने गरेजस्तो ‘विहारीशैलीको राजनीति’ को अभ्यास संघीयतामा कर्णाली प्रदेशबाट प्रारम्भ भयो ?
म अहिले पनि त्यो भन्दिनँ । मैले नेताहरुलाई भनेँ । बीचैमा सम्हालिन सजिलो हुन्छ भन्ने हिसाबमा उहाँहरुलाई भनेँ । फेरि पनि आरोप मकहाँ आइरहेको छ ।
त्यसैले नेकपाभित्रको पक्षधरताको जुन गठजोड छ, त्यसले न उहाँहरुलाई फाइदा हुन्छ, न नेकपालाई नै फाइदा हुन्छ । न त जनताले दिएको जिम्मेवारी नेकपाले पूरा गर्नसक्छ ।
मैले नेकपाभित्र निष्ठा र विधिको कुरा गर्ने नेताका रुपमा चिनेको हो, माधव कमरेडलाई । म ०३९ सालदेखि चिन्दछु, मलाई पनि चिन्नुहुन्छ । यद्यपि, कतिपय घटनामा उहाँलाई चित्त नबुझ्ने यस्तै विषय उठाउँदा गरेँ हुँला । चाहे त्यो संविधानसभाभित्र गरेँ हुँला, चाहे त्यो प्रतिनिधिसभाभित्र गरेँ हुँला । त्यो मेरो कर्तव्य र दायित्व थियो । मैले कुनै सार्वजनिक चौतारीमा गरेको छैन ।
विधि र निष्ठाको कुरा गर्नुहुने तर अविश्वासको प्रस्ताव औपचारिकता पूरा गर्नसमेत छलफल नहुँदै ‘दाहाल समूह र नेपाल समूह यति–यति भागवण्डा भयो’ भनेर प्रतिष्ठित माध्यममा समाचार आइरहँदासमेत आजसम्म केही बोल्नुभएको छैन । नबोलेका कारण त्यो साँचो होला भनेर म पत्याउँदै गएको छु । औपचारिक रुपमा अविश्वास फिर्ता लिएको छैन ।
त्यसले सम्बन्धित पात्रको जीवन बर्बाद गर्यो । हिजो मात्रै पनि प्रधानमन्त्रीका अगाडि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने र फिर्ता लिएको बताइएमध्ये एक चन्द्रबहादुर शाहीले भन्नुभयो, ‘अहिलेको समस्या जसरी समाधान गरिएको छ, त्यो समाधान होइन । समस्या त ज्यूँकात्यूँ छ अध्यक्षज्यू ! बहुमत एकातिर छ, अल्पमतले शासन गर्ने यो व्यवस्था होइन । यसको तपाईंले व्यवस्थापन गर्नुभएन भने त दिगो समाधान हुँदैन ।’
हिजो सबैका अगाडि माननीय चन्द्रबहादुरले राख्नुभो । यसबाट म के बुझ्छु भने अन्तर्मनदेखि साथीहरुले नाम फिर्ता लिइरहनुभएको छैन ।
अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता नगरी किन संसदीय दलमा दर्ता गर्नुभएको ? मुख्यमन्त्री फेर्ने सीधा बाटो त प्रदेशसभा हुन्थ्यो, होइन ?
हामी दलीय व्यवस्थामा छौँ । दललाई नाङ्गेझार पार्दा त आफैँ नाङ्गेझार भइन्छ । परिवारभित्रको समस्या बनाएर छलफल गर्न खोजेका हौँ । संसदीय दल भनेको पार्टीभित्रको विषय हो ।
आन्तरिक छलफल नगरी वाह्य तहमा छलफल गर्नु अनुपयुक्त हुन्थ्यो । यो दलप्रतिको अविश्वास होइन । एउटा व्यक्तिले जिम्मेवारी ठीक ढंगले पूरा नगरेको अवस्थाले ल्याएको समस्या हो ।
तपाईंहरुलाई यहाँ डाक्नुको उद्देश्य अविश्वास प्रस्ताव फिर्ता लिनका लागि दबाब दिन हो भन्ने देखिन्छ । दबाब कत्तिको महसुस गर्नुभएको छ ?
अहिलेसम्मको छलफलमा मैले त्यो अनुभूति गरेको छैन । एक खाले साथीहरु अहिले पनि गएको मितिमा हस्ताक्षर फिर्ता गराउने अभियानमा लागेको लागेकै हुनुहुन्छ । तर, मलाई भन्न सक्नुभएको छैन । कसैले पनि भन्नुभएको छैन । सोध्नुपर्थ्यो, सल्लाह गर्नुपर्थ्यो आदि–इत्यादिजस्ता कुरा आएको छ ।
हाम्रो समाजमा अविभावकलाई नसोधी तलकाले जायजै गरेको भए पनि एकछिन अन्यथा सोच्ने संस्कार छ । त्यहाँको अवस्था र विषयवस्तु मैले जुन प्रस्तुत गरेँ, त्यसमा उहाँहरुको कुनै जवाफ छैन ।
मैले सम्माननीय प्रधानमन्त्रीका अगाडि विषयवस्तु राखिसकेपछि मुख्यमन्त्री बोल्नुभएको थियो । जसलाई मैले भनिरहेको छु, उसैले त केही विषयमा बेलेन त्यहाँ । उहाँ आफैँले न राख्न सक्नु भएन भने अरुले पनि भन्नसक्ने अवस्था रहेन ।
पार्टीको आन्तरिक मामिला भएकाले सबै कुरा म सार्वजनिक गर्न चाहन्न । सार्वजनिक बहस चलाउन रुचि राख्ने मान्छे पनि म होइन । म तपाईंलाई सांकेतिक रुपमा भन्छु– प्रदेश सरकार संविधान र कानून अनुसार चल्छ कि द्वन्द्वकालको माओवादी जनसरकार जस्तो चल्छ ? त्यहाँको अभ्यास ‘जनसरकार’ चलाएजस्तो छ । म यो पुष्टि गर्नतिर लाग्दिनँ । आर्थिक विचलनका घटना एक होइन, दर्जनौँ छन् ।
अविश्वासका पक्षमा लाग्ने साविक माओवादीका तीन जना प्रदेशसभा सदस्यमाथि त ‘गद्दार’ घोषणा गरेर ‘जन–कारवाही’ गर्ने प्रचार गरिएको छ । यसबारे शीर्षनेताहरुले के भन्नुभयो ?
तपाईंले भन्नुभएजस्तै मैले दुवै अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डजीलाई पनि प्रश्न गरेको छु– के नेकपामा फरक मत राखेबापत यस्तो व्यहोर्नुपर्ने हो ? त्यस्तो हो भने किन बोल्ने ? उहाँहरु गम्भीर हुनुभो । प्रधानमन्त्रीले त यसका बारेमा केही धारणा पनि राख्नुभो ।
यस कारणले म सबै नेताहरुलाई अनुरोध गर्न चाहन्छु– भक्तजनहरुको पार्टी बनाउनतिर लागेका छौँ, त्यस्तो नबनाऊँ । कार्यकर्ताहरुको पार्टी बनाऊँ । कार्यकताहरुको पार्टी बनाउँदा उनीहरुको विवेक हुन्छ । विषयवस्तुका आधारमा बोल्छन् ।
विवेकका आधारबाट बोलेको कुरालाई जसरी हतोत्साहित गर्ने कुरा गर्नुभएको छ, अन्तत्वगत्वा सबैभन्दा बढी नोक्सान जो अहिले बढी जिम्मेवारीमा हुनुहुन्छ, उहाँहरुलाई हुन्छ ।
निष्कर्षमा, यसको समाधान कसरी निकाल्न सकिन्छ ? तपाईंको विचारमा कसरी हल हुन्छ ?
अहिले म संवादमा छु । मैले सबै कुरा राखेँ । पार्टीले गर्ने निर्णय दुनियाँले हेरिराखेको छ । किनभने, यो सार्वजनिक भो । सानो ठाउँको समस्या आज केन्द्र भागमा आयो ।
मैले सबैका अगाडि प्रधानमन्त्रीज्यूलाई भनेँ, ‘कर्णालीको विकास–निर्माण र समृद्धिका निम्ति एकताबद्ध भएर तपाईंका अगाडि आइपुग्नुपर्ने बेलामा दुःखका साथ भन्छु– आज विभाजित अवस्थामा छौँ । कर्णालीले आफैँलाई पछि पार्दैछौँ । नेकपाले यो सन्दर्भमा के निर्णय गर्छ त ? जनमतको कदर गर्छ कि गर्दैन ? नेताहरुले पक्कै पनि हेक्का राखेको हुनुपर्छ । लोकतन्त्रलाई बलियो बनाउने गरी निर्णय गर्छ कि गर्दैन ? यो मुद्दामा संघीयतालाई बलियो बनाउने गरी निर्णय गर्छ कि गर्दैन ? लोकले हेरिरहेको होला । म कार्यकर्ता भएको नाताले पार्टीले जे निर्णय गरे पनि मानिदिन सक्छु तर नेकपाले यो निर्णय गर्दा लोकतन्त्र, जनभावना अनुसार निर्णय गर्छ कि गर्दैन ?
आफ्नो मान्छे बचाउने कुराका आधारमा निर्णय गर्दा एकछिन त उहाँहरुलाई सजिलो होला, मलाई व्यक्तिगत रुपमा केही हुँदैन । नेकपाप्रति प्रश्न उठ्छ ।
प्रदेशसभा औँठाछाप लगाउने मात्र संस्था हो ? मेरो विचारमा होइन । त्यसैले नेकपाले यस पटक गर्ने निर्णय कर्णालीका लागि मात्र सम्बन्धित छैन । म र हामी हस्ताक्षरकर्तासँग मात्र सम्बन्धित छैन । यसले लिने निर्णयले पार्टीभित्र लोकतन्त्रको अभ्यास के हुने ? अब पनि पक्षधरताका आधारमा निर्णय गर्ने हो भने तपाईंले भनेजस्तै यो पार्टी होइन, मोर्चामा परिणत हुने छ । त्यसपछि भन्नुपर्ने हुन्छ, जो उहाँहरुले गरिराख्नुभएको छ– हामी गुटबन्दी कायमै राख्छौँ । गुटबन्दी तलकाले नगरी माथिकाले गरेको यस अर्थमा पुष्टि भयो । अब अर्कोचोटी मैले भेटेँ भने मैले यो सुझाव उहाँहरुलाई दिन्छु ।
यो मुद्दामा नेकपाले गर्ने जुन निर्णय छ, लोकतन्त्रसँग जोडिएको छ । संघात्मक ढाँचासँग जोडिएको छ । तल दिइएको अधिकारसँग जोडिएको छ । मेरो विचारमा मन परे पनि, नपरे पनि यी विषयमा प्रश्न उठ्ने गरी निर्णय गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । संवाद बाँकी नै रहेकाले यसै हुन्छ भन्नु मेरा लागि पनि हतार हुनेछ ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया